कोरोना जितेकालाई सचेतना दूत बन्न आग्रह, वडाध्यक्ष र बालिकासहित नाैजना कोरोना मुक्त

 

बुटवलको आइसोलेसन सेन्टरमा रहेका ९ जना कोरोनामुक्त भएका छन्। बुटवल–१० स्थित एन्फा टेक्निकल सेन्टरमा निर्माण गरिएके आइसोलेसन सेन्टरमा रहेका उनीहरूमा केरोना निको भएपछि आइतबार बिदाइ गरिएको छ।

परीक्षण रिपेर्ट नेगेटिभ आएपछि डिस्चार्ज हुने ९ जनालाई बुटवलका प्रमुख शिवराज सुवेदीले पुष्पगुच्छा प्रदान गर्दै बिदाइ गरेका छन्। विभिन्न चरणमा गरिएको परीक्षणमा नतिजा नेगेटिभ आएपछि विश्व स्वास्थ्य संगठनको मापदण्ड बमोजिम उनीहरूलाई डिस्चार्ज गरिएको हो।

त्यसअवसरमा प्रमुख प्रशासकीय अधिकृत चक्रपाणि शर्माले आइसोलेसनबाट संक्रमणमुक्त भएर घरमा गए पनि त्यहाँ गएर अपनाउनुपर्ने स्वनियमका बारेमा जानकारी गराउँदै नियमित ज्वरो नाप्ने थर्मोमिटर, मास्क, पञ्जालगायतका सामग्री प्रदान गरेका थिए।

आइसोलेसन सेन्टरमा रहेकालाई नियमित स्वास्थ्य चेकजाँच गर्नुका साथै नियमित रूपमा योगा गुरुमार्फत योगा अभ्यास, ध्यान, नृत्य गराउनुका साथै सात्विक भोजन सेवन गराइएको आइसोलेसन सेन्टरको रेखदेखमा खटिएका बुटवलका जनस्वास्थ्य अधिकृत मोहन मिश्रले जानकारी दिए।

आइतबार डिस्चार्ज हुनेमा कपिलवस्तुका आठ र एकजना रूपन्देहीका छन्। उनीहरूके केरेना संक्रमण पोजेटिभ देखिएपछि जेठ ११ गते बुटवल-१० स्थित आइसोलेसन सेन्टरमा भर्ना भएका थिए। भर्ना भएकामध्ये सात जना भारतबाट फर्किएर आएका हुन्।

उनीहरुमध्ये दुईजनालाई सामान्य ज्वरो देखिए पनि अरु कसैमा पनि कुनै लक्षण नदेखिएको आइसोलेसनमा खटिएका बुटवलका स्वास्थ्यकर्मीले बताएका छन्। दुईजना भने घरमै रहेका बेला संक्रमित भएको भन्दै बुटवलमा आएका थिए। कपिवलस्तुका एकजना वडाध्यक्ष र आठ वर्षीया बालिका पनि कोरोनाबाट मुक्त भएकी छन्।

उनीहरू डिस्चार्ज भएपछि अब आइसोलेसनमा ३२ जना छन्। उनीहरूमध्ये केहीको दोस्रो चरणको परीक्षणमा संक्रमण देखिएपछि फेरि अवधि पूरा भएपछि स्वाब संकलन गरेर परीक्षण गरिने छ। सम्भवत आइतबार बेलुका नै वा सोमबार स्वाब संकलन गरेर पठाउने गरी तयारी भइरहेको बुटवलका स्वास्थ्य शाखाका प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए।

समुदायमा सचेतना दूत बन्न आग्रह

डिस्चार्ज हुनेलाई बिदाइ गर्दै प्रमुख सुवेदीले उच्च मनोबल कायम राख्ने र समुदायमा सचेतना दूतका रुपका काम गर्न आग्रह गरेका छन्। ‘तपाईहरूको उच्च मनोबलले समुदायमा रहेका अरुलाई पनि प्रेरणा मिल्ने छ, अब समुदायमा फर्केर स्वनियममा बस्न र सजग राख्न सचेतना दूतका रूपका काम गर्नुहोला,’ प्रमुख सुवेदीले भने।

प्रमुख सुवेदीले आइसोलेसन सेन्टरमा सिकेको योगा, ध्यान र आहारबिहारलाई नियमित राख्दै परिवार, टोल र सिंगो समुदायमा सचेतना दूतका रूपमा प्रस्तुत हुन आग्रह गरे।

सात्विक भोजन र मनोबलले कोरोना जितियो

सात्विक भोजन, सन्तुलित आहारबिहार र उच्च मनोबल पाएपछि कोरोना भाइरसलाई परास्त गरेको बताउँदै कपिलवस्तुको बाणगंगा–५ का वडाध्यक्ष भीष्मराज भुसालले समुदायलाई त्रासमुक्त बनाउने कामलाई निरन्तरता दिइने बताए।

उनलाई संक्रमण पुष्टि भएपछि वडा, नगरमा रहेका एम्बुलेन्सले बुटवल ल्याउन नमानेपछि आफैं स्कुटी चलाएर बुटवल आएका थिए। ‘बुटवलमा आउनुअघि केही डर र सामान्य तनाव थियो, तर यहाँ आएपछि यहाँको वातावरणले सबै तनावमुक्त बनायो’ वडाध्यक्ष भुसालले भने, ‘मनोबल उच्च राख्ने र सन्तुलित आहारबिहार गर्ने हो भने कोरोना जितिँदोरहेछ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय