कोभिड‐१९ का बेला मातृ तथा नवजात शिशुको गुणस्तरीय स्याहार कसरी गर्ने?

रेजिना गुरुङ र सिर्जना शर्मा
प्रकाशित
२०७७ जेठ २४ गते ९:५०

गाउँमा कोरोना कहर छ। बर्दिया–४ बरैयाटार निवासी २५ वर्षीया जुगमति थारुलाई भने यसपालि छोरा पाउने रहर छ। अस्पतालले तोकेको सुत्केरी मिति नजिक आइसक्दा घरमा चाहिने दाउराको जोहो गर्न उनी जंगल पसिन्। धेरै दाउरा बटुलिन् र खुसी मनले सकिनसकी भारी बोक्दै घर फर्किन्।

त्यसै साँझ खानपिन सकिँदा उनलाई योनीबाट रगत बगेको भान भयो। साँझको बेला स्वास्थ्य संस्था गइहाल्न परिस्थिति सहज थिएन्। समस्या थाती राखेर सुतिन्। रात छिप्पिदै जाँदा रगत धेरै बग्न थाल्यो। उनी आत्तिइन् । पति बाबुराम थारुका साथ लिएर नजिककै अस्पतालमा पुगिन्। जाँचपछि आपतकालीन प्रसूति सेवा त्यस संस्थामा नभएका कारण जुगमतिलाई भेरी अस्पतालमा रेफर गरियो।

२०७६ साल चैतमसान्तको मध्यरात। रगत अथाह बगेका कारण जुगमति बेहोसजस्तै थिइन्। श्रीमानले एउटा भाडाको गाडीमा उनलाई भेरी अस्पताल नेपालगन्ज पु¥याए। त्यहाँ स्वास्थ्य जाँचपछि उनलाई प्रसूति प्रतीक्षालय कक्षमा लगियो र रगत दिइयो। त्यसपछि भ्रूणको धड्कनमापन समय–समयमा गरियो। बिहान ८ बजे उनले छोरी (जाविका) लाई जन्म दिइन्।

तर जन्मेका बेला जाविका रुन सकिनन्। त्यसैले नर्सहरूले उनलाई पुछ्ने, ढाड सुम्सुम्याउने र मुखमा भएको  र्‌याल सफा गरेपछि पनि जाविका नरोएपछि तुरुन्त ब्याग एन्ड मास्कको प्रयोग गरी कृत्रिम श्वासप्रश्वास प्रदान गरे। त्यसपछि जाविका कमजोर तरिकाले रुन थालिन्। जाविका सुस्त थिइन्।

त्यसैले उनलाई नवजात शिशु सघन उपचारकक्षमा भर्ना गरियो लगियो र त्यहाँ प्रोटोकलअनुसार केही दिन उपचार भयो। त्यसपछि उनको स्वास्थ्यमा उल्लेख्य सुधार आयो। हाल जाविका राम्ररी दूध चुस्ने, आमालाई चिन्ने, हेरेर हस्का मुस्कुराउने गर्छिन।

जन्मदा शिशु निस्सासिनु नवजात शिशु मृत्युको एक प्रमुख कारण हो। यस्ता शिशुलाई जन्मेको एक मिनेटभित्र अतिरिक्त साधन अपनाई आवश्यक कृत्रिम श्वासप्रश्वास दिनुपर्छ। जन्मदा निस्सासिएका नवजात शिशुलाई यसरी १ मिनटभित्रै कृत्रिम श्वासप्रश्वास दिने जस्ता गुणस्तरीय स्याहार प्रदान गरेमा शिशुको मृत्युको जोखिम र भविष्यमा हुनसक्ने वृद्धि विकासका सुस्ताता तथा अपांगतालाई न्यूनीकरण गर्न सकिन्छ।

जन्मदा नवजात शिशुमा आउनसक्ने खतराको उचित स्याहारमा सुधार गरी स्वास्थ्य संस्थामा नवजात शिशुका लागि गुणस्तरीय सेवाप्रवाह गर्नका लागि पिडिएसए ( Plan, Do, Study, Action) बैठक अत्यन्त प्रभावकारी विधि सिद्ध भएको छ।

भेरी अस्पतालमा नवजात शिशुको गुणस्तरीय सेवा सुधारका लागि पिडिएसए बैठक नियमित बस्ने गरेको छ।

भेरी अस्पतालकी प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठका अनुसार नवजात शिशुमा जन्मदा आइपर्ने समस्याको समाधानका लागि गुणस्तरीय सेवा प्रदान गर्न पिडिएसए बैठक अत्यन्त प्रभावकारी छ । पिडिएसए मिटिङ गर्न थालेपछि प्रसूति तथा नवजात शिशु वार्डमा प्रवाह भइरहेका सेवाका लागि समस्या के ले भएको छ? सुधार गर्नुपर्ने पक्षहरू के के छन् भन्ने कुरा पत्ता लगाउन सहज भएको छ।

वार्डको समस्या समाधानका लागि उच्च पदस्थ वा अन्य बाहिरी स्रोतको आस र भर नपरी समस्याको समाधान आफ्नै तहबाट गरिन्छ। वार्डको समस्या टिमलाई थाह हुने हुँदा यो विधिले सेवा प्रदायकलाई जिम्मेवार तथा उत्तरदायी बनाएको छ।

नर्सिङ प्रशासक श्रेष्ठका भनाइ आधार मान्ने हो भने पिडिएसए बैठक महिनाको एकपल्ट अनिवार्य रूपमा बस्दछ। आवश्यकता महसुस भएमा महिनामा २–३ पटक पनि हुन्छ। उक्त बैठकमा युनिटका प्रायः सबैजसो कर्मचारी सहभागी हुने हुँदा स्वास्थ्य सेवा प्रदानमा के कस्ता समस्या छन् भन्ने कुरा स्वयंलाई थाह हुन्छ र समस्याका जड के हुन भन्ने पनि थाह हुन्छ।

त्यसले गर्दा ती समस्याको समाधानका लागि प्रसंशनीय ढंगबाट आफैं बढ्छ र समस्या समाधान गर्नेतर्फ सम्बन्धित व्यक्ति सक्रिय र जिम्मेवार बन्दछ।

पिडिएसए मिटिङ बस्न थालेपछि सेवा र प्रयासमा प्रत्यक्ष परिवर्तनहरू भएका छन् । पिडिएसए बैठकले भेरी अस्पतालका प्रसूति तथा नवजात शिशु कक्षका स्वास्थ्य सेवा प्रदायको व्यवहारमा समेत सकारात्मक परिवर्तन ल्याएको छ।

पहिला ४७ प्रतिशत आमाले जन्मको १ घण्टाभित्रै शिशुलाई दूध चुसाएका थिए भने अहिले यो प्रतिशत ९५ मा वृद्धि भएको छ। अस्पतालको तथ्यांक अनुसार छालादेखि छालाको सम्पर्क राख्ने स्याहारको अभ्यासमा ४ं६ प्रतिशतबाट ८३ प्रतिशत वृद्धि भएको छ।

युनिटका स्टाफहरूमा समस्या समाधानका लागि बरोबर मिटिङ बस्ने, उत्तरदायित्व वहन गर्ने, काम गर्न जाँगर देखाउने, आफूले बनाएको योजना सफल भयो भएन चासो लिने, कुनै काम पूरा नभएमा के कारणले हुन सकेन, त्यसको फलोअप गर्ने र काममा बढी ध्यान दिने बानीको विकास पिडिएसएले गराएको छ।

कोभिड–१९ को महामारीका बेला केही समय पिडिएसए बैठकहरू अवरुद्ध भए पनि लकडाउनको समययमा मातृ तथा नवजात शिशु स्याहारको गुणस्तर कायम राख्न समय समयमा आवश्यक सावधानी अपनाएर दुईवटा बैठक बसिसकेको छ। अर्को बैठक बस्ने तयारी पनि गरिँदैछ ।

अस्पताल नर्सिङ निरीक्षक तथा प्रसूति कक्षकी इन्चार्ज भारता शर्माले पिडिएसए बैठक बस्न थालेपछि भेरी अस्पतालमा सुधार आएको जनाइरहेकी छन्। प्रमुख सेवामा जन्मदा निस्सासिएका नवजात शिशुलाई १ मिनटभित्रै ब्याग एन्ड मास्कको प्रयोग गरी कृत्रिम श्वासप्रश्वास गराउने हो। हात धुने बानीमा पनि राम्रो सुधार छ। जन्मेको १ घन्टाभित्रै शिशुलाई स्तनपान गराउने, भिटामिन के समयमै दिने साथै नवजात शिशुसम्बन्धी अन्य सेवामा पनि सुधार आएको पक्ष शर्माले उजागर गरेकी छन् ।

समग्रमा पिडिएसए विधि अपनाउन थालेपछि नवजात शिशु सेवाका सम्पूर्ण कार्य सम्पादनमा सहजता आएको छ ।

भरतपुर अस्पतालमा नवजात शिशुको गुणस्तरीय सेवा प्रदान गर्न पिडिएसए बैठक नियमित बस्दै आएको छ। उक्त अस्पतालका कन्सल्ट्यान्ट पेड्राट्रिसिएन तथा नेपाल पेडियाट्रिक सोसाइटी (नेपास) का वर्तमान उपाध्यक्ष डा. युवानिधि बसौलाको पिडिएसए मिटिङ गर्न थालेपछि भरतपुर अस्पतालमा नवजात शिशुको सेवामा राम्रो सुधार आएको बुझाइ छ।

पहिला ४७ प्रतिशत आमाले जन्मको १ घण्टाभित्रै शिशुलाई दूध चुसाएका थिए भने अहिले यो प्रतिशत ९५ मा वृद्धि भएको छ। अस्पतालको तथ्यांक अनुसार छालादेखि छालाको सम्पर्क राख्ने स्याहारको अभ्यासमा ४ं६ प्रतिशतबाट ८३ प्रतिशत वृद्धि भएको छ।

पीडिएसए कुनै ठाउँमा भइरहेको सेवामा गुणस्तरीय सुधार ल्याउन अपनाइने एउटा प्रक्रिया हो। दैनिक सञ्चालन भइरहेका क्रियाकलापमा गुणस्तरीय सुधार ल्याउन यो विधि अपनाइन्छ। पिडिएसएका चार चरण हुन्छन्। योजना, कार्य, अध्ययन तथा कार्यान्वयन। यी निरन्तर दोहोरिने प्रक्रिया हो । नेपाल सरकारले नवजात शिशु मृत्युदरमा कमी ल्याउने दिगो विकास लक्ष्य प्राप्तिका लागि स्वास्थ्य संस्थाहरूमा नियमित यो विधि अपनाउँदा सरल र प्रभावकारी रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान हुनसक्छ।

(लेखिकाद्वय गोल्डेन कम्युनिटीसँग आबद्ध छन्)

लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय