संक्रमणबाट बच्न स्वास्थ्यकर्मीलाई चिकित्सक संघ र फाउन्डेसनबाट अनलाइन तालिम

स्वास्थ्यकर्मीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दै गएको अवस्था मध्यनजर गरेर आजदेखि अनलाइन तालिम सुरु गरिँदै छ।

नेपाल चिकित्सक संघ र अमेरिका–नेपाल मेडिकल फाउन्डेसनको संयुक्त आयोजनामा कोभिड–१९ को रोकथाम तथा व्यवस्थापनका लागि स्वास्थ्यकर्मीलाई अनलाइन तालिम गराइन लागिएको हो।

संघका महासचिव डा. बद्री रिजालले यस्तो जटिल परिस्थितिमा सबै ठाउँमा गएर तालिम दिन सम्भव नभएकाले अनलाइनमार्फत तालिम दिएर भए पनि स्वास्थ्यकर्मीमा हुने संक्रमणलाई केही कम गर्न सकिन्छ भन्ने अभिप्राय रहेको बताए।

विशेष गरी कोभिडका संक्रमित व्यक्तिबाट कसरी बच्ने, पिपिईको प्रयोग कसरी गर्ने, भेन्टिलेटर वा आइसियुमा रहेका बिरामीबाट अन्य मानिसमा संक्रमण फैलन नदिन कस्ता काम गर्ने जस्ता विषयवस्तुमा केन्द्रित गरिएको डा. रिजालले हेस्थपोस्टलाई बताए।

अनलाइन तालिम यही जेठ २१ देखि २५ सम्म दिउँसो २ देखि ४ बजेसम्म हुनेछ। संघको आधिकारिक फेजबुक पेजबाट लाइभ हुने डा. रिजालले जनाए।

स्वास्थ्यकर्मीमा बढ्दो कोभिड संक्रमण नियन्त्रण गर्नका लागि तालिम सुरु गर्न लागेको फाउन्डेसनका अध्यक्ष डा. भूपेन्द्र बस्नेतले बताए। ‘स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि धेरै चिन्चित रहेका छौं,’ उनले भने, ‘अनलाइन तालिमको प्रमुख उद्देश्य स्वास्थ्यकर्मीलाई संक्रमणबाट कसरी जोगाउने नै हो।’

स्वास्थ्यकर्मीमा तालिम तथा ज्ञानको अभावले पनि संक्रमण बढ्दै गएको हुनसक्ने भएकाले तालिमको गर्नुपरेको डा. बस्नेतको भनाइ छ।

हाल अनलाइनमार्फत तालिम दिने र सम्भव भएसम्म पछिका दिनमा संघको शाखामा गएर स्वास्थ्यकर्मीलाई तालिम दिने उनले जानकारी गराए।

‘स्वास्थ्यकर्मीलाई पिपिई कसरी प्रयोग गर्ने, एकअर्कोमा संक्रमण सर्न नदिन कस्तो काम गर्ने कुरामा केन्द्रित हुनेछौं,’ डा. बस्नेतले हेल्थपोस्टसँग भने, ‘कोभिडका बेलामा मात्र होइन, अन्य बेलाका लागि पनि नयाँ तरिकामार्फत तालिम दिने योजना छ।’

फाउन्सेडनले नेपालको स्वास्थ्य क्षेत्रमा विभिन्न सहयोग गर्दै आएको छ। आइसियु, भेन्टिलेटरमा रहेका संक्रमितबाट कसरी बच्ने र स्वास्थ्यकर्मीको तनाव व्यवस्थापनका लागि काउन्सिलिङ गर्ने जस्ता काम हुने डा. रिजालले बताए।

हालसम्म नेपालमा तीन चिकित्सकसहित २० स्वास्थ्यकर्मी कोरोनाबाट संक्रमित भइसकेका छन्।

डा. अनुप सुवेदी, डा. प्रभात अधिकारी तथा अन्य विशेषज्ञले संक्रमण रोकथामका लागि स्वास्थ्यकर्मीलाई काउन्सिलिङ गर्नेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय