काठमाडौं प्रवेशमा थप कडाई, क–कसले आउन पाउने छन्?

गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्नका लागि काठमाडौं उपत्यकाभित्र प्रवेश गर्ने नाकाहरूमा थप कडाइ गरेको छ।

गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्काका अनुसार अत्यावश्यक काम बाहेक अरू सबैको प्रवेशमा रोक गराइएको हो।

‘अत्यावश्यक काम गरेका व्यक्ति आउने हो, काजकिरिया गर्ने, रेफर भएर काठमाडौंमा उपचारका लागि आउने सिकिस्त बिरामीले मात्रै प्रवेश पाउने छन्,’ खड्काले भने।

त्यसैगरी, सरुवा भएर आएका कर्मचारीले पनि काठमाडौं प्रवेश गर्न पाउने सहसचिव खड्काले बताए। विशेष कामले राजधानी बाहिरका जिल्लामा गएका कर्मचारीले पनि उपत्यकाभित्र सहजै प्रवेश गर्न पाउने छन्।

‘खाद्य सामग्री ढुवानी गर्ने गाडीहरूलाई पनि उपत्यकामा प्रवेश गर्न दिइने छ, तर अत्यावश्यक काम भएर काठमाडौं आउने अन्यको हकमा विश्वस्त भएपछि र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले दिएको सिफारिसका आधारमा मात्रै प्रवेश दिइनेछ,’ खड्काले भने।

गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता केदारनाथ शर्माले लकडाउन सुरू भएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी तरकारी फलफूल लगायतका कुनै पनि आवश्यक वस्तुहरूको उत्पादन, संकलन, ढुवानी र बिक्रीवितरण गर्ने कार्यमा स्थानीय प्रशासनबाट कुनै प्रकारको अवरोध नभएको बताएका छन्।

साथै तरकारी र फलफूलको उत्पादन, संकलन, ढुवानी र बिक्री वितरण सहजीकरण भइरहेको जानकारी पनि प्रवक्ता शर्माले दिएका छन्।

काठमाडौंका नागढुंगा र थानकोट तथा भक्तपुरको जगाती उपत्यकाभित्र प्रवेश गर्ने मुख्य नाका हुन्। पछिल्ला केही सातामा मात्रै १०औं हजार सर्वसाधारण काठमाडौं उपत्यकाभित्र प्रवेश गरिसकेका छन्।

काठमाडौंबाट विभिन्न जिल्लातर्फ जानेको संख्या पनि धेरै रहेको छ। विभिन्न जिल्लाबाट काठमाडौं आउने क्रम बढेमा कोरोना भाइरसको संक्रमणको जोखिम बढ्ने भएकाले पनि गृह मन्त्रालयले उपत्यका प्रवेश गर्नेहरूलाई रोक्ने रणनीति लिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय