अस्पतालले लिन नमान्दा १५ जना कोरोना संक्रमित दुई दिनदेखि क्वारेन्टाइनमै

कोरोना संक्रमितको उपचारका लागि बेलझुन्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिएपछि १५ जना संक्रमित क्वारेन्टाइनमै रहेका छन्। घोराही उपमहानगरपालिकाका नौ जना र बंगलचुली गाउँपालिकाका ६ जना गरी १५ कोरोना संक्रमित अस्पताल भर्ना हुन नपाएका हुन्।

दाङका बंगलाचुली र घोराही उपमहानगपालिकामा सोमबार र मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो। १७ संक्रमित मध्य राप्ती गाउँपालिका दुई जना बिरामीलाई नेपालगंज लगिएको छ। सोमबार कोरोना संक्रमण देखिएका घोराहीका ९ जनालाई घोराही उपमहानगरपालिकाले ३ नम्बर वडाको कुइरेपानीमा रहेको क्वारेन्टाइन राखिएको छ।

६ जना संक्रमितलाई कमिरेचौरमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। उनले अस्पतालको क्षमता बढाएर विरामीको उपचार गर्ने बेला केन्द्र सरकारले सहयोग नगर्ने र प्रदेश सरकार पन्छिन खोज्दा बिरामीहरूको क्वारेन्टाइमै मर्ने अवस्था आएको गुनासो गरे।

‘हाम्रो गाउँपालिकामा हिजो कोरोना संक्रमण देखिएका ६ जनालाई अस्पतालले लिन मानेको छैन,’ गाउँपालिका अध्यक्ष वलीले भने, ‘जसले गर्दा बिरामीहरूलाई क्वारेन्टाइनमै राख्नुपरेको छ।’ विरामीहरू उपचार नपाएरै मर्ने अवस्थाको सिर्जना भएकाले आफूहरू निकै चिन्तित रहेको उनले बताए।

उनले कोरोना संक्रमितका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीलगायतका अस्पतालमा सम्पर्क गर्दा कुनै अस्पतालले विरामी लिन नमानेको गुनासो गरे।

एक सय बेड क्षमता रहेको कोरोना विशेष अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। उनीहरू मध्य पोजिटिभ रिपोर्ट आएका बिरामीहरूलाई बेड परिवर्तन गर्नुपर्नेभन्दै बाँकी विरामी लिन नसकिने भन्दै अस्पतालहरू पन्छिरहेको उनको आरोप छ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक सय बेड क्षमता भएपनि जनशक्ति र अन्य व्यवस्थापनका कारण थप बिरामी राख्न समस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्। अहिले थप संक्रमितलाई उपचारका लागि आइसोलेसन अस्पताल बनाउने काम भैरहेको उनको भनाई छ।

संक्रमितलाई फनपार्कमा

यसैविच स्थानीय सरकार, स्थानीय प्रशासन र सम्बन्धित व्यवसायीको सहमति र समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनको तयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ। सो स्थानमा आवश्यक बेड र अन्य भौतिक पूर्वाधार तयारको काम भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।

त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिने छ। ‘कुइरेपानी क्वारेन्टाइनमा राखिएका संक्रमितलाई भोलि बुधवारदेखि नै फनपार्कमा व्यवस्थापन भएको आइसोलेसन अस्पतालमा राखिने छ’, प्रमुख जिल्ला अधिकारी रिजालले भने।

त्यसैगरी सम्भावित थप संक्रमितहरुलाई राख्नका लागि सम्बन्धित पालिकाहरूले आ–आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउने तयारीमा रहेको पनि उनले बताए। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा १६ वटा अस्पतालहरूमा १६६ आइसोलेशन बेड तयार छन्। तर, ती अस्पतालहरूले कुनै पनि विरामीहरू लिन मानेका छैनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय