धर्मशालाको क्वारेन्टाइनमै भोक हड्ताल

जनकपुरधाम–४ स्थित गोपाल धर्मशालाको क्वारेन्टाइनमा बसेका व्यक्तिहरूले सोमबार भोक हड्ताल गरेका छन्।

त्यहाँ रहेका १० जनामा कोरोना संक्रमण हुँदासमेत सम्बन्धित निकायले क्वारेन्टाइनस्थल स्यानिटाइज नगरेपछि उनीहरू भोक हड्तालमा बसेका हुन्।

जनकपुरधाम उपमहानगरपालिकाले केही दिनअघि गोपाल धर्मशालामा बनाएको ५० बेडको क्वारेन्टाइन ६० भन्दा बढी मानिसलाई राखिएको छ। भारतबाट आउने नेपालीको संख्या बढ्न थालेपछि उपमहानगरले उक्त धर्मशालामा क्वारेन्टाइन बनाएको थियो।

सुरुमा सुविधासम्पन्न र मापदण्डअनुसार स्थापना गरिएको भनिए तापनि पछिल्लो समय समस्या देखिन थालेको छ।

क्वारेन्टाइनमा बसेकाहरूका लागि दिइने खाजा र खानाको गुणस्तरसमेत घटाइएको उनीहरूको गुनासो छ।

धर्मशालाको क्वारेन्टाइनमा रहेकामध्ये १० जनालाई संक्रमण पुष्टि भइसकेको छ। संक्रमण पुष्टि भइसकेकालाई आइसोलेसन पठाइए पनि क्वारेन्टाइनस्थल स्यानिटाइज गरिएको थिएन।

‘दस जनालाई संक्रमण पुष्टि भइसकेपछि सम्बन्धित निकायले तत्काल स्यानिटाइज गर्नुपथ्र्याे,’ भारतबाट आएर क्वारेन्टाइनमा बसेका एकजनाले भने, ‘स्यानिटाइज गर्न पनि हल्ला गर्नुपरेको छ।’

‘संक्रमण पुष्टि हुनुअघिसम्म सबैले एउटै शौचायल प्रयोग गरिरहेका थियौं, बाहिर बरन्डामा सँगै सुत्ने गरेका थियौं,’ उनी भन्छन्, ‘क्वारेन्टाइन सञ्चालन गर्ने उपमहानगरले आफै विचार गर्नुपर्दैन।’

कोरोना भाइरसको संक्रमण रोक्न ‘लकडाउन’ भएको दुई महिनाभन्दा बढी भइसक्दा क्वारेन्टाइनहरू व्यवस्थित हुनसकेको छैन। कतै क्षमताभन्दा बढी मानिस राखिएको छ भने कतै घरबाटै खाना पु-याउनुपर्ने अवस्था छ। क्वारेन्टाइन व्यवस्थित हुन नसकेपछि कोरोना संक्रमणको जोखिम झनै थपिएको छ।

क्वारेन्टाइन स्थापनादेखि सञ्चालनसम्मको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ। प्रदेश सरकारले समन्वय गर्ने गरी क्वारेन्टाइन व्यवस्थापनको जिम्मा स्थानीय तहले पाएको हो। तर, क्वारेन्टाइन व्यवस्थापन गर्ने स्थानीय तहको शैलीप्रति स्वयं वडाध्यक्षहरू असन्तुष्ट देखिएका छन्।

जनकपुरधाम उपमहानगरपालिका वडा ७ का वडाध्यक्ष जानकीराम साहले आफ्नै पहलमा वडास्थित एक सरकारी विद्यालयमा क्वारेन्टाइन बनाएका छन्। उपमहानगरले सहयोग नगरेपछि बस्ने व्यवस्था गरे पनि खाजा र खाना भने क्वारेन्टाइन बस्नेले आफैं गर्नु परिरहेको थियो। तर, अहिले ‘सानो पाइला’ नामक संस्थाले सहयोग गरेपछि त्यहाँ बसिरहेकाको खाना र खाजाको समस्या टरेको छ।

क्वारेन्टाइन सञ्चालन एक महिनाभन्दा बढी भइसक्दासमेत उपमहानगरले हालसम्म कुनै सहयोग नगरेको वडाध्यक्ष साह बताउँछन्। ‘क्वारेन्टाइनमा १२ जना छन्, बस्ने व्यवस्था हामीले गरिदिएका छौं,’ वडाध्यक्ष साह भन्छन्, ‘उपमहानगरले अहिलेसम्म कुनै सहयोग गरेको छैन।’

केही दिनअघिसम्म खाना र खाजाको समस्या रहे पनि अहिले ‘सानो पाइला’ ले सहयोग गरेपछि समस्या नपरेको उनले बताए।

साहजस्तै पीडा जनकपुरधाम उपमहानगरपालिका वडा २० का वडाध्यक्ष भोगेन्द्र झाको छ। जनकपुरमा क्वारेन्टाइनको समस्या भएपछि भारतबाट आएका वडाका चारजनालाई झाले वडास्थित विद्यालयमा राख्ने व्यवस्था मिलाए। अहिले त्यहाँ ५० जनाभन्दा बढी मानिस भइसकेका छन्।

‘सुरुमा चार जनाका लागि व्यवस्था गरेको थिएँ, अहिले ५० भन्दा बढी भइसकेको छ,’ उनी भन्छन्, ‘हो–हल्ला गरेपछि उपमहानगरले खानाको व्यवस्था ग-यो। तर, खाना पकाउने भान्सेलाई अहिलेसम्म एकसुको नदिएपछि काम गर्न अनाकानी गरिरहेका छन्।’

खाना पकाउने मानिस गइदिए अर्को समस्या निम्तिने उनको भनाइ छ।

प्रदेश सरकारले कोरोनाकै लागि दुई अर्ब रुपैयाँ निकासा गरे पनि क्वारेन्टाइन व्यवस्थित हुन सकेको छैन। संक्रमित भेटिएपछि कतिपय क्वारेन्टाइनहरू ‘सिल’ गर्नुपरेको छ। क्वारेन्टाइन ‘सिल’ भएपछि आँपको बगैंचामा वास दिइएको छ।

महोत्तरीको सदरमुकाम जलेश्वरस्थित रामानन्द विश्वेश्वर महेन्द्र क्याम्पस क्वारेन्टाइन नेपाली सेनाले सिल गरेको छ। संक्रमित भेटिएपछि सेनाले क्वारेन्टाइन सिल गरेको हो। क्वारेन्टाइन सिल भएपछि भारतबाट आएकाहरू आँप बगैंचामा बस्न बाध्य भएका छन्।

क्वारेन्टाइन थप्न मेयर र वडाध्यक्षहरूबीच पटकपटक छलफल भए पनि क्वारेन्टाइनको क्षमता वृद्धि हुन सकेको छैन। संक्रमण फैलिन नदिन आइसोलेसनभन्दा बढी महत्वपूर्ण क्वारेन्टाइन रहेकाले सम्बन्धित निकायले त्यसतर्फ ध्यान दिनुपर्ने जानकारहरू बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय