सम्माननीय प्रधानमन्त्रीज्यू, पैसा तिरेर हामी आफ्नो देश फर्किन नपाउने?

चन्द्रा हाडा/विपद जोखिम न्यूनीकरण विज्ञ
प्रकाशित
२०७७ जेठ २१ गते १४:२१

११ महिनाअघि हर्बर्ट हम्फ्रे फेलोसिप कार्यक्रमअन्तर्गत छात्रवृत्ति पाएर एमआइटीमा शहरी विकास योजनासम्बन्धी विधामा अध्ययन गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गर्दै गर्दा हामी (म, मेरी छोरी र हामीसँगै प्रस्थान गर्ने अन्य सबै) मा एउटा उत्साह थियो।

निर्धारित भिसा अवधिभित्र नेपाल फर्किने विश्वास थियो। तर, मार्च महिनादेखि कोभिड-१९ महामारीको विश्वव्यापी विस्तारका कारण सबैभन्दा बढी क्षति पुगेको अमेरिकाबाट नेपाल फिर्ती अनिश्चित भयो। त्यही अन्याेलबीच हामी आमाछोरी एमआइटीको आवासमा आश्रय लिइरहेका छौं।

अमेरिकामा मजस्ता धेरै विद्यार्थी र अन्य नेपाली नागरिकहरू सरकारको सहयोगको प्रतीक्षामा छन्। सहरी तथा क्षेत्रीय योजना अध्ययनका लागि जे वान भिसा अन्तर्गत एमआइटीमा अध्ययन गर्न अगस्ट २०१९ मा अमेरिका आएकी हुँ। एमआइटीमा यही विधामा विभिन्न देशबाट अध्ययन गर्न आउने हामी जम्मा १५ जना थियौ।

सरकारका धेरै जिम्मेवारी छन् भन्ने कुरा बुझ्ने नेपाली नागरिकमध्ये हुँ म। त्यसैले सरकारको जिम्मेवारी के हो? भन्ने जस्तो पुर्वाग्रही प्रश्न म गर्न चाहन्न। तर, कोभिड-१९ को विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिले हामीलाई आफ्नो देश फर्किने बाटो रोकिदियो।

अमेरिकी सरकारले हामीलाई मार्चको दोस्रो साता नै फर्किनु भनेको थियो। अब हामी २ जनामात्रै बाँकी छौं। एमआइटी र राज्यले मेल लेखेर सम्बन्धित मुलुक फर्किन भने पनि नेपालसहित अन्य कैयन मुलुकमा लकडाउन सुरु भइसकेको थियो। मेरो एमआइटी र हार्वर्ड विश्वविद्यालयमा लिँदै आएको कक्षा पनि अप्रिल अन्त्यमा सकियो। सामान्य परिस्थिति हुन्थ्यो भने अहिलेसम्म एमआइटीको ग्य्राजुएसन मे २२ मा सकिएपछि हामी नेपाल फर्किने तयारीमा हुने थियौं।

सरकारका धेरै जिम्मेवारी छन् भन्ने कुरा बुझ्ने नेपाली नागरिकमध्ये हुँ म। त्यसैले सरकारको जिम्मेवारी के हो? भन्ने जस्तो पुर्वाग्रही प्रश्न म गर्न चाहन्न। तर, कोभिड-१९ को विश्वव्यापी महामारीका कारण उत्पन्न परिस्थितिले हामीलाई आफ्नो देश फर्किने बाटो रोकिदियो।

म मेरो शैक्षिक योग्यतालाई संकटकै परिस्थितिमा पनि मेरो देशको हितको लागि प्रयोग गर्न चाहने थुप्रै नेपाली नागरिकमध्ये एक भएको कुरा दर्शाउँदै मेरो अमेरिका बसाइको समयावधि छोटिँदै गएको यथार्थसमेत दृष्टिगत गरेर आफ्नै मातृभूमि फर्किन चाहन्छु।

अरू अधिकांश देशका नागरिक सम्बन्धित सरकारहरूले चार्टर्ड गरेर पठाएका विमानमार्फत् फर्किसकेका छन्। यद्यपि, हामीले राज्य संयन्त्र र अमेरिकास्थित नेपाली दूतावासलाई धेरै पटक आग्रह गर्दा पनि हाम्रो स्वदेश फर्किने प्रयास सफल हुन सकेको छैन।

त्यसैले सम्माननीय प्रधानमन्त्रीज्यू,

मैले तपाईलाई जानकारीसहितको पत्र लेखेकी हुँ। सम्माननीयज्यू, महामारीका बेलामा राज्यका संयन्त्र कसरी परिचालन हुनुपर्छ? देशविदेशमा अलपत्र नागरिकप्रति राज्यको दायित्व के हुनुपर्छ? सरकारलाई हामीले पैसा तिरेर घर फर्किन्छौं भन्दा पाउने कि नपाउने?

सम्माननीयज्यू, म सार्वभाैम सम्पन्न नेपाली नागरिकको हैसियतले नेपालको संविधान २०७२ को भाग-३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा २७ मा उल्लेख गरिएको सूचनाको हकमा उल्लेख गरिएको, ‘प्रत्येक नागरिकलाई आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि बिषयको सूचना माग्ने र पाउने हक हुनेछ’ भन्ने अधिकारको प्रयोग गर्दै सुसूचित हुन चाहन्छु कि के मेरो सरकारले अध्ययन सकेपछि अलपत्र परेर घर फिर्तीको प्रतिक्षामा रहेका केही हजार विद्यार्थीलाई सुरक्षित स्वदेश फिर्तीको हैसियत पनि राख्दैन र?

यही प्रश्न गर्दै गर्दा म सुरक्षित स्वदेश फर्किन पाउने अधिकार खाडी मुलुक, कोरिया, मलेसिया, भारत लगायत मुलुकमा पसिना बेचेर देशमा बिदेशि मुद्रा पठाउने नेपाली दाजुभाइको अधिकारको समेत स्मरण गराउन चाहन्छु ।

सरकारको दायित्व ती श्रमजीवी नेपाली दाजुभाइ, दिदीबहिननीप्रति समेत उत्तिकै छ भन्ने कुरालाई नकार्न सक्दिनँ र विभिन्न सञ्चार माध्यममा प्रकाशित समाचारमा सरकारले विदेशमा अलपत्र परेका नेपाली नागरिकहरुलाई अब निश्चित प्रकृया पूरा गरेर नेपाल फिर्ता ल्याउने तयारी सरकारले सुरुवात गरेर विदेशमा रहेका नेपाली दूतावसलाई सकृय बनाएको खबर सुन्न पाउँदा मैले पनि थोरै नेपाली नागरिक हुनुको गर्व र धेरै राहत महसुस गरेको कुरा समेत उल्लेख गर्दै भन्न चाहन्छु कि विदेशबाट आउने सबैले कोरोना भाइरस बोकेर आउने होइन।

अहिलेसम्म हामी यहाँ सुरक्षित छौं। १५-१५ दिनमा एमआइटी मेडिकलले नै कोभिड परिक्षण गराएको छ। के चीनको वुहानबाट आएका सबै नेपाली सुरक्षित थिए? यदि फर्किनेमा पनि कसैलाई कोभिड-१९ को संक्रमण भएमा तत्कालै क्वारेन्टाइन र आइसोलेसनमा राख्ने प्रबन्ध गर्नुपर्छ।

सम्माननीयज्यू, एक नेपाली नागरिकको यो दुखेसो कसले सुनिदिने। अलपत्र विद्यार्थी र जागिर गुमाएर भोकै सडकमा घुमिरहेका केही हजार नेपालीलाई उद्धार गर्नेतर्फ पहल गरिदिनुहुनेछ र हामी जस्ता विदेशमा रहेका, नेपाल फर्किन चाहने, सम्पूर्ण प्रकृया (कोभिड-१९ को परीक्षण, क्वारेन्टाइनमा बस्न तोकेको स्थानमा आफ्नै खर्चमा समेत बस्न खर्चसमेत गर्न तयार, विमान चार्टर्ड गरेर आफ्नै खर्चमा नेपाल फर्किन तयार) नेपाली मानव स्राेतलाई समेत प्राथमिकतामा राखियोस् भन्ने कुरा अनुरोध गर्न चाहन्छु।

खाडीमा लाखौं नेपाली नागरिक छन्, नेपाल फर्किन चाहने पनि ठूलै संख्यामा छन् र ती सबैलाई एकै झट्कामा उद्धार गर्न सरकारलाई कति कठिन छ भन्ने कुरो लाई समेत म संवेदनशीलताको दृष्टिकोणबाट हेर्छु।

सरकारले गर्न खोजेको प्रयासलाई म स्वागत गर्न चाहन्छु किनकि हरेक नागरिकलाई कोविडको परिक्षण गराएर, निश्चित समय क्वारेन्टाइनमा या आइसोलेसनमा राखेर, उनीहरूलाई प्लेनमा ल्याउने व्यबस्था मिलाउन कति सहज र कति असहज छ भन्ने कुरो नबुझ्ने नागरिक पनि म होइन ।

तर यी सबै प्रकृया पुरा गर्छौं भनेर प्रतिबद्धता जनाउने अलपत्र परेका नेपाली नागरिकहरूबाट तत्काल उद्धार कार्य सुरुवात गर्ने र अन्य प्रकृया पूरा गर्न तयार पार्ने कार्य तत्काल सुरुवात हुँदा मेरो र म लगायत अन्य सबै स्वदेश फर्किन इच्छुक नेपालीको नेपाली भावना थप बलियो हुनेछ भन्ने विश्वास लिएकी छु।

खाडीमा लाखौं नेपाली नागरिक छन्, नेपाल फर्किन चाहने पनि ठूलै संख्यामा छन् र ती सबैलाई एकै झट्कामा उद्धार गर्न सरकारलाई कति कठिन छ भन्ने कुरो लाई समेत म संवेदनशीलताको दृष्टिकोणबाट हेर्छु।

सरकार प्रमुखको हैसियतले तमाम व्यस्तताको बाबजुद सानो समय र फुर्सद निकालेर जनताको सानो बोली एक पटक सुन्ने सरकार प्रमुखको कर्तब्य निर्वाह गरिदिनुहुनेछ भन्ने अदम्य विश्वास लिएकी छु।

नेपाल देशबाहिर सास्ती भोगिरहेका नेपाली जनताको बाँच्न पाउने न्यूनतम अधिकारको सम्मान गरिदिनुहुनेछ। सबैतिर संत्रास छ। गम्भीर संकटबीच पनि सुरक्षित बसेका छौं। नेपाली दूतावचसका उच्च कर्मचारीसँग कुरा गर्दा पनि पहिलो प्राथमिकता खाडी मुलुक भनेका थिए। तर, अहिलेसम्म खाडीका कुनै देशबाट नेपाली स्वदेश फर्किएको सुनेकी छैन। सात समूद्रपारिका नेपालीले प्राथमिकता नपाउने भन्ने पक्कै हुँदैन होला।

सम्माननीयज्यू, मजस्ता धेरै नेपालीहरू सरकारले आफ्नो आवाज सुन्ला र उद्धार गर्ला भनेर प्रतीक्षामा छन्। तपाई त भावुक मान्छे सम्माननीयज्यू । भावनामा देश निर्माणको ठूलो सपना देख्दै गर्दा आफ्नै देशका नागरिकको मसिनो आवाज सुनिँदैन र?

म एक जनाका लागि मात्रै भनिरहेकी छैन सम्माननीयज्यू, नागरिकले साथ मागेपछि हरेक ठाउँमा सरकारको उपस्थिति हुनुपर्छ। नभए धेरै सरकार संकटको व्यबस्थापनमा चुकेर जनताको नजरबाट च्युत हुँदै गर्दा, हिजो नाकाबन्दीकाे समयमा सम्माननीयज्यूकै नेतृत्वको सरकारले संकटको त्यो क्षणमा निर्वाह गरेको सबल भूमिकाले गर्दा आज सम्माननीयज्यूकै सम्मान गर्दै नेपाली नागरिकले दुइतिहाइको भीमकाय बहुमत दिएका हुन्।

अरू केही होइन सम्माननीयज्यू, अलि चाँडै फर्किन पाउँदा मनको बेचैनी हट्ने थियो। मेरो साथमा सानी छोरी छे। आफ्नो देश पुगेपछि कम्तीमा ढुक्कले बस्न पाइने थियो। शान्तिको स्वास फेर्न पाइने थियो। अमेरिकामा अलपत्र नेपालीले पैसा तिरेरै बसेका छौं। नेपाल सरकारको विमान चार्टर्डको पैसा पनि तिरेरै फर्किने हो।

फेरि स्मरण गराउन चाहन्छु, सम्माननीयज्यू, एमआइटी हाउजिङ प्रशासनले हामीलाई जान भनिसकेको छ। नेपालको घर सम्झिँदै, यहाँ चिन्ता र त्रासमा अनुनय विनय गर्दै बस्नुको विकल्प छैन। यहाँको अत्यासपूर्ण बसाइ अब धेरै नलम्बियोस, सम्माननीयज्यू।

भोलिको भविष्य मेरी सानी छोरीको अनुहार हेर्छु, चिन्ता भए पनि मन बुझाउँछु।

अन्त्यमा, आफ्नो देशभन्दा ठूलो कुन देश हुन्छ र! फर्किएपछि पनि हामी सेल्फ क्वारेन्टाइनमा बस्छौं। सुरक्षित रूपमा घर फर्किने वातावरण मिलाइदिएर हामीलाई राज्यसत्तामा हाम्रो अभिभावक हुनुहुन्छ भन्ने पुष्टि गराइदिनुस्।

जननी जन्म भूमिश्च स्वर्गादपि गरियसी। धन्यवाद।

भक्तपुर, नेपाल

हालः  एमआइटी, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय