आइसोलेसनको बेडमा रिपोर्ट कुर्दै एउटी नर्स

संक्रमणले नछोएको भए यतिबेला उनी क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य चेकजाँचमा व्यस्त हुन्थिन्।

गाउँमा रहेका क्वारेन्टाइन, धेरैजसो भारतबाट आएकाहरूको स्वास्थ्य परीक्षण, स्वास्थ्य जनचेतनाका लागि घर–घर पुग्दा संक्रमण हुनसक्छ भन्नेमा चनाखो थिइन् तर कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले उनलाई पनि छोयो।

यिनी हुन्, बाँके खजुरा गाउँपालिकाकी नर्स। उनी सोही गाउँपालिकाकी स्वास्थ्य शाखा सह–संयोजक पनि हुन्।

अहिले उनको दैनिकी फेरिएको छ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी उनी दैनिक दुई घण्टा व्यायाम गर्छिन्। ध्यान गर्छिन्। खाना खाएर छोराछोरीसँग भिडियोकलमार्फत गफिन्छन्।

उनीहरूलाई सम्झाइबुझाइ गर्छिन्। वृद्ध रहेका आमाबुबासँग पनि बारम्बार फोन सम्पर्क गरिरन्छिन्। ‘स्वस्थ भएर छिटै घर फर्कने’ बताइरन्छिन्।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा रहेकी उनी दैनिक दुई घण्टा व्यायाम गर्छिन्। ध्यान गर्छिन्। खाना खाएर छोराछोरीसँग भिडियोकलमार्फत गफिन्छन्।

जेठ ८ मा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो। तर कहाँबाट कसरी स-यो उनी आफैंलाई थाहा छैन।

उनलाई भारत तथा विदेशबाट आएका नागरिकको स्वास्थ्य परीक्षण, क्वारेन्टाइनमा रहेकाको चेकजाँचका साथै समुदायमा पनि गइरहनुपर्ने भएकाले त्यतैबाट सरेको आशंका भने छ।

‘सर्वसाधारणको सेवा गर्ने प्रतिवद्धतासहित स्वास्थ्य क्षेत्रमा लागेकाले नागरिकको ज्यान जोगाउनु स्वास्थ्यकर्मीको कर्तव्य तथा दायित्व हो,’ उनले भनिन्, ‘सेवा गर्ने कसम खाएर आएका छौं, जिम्मेवारीबाट भाग्न मिलेन।’

अस्पतालभन्दा गाउँघर तथा समाजमा कोेरोना भाइरस संक्रमणको जोखिम बढी छ। ‘संक्रमण जहाँ जतिबेला पनि हुनसक्छ भन्ने त लाग्थ्यो, तर सचेत हुँदाहुदै पनि संक्रमित भइयो,’ उनले सुनाइन्।

कोरोना लाग्दैमा कसैको ज्यान जाँदैन। तर भाइरस संक्रमित व्यक्तिलाई समाजले भने हेयका दृष्टिले हेरिदिँदा भने उनको मन अमिलो भएको छ। ‘हामीजस्ता स्वास्थ्यकर्मीलाई हेर्ने नजर त फरक छ भने सर्वसाधारणलाई कति गाह्रो हुन्छ होला,’ ४२ वर्षीया नर्सको गुनासो थियो।

‘भाइरसको संक्रमण जोसुकैलाई पनि हुनसक्छ, तर संक्रमित भएपछि सबैले फरक दृष्टिले हेर्दा रहेछन्,’ उनी भन्छिन्, ‘संक्रमण भएदेखि मैले अनुभव गरेको तीतो सत्य यही हो, संक्रमितलाई हेर्ने नजर फरक छ। यसले सामाजिक संरचना नै खलबल्लिन्छ।’

‘रिपोर्ट नेगेटिभ आओस् भनी भगवान्सँग प्राथना गरेकी छु। घर गएर छिट्टै छोराछोरी, आमाबा भेट्नु छ अनि सर्वसाधारणको सेवामा फर्किनु छ। हे भगवान्, रिपोर्ट नेगेटिभ आओस्,’ उनले आफ्नो भावना सुनाइन्।

अस्पताल जाने बाटोमै माइती पर्ने भए पनि उनले आफूमा संक्रमण देखिनुपूर्व नै आमाबुबालाई भेट्न छाडेकी थिइन्। आमाबाबु वृद्ध भएकाले जोखिम बढ्नसक्ने भन्दै उनी त्यही बाटोमा दिनको चार–पाँच पटक हिँडे पनि हात हल्लाएर आउने जाने गर्थिन्।

‘बूढा आमाबालाई समस्या हुनसक्छ भनेर बाटोमै माइतीघर हुँदा पनि गइन्। आउँदा जाँदा सधैं हात हल्लाएर हिँडथें। म गाडीबाट हात हल्लाउँथे, बाआमा कहिले आँगन र कहिले छतमा हुनुहुन्थ्यो,’ उनले स्मरण गराइन्।

‘जति सचेत र सतर्क रहन खोजे पनि भाइरसकोे संक्रमण देखियो नै। सुरुमा अलि कस्तो कस्तो लागिरहेको थियो। पछि विस्तारै सम्हालिएँ। अरुलाई सम्झाउन र आफू सम्हालिन फरक रहेछ भन्ने अनुभव गरें,’ आइसोलेसनमा रिपोर्टको प्रतीक्षामा रहेकी उनले सुनाइन्।

संक्रमण देखिएको दुई दिनसम्म उनीसहित घर, माइती, नातेदार सबैतिर चासो, चिन्ता र तनाव बढेको थियो। तर अहिले सबैले सामान्य लिइरहेका छन्।

नर्समा कोरोना संक्रमण देखिएपछि घरका सबैको स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसका उनका श्रीमानलाई भने पोजेटिभ देखियो। उनलाई जेठ ८ मा संक्रमण पुष्टि हुँदा उनका श्रीमानलाई जेठ १३ मा पोजेटिभ देखिएको थियो।

बाँकेमा भारत तथा विदेशबाट आएकाबाट कोरोनाको जोखिम बढाएको संक्रमित उनको बुझाइ छ। भन्छिन्, ‘पहिले अवस्था सामान्य थियो तब सीमानाकाबाट सर्वसाधारण भित्रिन थाले। संक्रमणको दर बढ्यो।’

श्रीमानमा पोजेटिभ देखिए पनि छोराछोरीमा नदेखिएकाले उनी खुसी देखिइन्।

अहिले श्रीमान र उनी एउटै क्याबिनमा उपचाररत छन्।

आज मंगलबार उनीहरूको परीक्षण रिपोर्ट आउँदै छ। उनलाई विश्वास छ रिपोर्ट नेगेटिभ आउँछ।

‘रिपोर्ट नेगेटिभ आओस् भनी भगवान्सँग प्राथना गरेकी छु। घर गएर छिट्टै छोराछोरी, आमाबा भेट्नु छ अनि सर्वसाधारणको सेवामा फर्किनु छ। हे भगवान्, रिपोर्ट नेगेटिभ आओस्,’ उनले आफ्नो भावना सुनाइन्।

कोरोना भाइरसका कारण सर्वसाधारण त्रसित र भयभित हुनु स्वाभाविक भए पनि स्वास्थ्यकर्मी नै मनोवैज्ञानिक त्रासमा रहनुपरेको उनले बताइन्। स्वास्थ्यकर्मीले भाइरसप्रतिको मनोवैज्ञानिक त्रास नहटाएसम्म काम गर्न गाह्रो हुने उनको बुझाइ छ।

स्वास्थ्यकर्मीले उच्च मनोवलसाथ आफ्नो कर्तव्य र दायित्व निर्वाह गर्नुपर्ने उनको बुझाइ छ। उनले सामाजिक दुरी कायम गरी सरसफाइमा ध्यान दिनुपर्ने र भाइरससम्बन्धी चेतता फैलाउने कामलाई तीव्रता सरकारलाई सुझाइन्।

कोरोना भाइरसको महामारीसँग लड््न अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा सामग्री (पिपिई), एन९५ मास्क, स्यानिटाइजर लगायतका सामग्रीको व्यवस्थापन गरी उनीहरूको मनोबल उच्च राखेर काम गर्न प्रेरित गर्नुपर्नेमा उनको जोड छ।

कोरोना महामारीविरुद्ध लड्न स्वास्थ्यकर्मी, सर्वसाधारण र सरकार सबै संयमित भई हातेमालो गर्दै अघि बढ्नुपर्ने उनको सुझाव छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय