पिसिआर रिपोर्ट आउन ढिलो भएको भन्दै क्वारेन्टाइनमै कुटिए स्वास्थ्यकर्मी

रौतहटको क्वारेन्टाइनमा खटिएका एकजना स्वास्थ्यकर्मी कुटिएका छन्। रौतहटको राजपपुर नगरपालिकाले सञ्चालन गरेको बैरियास्थित क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीउपर बुधबार कुटपिट भएको हो।

राजपुर नगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत छैटाैं तहका सिनियर अहेब खुर्सिद आलमउपर क्वारेन्टाइनभित्रै कुटपिट भएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख महेश साहले जानकारी दिए।

कुटपिटबाट आलमको टाउकोमा गम्भीर चोट लागेको उनले बताएका छन्। प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि स्वास्थ्यकर्मी आलमलाई घर पठाइएको उनले जानकारी दिएका छन्।

स्वाबको पिसिआर रिपोर्ट आउन ढिलो भएकोभन्दै क्वारेन्टाइनमा रहेका व्यक्तिहरूले आलममाथि कुटपिट गरेको साहको भनाइ छ। ‘स्वास्थ्यकर्मीहरू जोखिम मोलेर काम गरिरहेका छन्, रिपोर्टको निहुँ बनाएर कुटपिट गर्नु सरासर गलत छ,’ हेल्थपोस्टसँग कुरा गर्दै साहले भने, ‘यस्तै अवस्था रहे स्वास्थ्यकर्मीहरूलाई काम गर्न कठिन छ।’

‘क्वारेन्टाइनमा रहेकाहरूको स्वाब संकलन गरेर हामीले पठाउने हो, यसमा सकभर ढिलाइ गरेका छैनौं,’ उनी भन्छन्,‘रिपोर्ट आउँदा कोही पोजिटिभ देखिएसँगै रहेका अरुलाई आरडटी गर्नुपर्ने हुन्छ। तर, कतिपय आरडीटी गर्न तयार नभएर कुटपिटमा ओर्लिएका छन्।’

निमित्त प्रमुख साहले स्वाब संकलनका लागि पुग्ने स्वास्थ्यकर्मीहरूसँग पनि पटकपटक दुर्व्यवहार भइसकेको सुनाए। जोखिम मोलेर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीहरूमाथि आक्रमण र दुर्व्यवहार नरोकिए काम गर्न समस्या हुने उनले बताए।

यता, स्वास्थ्यकर्मीमाथि भएको कुटपिटको नेपाल स्वास्थ्यकर्मी संघले विरोध गरेको छ। स्वास्थ्यकर्मी संघ धनुषाका अध्यक्ष रामगुलाम कर्ण घरपरिवार छोडेर क्वारेन्टाइनमा खटिएका स्वास्थ्यकर्मीमाथि कुटपिट हुनु दुःखद रहेको बताउँछन्। स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने व्यक्तिलाई कारबाहीको दायरामा ल्याउनका साथै सरकारले सुरक्षा नदिएको अवस्थामा क्वारेन्टाइनमा खट्न नसकिने कर्णले चेतावनी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय