प्रदेश सभा बैठकमा आरडिटी परीक्षण बन्द गर्न माग

सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरूले आरडिटी प्रबिधीबाट कोरोना परीक्षण बन्द गर्न माग गरेका छन्।

प्रदेश सभाको आइतबार बसको बैठकमा सहभागि प्रदेश सभा सदस्यहरूले आरडिटीको परीक्षण विश्वस्नीय नभएको भन्दै सो प्रविधीलाई बन्द गर्न माग गरेका हुन्। आरडिटी परीक्षण बन्द गर्न माग गर्नेमा नेकपाका प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरत बहादुर खड्कालगायत रहेका छन्।

प्रदेश सभा सदस्य दीर्घ सोडारीले आरडिटीको भरमा घर पठाइएकाहरूबाट समाजमा भयावह रुपमा संक्रमण फैलिन सक्ने अवस्था रहेकोले आरटि पिसिआर परीक्षण गर्नपर्ने र यसका लागि प्रयोगशालाहरूको क्षमता बढाइनुपर्ने माग गरे।

उनले कैलालीमा पहिलो पटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पुरा हुन लागेको र यस बीचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा प्रदेश सरकारको आलोचना गरे। उनले बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म त्यसमा कुनै काम नगरेकोमा आक्रोस पोखे।

नेपाली कांग्रेसका प्रदेश सभा सदस्य भरत बहादुर खड्काले युरोपियन देशहरूले आरडिटी किटको विश्वस्नियता माथि प्रश्न उठाई प्रयोग गर्न बन्द गरेको भए पनि नेपालमा त्यसकै प्रयोग भइरहुन दुखद् भएको बताए। उनले यस्तो परीक्षणले संक्रमणको दर भयावह हुनसक्ने भन्दै बन्द गर्न माग गरे।

नेकपाकै प्रदेश सांसद पूर्णा जोशीले आरडिटी परीक्षणको औचित्य नभएकोले बन्द गर्न माग गरिन्। उनले डोटीको क्वारेन्टाइनमा मृत्यु भएका युवाको स्वाब संकलन मुत्यु पहिले नै नगरिएकोमा आक्रोस पोखिन्। क्वारेन्टाइनहरू ब्यवस्थित नभएको र मत्युघरमा परिणत भइरहेको भन्दै उनले प्रयोगशालाहरू बढाउने र भएका प्रयोगशालाहरूको क्षमता बढाउने तर्फ प्रदेश सरकार लाग्नुपर्ने बताइन्।

प्रदेश सभामा अहिले सुदरपश्चिम प्रज्ञा प्रतिष्ठान सम्बन्धी विधेयक माथि छलफल भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय