सशस्त्र प्रहरी क्याम्पमा जवानले कुट्दा सई र हवल्दार घाइते

कोभिड-१९ नियन्त्रण तथा रोकथामका लागि सीमामा खटिएका सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक (सई) र हवल्दारमाथि निर्घात कुटपिट भएको छ।

कैलालीको एक सशस्त्र प्रहरी वेशका दुई जवानले प्रहरी नायब निरीक्षक (सई) र प्रहरी हवल्दारलाई निर्घात कुटपिट गरेका हुन्।

मदिरा सेवन गरी बसेका दुई जवानले खाना खान आएका सई रामबहादुर तेर र हवल्दार दौलतसिंह धामीलाई निर्घात पिटेका हुन्।

घटना जेठ २१ गते रातिको हो। कैलारी गाउँपालिका भुइयाँफाटास्थित नेपाल-भारत सीमाको फरवाड बेसका दुई जवानले खाना खान आएका सई र हवल्दारलाई कुटेको स्रोतले जनाएको छ।

कुटपिटका क्रममा हवल्दार धामीलाई टाउकोमा बञ्चरो प्रहार गरिएको छ। घाइते दुबै सेती प्रादेशिक अस्पतालमा उपचारपछि सशस्त्र प्रहरीको कैलालीस्थित ३४ नम्बर गणमा फर्केका छन्।

उक्त बेश ३४ नम्बर गण मातहत हो। घाइते तेरकै नेतृत्वमा त्यहाँ सशस्त्र प्रहरीको बेस छ।

हाकिमलाई कुटपिट गर्ने दुई जवानको नाम खुलेको छैन। ३४ नम्बर गणले आन्तरिक विवाद भन्दै घटनाबारे जानकारी दिन मानेको छैन।‘चेन अफ कमाण्ड’मा चल्ने फौजी संगठनमा जवानले कमाण्डरलाई नै कुटपिट गर्ने अवस्था आउनुलाई सामान्य भने मानिँदैन।

उच्च स्रोतका अनुसार कुटपिटपछि ती जवानले हाकिमलाई गोली प्रहार गर्न हतियार नै खोस्न खोजेका थिए। डिउटीमा रहेका अन्य जवानहरू जंगलतिर भागेपछि गाउँले आएर छुट्याएका थिए।

‘डिउटीमा रहेका सिपाहीको बन्दुक खोसेर गोली हान्ने प्रयास भएको थियो, तर सिपाहीहरू जंगलतिर भागेपछि थप घटना हुन पाएन,’ उच्च स्रोतले भन्यो।

घटना गाउँलेले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो। थप मद्दतका लागि आएका सशस्त्र प्रहरीले कुटपिट गर्ने दुई जवानलाई डोरीले बाँधेर लगेका थिए।

३४ नम्बर गणका प्रहरी उपरीक्षक कमल तिम्सिनाले आन्तरिक विवादका क्रममा ‘सामान्य घटना’ भएको बताए। कुटपिट गर्ने प्रहरीलाई गणमा ल्याएर आन्तरिक कारबाही थालिएको तिम्सिनाले बताए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय