रोग प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमै योग

सुदूरपश्चिममा भारतका विभिन्न स्थानबाट आएका नागरिकलाई राखिएको स्थान क्वारेन्टाइनमै योग अभ्यास थालिएको छ।

मानसिक रुपमा स्वस्थ बनाउन तथा शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयुर्वेदिक प्रणालीबाट क्वारेन्टाइनमा रहेका नागरिकलाई दैनिक योग अभ्यास गराउने गरिएको हो।

भारतबाट सोचेभन्दा बढी नागरिक भित्रिँदा कोरोना परीक्षण गर्ने किटको अभाव हुनुका साथै क्वारेन्टाइनमा रहेका नागरिकमा मानसिक त्रास देखापरेको छ। क्वारेन्टाइनमा रहेका नागरिकलाई तनाव मुक्त गरी उनीहरूको हौसला बढाउनु योगको प्रमुख उद्देश्य रहेको सेती अञ्चल आयुर्वेदिक अस्पतालका प्रमुख डाक्टर खगेन्द्र बमले बताए।

उनले भने, ‘लामो समय सम्म क्वारेन्टाइनमा बस्दा मानसिक तनाब हुनसक्छ, योगको माध्यमबाट सो तनावलाई न्यूनीकरण गर्दै योगकै माध्यमबाट शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने उद्देश्यले योग सुरु गरेका छौं, यो अभियान सुचारु भएका स्थानमा सकारात्मक प्रभाव परेको छ।’

बमका अनुसार बिहीबार धनगढी उपमहानगरपालिका–३ त्रिभुवन माविमा रहेका ५३ जना नागरिकलाई १ घण्टा योग प्रशिक्षण दिइएको छ। यसका साथै शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउन आयूर्वेदिक औषधीसमेत वितरण गरिएको छ। उनले कैलाली लगायत सुदूरपश्चिमका अधिकांश स्थानमा योग कक्षा सञ्चालन गरी क्वारेन्टाइनमा रहेका नागरिकलाई तनाव मुक्त गर्न अभियानको थालनी गरिएको बताए।

क्वारेन्टाइनमा योग कक्षा सञ्चालन भएसँगै त्यहाँ रहेका नागरिकमा मानसिक चिन्तन कम हुने गरेको धनगढी–३ का वडा अध्यक्ष बलबहादुर ऐरले बताए। ‘हामीले क्वारेण्टाइनमा योग कक्षा सञ्चालन गर्दा त्यहा रहेका नागरिकमा सकारात्मक प्रभाव परेको छ,’ अध्यक्ष ऐरले भने, ‘यो अभियान सवै क्वारेन्टाइनमा सञ्चालन गर्नु आवश्यक छ।’

सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका क्वारेन्टाइनमा पनि योग प्रशिक्षण सुरु गरिएको छ।

बाजुरा, बझाङ, अछाम लगायतका जिल्लाहरूमा स्थानीय योग प्रशिक्षकमार्फत क्वारेन्टाइनमा प्रशिक्षण दिने गरिएको छ। बझाङ जिल्लाका स्थानीय योग प्रशिक्षक मोहन मल्लले भने,‘अहिले सदरमुकाम आसपास रहेका क्वारेन्टाइनमा योग अभ्यास गराई रहेका छौं, बिस्तारै जिल्लाका ग्रामिण क्षेत्रमा रहेका क्वारेन्टाइनमा पनि योग अभ्यास गराउँछौं।’

क्वारेन्टाइनमा कोरोनाको त्रासले मानसिक तनावमा रहेकाहरूलाई शारीरिकदेखि मानसिक क्षमता बृद्धि गर्ने काम गरेको योग प्रशिक्षक मल्लको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय