जनस्तरबाट झापामा पिसिआर प्रयोगशाला स्थापना गरिने

झापामा जनस्तरबाट पिसिआर प्रयोगशाला स्थापना हुने भएको छ। यहाँ सञ्चालित एकका लागि एक अभियानमा आवद्ध १८ वटा संस्थाको बुधबार बसेको बैठकले पिसिआर प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो।

अभियानका संयोजक महेन्द्रकुमार गिरीले सरकारको सहयोगमा प्रयोगशाला स्थापना गर्ने र परीक्षणको दायरा फराकिलो बनाउने लक्ष्यका साथ यो निर्णय भएको जनाए।
प्रयोगशाला स्थापना गर्न करिब एक करोड १५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको अभियानका सहसंयोजक बिनोद बस्नेतले जानकारी दिए।

देशविदेशबाट अभियानलाई सहयोग प्राप्त भइरहे पनि प्रयोगशालाका लागि थप सहयोगको अपिल गरिएको छ।

झापामा संक्रमितहको संख्या बढिरहेको, थप झापाली भारत र तेस्रो मुलुकबाट आउने क्रम जारी रहेको बेला प्रयोगशाला निर्माणको निर्णय भएको हो।

प्रयोगशाला निर्माणका लागि प्रदेश सरकारसँग समन्वय गर्ने निर्णय भएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले बताए।

बैठकमा प्रदेश सरकारले तोकेको स्थानमा प्रयोगशाला राख्ने, सो नभए झापाका २ वा ३ वटा पालिकालाई स्वामित्व लिन आग्रह गर्ने र दुबै तयार नभए ६ महिनासम्म जनस्तरबाटै प्रयोगशाला सञ्चालन गर्ने योजनामा अभियानमा सहभागी संस्थाहरू छन्।

प्रयोगशाला सञ्चालनका लागिप्रति महिना १० लाख खर्च हुने अनुमान गरिएको छ। सो रकमले दुई जना चिकित्सक र एक जना ल्याब प्राविधिक राख्न सकिने छ।

कोरोना भाइरस परीक्षणका लागि अहिले प्रदेश- १ मा तीनवटा प्रयोगशाला छन्। प्रत्येक प्रयोगशालाले दिनमा करिव एक सय पिसिआर परीक्षण गर्न सक्ने क्षेमता छ। तर, प्रदेश – १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ।

प्रदेश-१ का १४ र प्रदेश २ को सप्तरीबाट संकलन गरिएको स्वाब विराटनगरको कोसी अस्पताल, प्रादेशिक प्रयोगशाला र धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण हुने गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय