कोरोना संक्रमित पत्रकारको डायरी : ‘रुघाखोकीले सताउँथ्यो बरु, कोरोना लाग्दा त्यो अनुभव पनि भएन’

मलाई प्रायः मौसम परिवर्तन हुँदा रुघाखोकी लाग्ने गर्दथ्यो। रुघाखोकीले मलाई एक साताभन्दा बढी समयसम्म दुःख दिन्थ्यो। नाकबाट पानी आउने, टाउको दुख्ने, शरीर दुख्ने, श्वास फेर्न गाह्रो हुनेलगायतका समस्या हुन्थ्यो। कोरोना भाइरसको संक्रमण भएपछि मलाई यही कुराले चिन्तित बनाउँथ्यो। मनमा शंका उत्पन्न हुन्थ्यो। यही समस्यामा कोरोना थपिएपछि मेरो अवस्था जटिल हुने त होइन ?

मेरो सोचाइ ठिक विपरीत भयो। रुघाखोकी लाग्दा सास्ती खेप्नुपथ्र्यो भने कोरोना लाग्दा पीडा सहनुपरेन। कसैले मलाई कोरोना लाग्दा कस्तो हुँदो रैछ भनेर प्रश्न ग-यो भने मसँग त्यसको उत्तर छैन। हामी बुटबलस्थित एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा बसेका छौं। यहाँ हामी ४१ कोरोना संक्रमित छौं। एकजना उच्च रक्तचाप भएका ५३ वर्षका महिला र ८ वर्षीया बालिकासमेत छन्। हामी सबको स्वास्थ्य अवस्था सामान्य नै छ। सबैलाई कोरोना कस्तो हुन्छ भनी सोध्दा थाहा नभएको बताउँछन्।

तातोपानी खाउँ कोरोना भगाउँ

अहिले हामी सबैले तातोपानी खाने गरेका छौं। बेसार, गुर्जो, कागती, अदुवा, ज्वानो पानीमा चिया बनाएर खाने गरेका छौं। सादा खाना खान्छौं। फलफूल, काक्रा नियमित रूपमा खाने खाइरहेका छौं। सन्तुलित आहार, तातोपानी र गुर्जोको चियाले हामीलाई तन्दुरुस्त राख्न सहयोग पुगेको छ। हामीले नकारात्मक कुरा सोच्न छाडेका छौं। बरु खाली समय गीत सुन्ने, परिवारसँग कुराकानी गर्ने, खेल खेलेर बिताइरहेका छौं। नकारात्मक कुरा सोच्ने फुर्सद नहुँदा हामीलाई कोरोनाको भयबाट मुक्त भएका छौं।

हामी रोगी होइनौं योगी हौं

सबैले हामीलाई कोरोनाका रोगी हुन् भन्छन्। तर हामीलाई रोग भएजस्तो अनुभव भएको छैन। यहाँ घरमा जसरी नै बसिरहेका छौं। अस्पतालको जस्तो बसाइ पनि छैन।

कसैलाई पनि रोगी भएको अनुभव भएको छैन। हामी नियमित व्यायाम गर्छौं, खेल खेल्छौं। दैनिक योग गर्ने गरेका छौं। त्यसैले हामी रोगी नभई योगी हौं भन्ने लाग्छ।

यहाँ रहेका संक्रमितलाई हेर्दा लाग्छ कि कोरोना हाम्रो समस्या होइन। कोरोना समस्या हुन्थ्यो भने हामीलाई शारीरिक पीडा भएको महसुस हुन्थ्यो। कोरोनाले भन्दा पनि मानसिक पीडाले हामीलाई केही दिन सतायो। यहाँ रहेकासँग कुराकानी गर्दा सुरु सुरुमा त मरिन्छ कि भन्ने डर थियो भन्छन्। तर अहिले त्यो डर कति पनि छैन। सबैजना त्यो डरबाट मुक्त भएका छन्।

अनुभव साट्दा उर्जा मिल्यो

वाणगंगा नगरपालिकामा वडाध्यक्षको नजिकको छेउको कोठा मैले पाएँ। उहाँ ४ दिनअगाडि यहाँ आउनुभएको थियो। सहकर्मी महिला पत्रकार पनि यहीं थिइन्। उहाँहरूको अनुभव बताउँदा डर हटाउन उर्जा मिल्यो। मैले आफ्नो आत्मबल बढाउन गीत सुन्ने, बाहिर हेर्ने, वडाध्यक्ष दाइसँग अनुभव सेयर गर्न सुरु गरेँ। फोन कल आउँदा फेरि मर्ने हो कि बाचिने भय सुरु हुन्थ्यो।

दोस्रो दिनबाट मभित्र रहेको कोरोनाको भय कसरी हटाउने भन्ने थियो। त्यसैले मैले बिहान ६ बजे उठेर कसरत र योग गर्न सुरु गरे। ध्यानमा जोड दिन सुरु गरें। बढी समय गफगाफमा बिताउन सुरु गरें। समाचार लेख्ने, गीत सुन्नेतिर लागें।

तापमान घट्दा त्रास, पानी खादा सन्तुलन

हामीलाई तापक्रम जाँचका लागि एउटा–एउटा थर्मोमिटर दिइएको छ। तापक्रम जाँच गर्दा मेरो तापक्रम ९५.४ को आसपासमा देखियो। झनै डर लाग्न सुरु भयो। मेरो शरीरको तापमान कम छ। त्यसैको आसपासमा तापमान देखाउँदा कतै मरिन्छ कि भन्ने आशंका आउन सुरु भयो। मन थरथर कापेको महसुस भयो। टाउको भारी भयो।

कसरी तापमान बढाउने मनमा कौतूहलता सुरु भयो। त्यो दिन मैले ५ लिटर जति पानी खाएँ। साँझको तापमान ९७.२ मा आयो। अनि मन एकैपटक हलुंगो भयो। त्यसपछि मैले बेसार, ज्वानो, गुर्जो, अदुवा र कागती पानीमा राखी धेरै मात्रामा खान सुरु गरें। अहिले मेरो शरीरको तापमान सन्तुलित छ।

दुई दिनपछि कोरोनाको डर हरायो

सुरुका दुई दिन मरिन्छ कि भन्ने डरले सताएको थियो। तेस्रो दिनदेखि यहाँको वातावरणमा घुलमिल भइयो। सबैजना स्वस्थ रहेका छन्। कसैलाई कुनै लक्षण देखिएको छैन। हामी सबै नाच्ने, खेल्ने, सामाजिक दुरी बनाएर गफ गर्ने, अनुभव साटासाट गर्ने गरेका थियौं। अनुभव आदानप्रदानले कोरोना रोग होइन रहेछ भन्ने मानसिकता बस्यो।

अब समाजमा भएको कोरोनाको भय कसरी हटाउन सकिन्छ भन्ने कल्पना आउन लाग्यो। फेसबुकमा भिडियो बनाउने, पोस्ट गर्ने, रेडियोमा अन्तर्वार्ता दिँदा कोरोना केही होइन रहेछ भन्ने सन्देश दिन सुरु गरियो।

फोनले मनोबल गिरायो

पहिलो दिन मेरो मनोबल घटाउने साधन भनेको फोन थियो। मलाई मन्त्रीलाई आउने भन्दा बढी फोन आएजस्तो लाग्छ। सबैले एउटै कुरा दोहो-याएर गर्ने गरेका थिए।

‘मनोबल उच्च बनाउँ, तातो पानी टन्न खानु’। त्यही शब्दले दिमागमा तरंग ल्याइरहेको थियो। जस्ले पनि एउटै कुरा गर्ने। फोनको तनाबबाट मुक्त हुन चाहन्थें। स्वीचअफ गरुँ घरकाले चिन्ता गर्ने डर, नगरुँ मानसिक दबाब। पछि विस्तार त्यो हराउँदै गयो।

(बुटवल संवाददाता कृष्ण मल्लसँगको कुराकानीमा आधारित)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय