झापाका ८० पत्रकारको कोरोना बिमा

पहिलो चरणमा झापाका ८० जना पत्रकारको कोरोना उपचार बिमा गरिएको छ। नेपाल पत्रकार महासंघ झापा शाखाले उनीहरूको बिमा गरिदिएको हो।

महासंले स्थापना गरेको  सहारा उपचार कोषमा  आवद्ध  पत्रकारको बिमा गरिएको अध्यक्ष तारामणि सापकोटाले बताए।

पेशागत बिमा संघ बिर्तामोड इन्स्युरेन्स प्रोफेसन सोसाइटी ( आइपीएस) मार्फत  पत्रकारको बिमा गरिएको हो।

पेशागत बिमा संघ बिर्तामोडका अध्यक्ष सन्तोष उप्रेतीलाई ८० पत्रकारको विवरणसहित रकम हस्तान्तरण गरेको उपचार कोषका संयोजक एकराज गिरीले बताए।

बिमा गरिएका पत्रकारमा कोरोना संक्रमण देखिए १ लाख रुपैयाँ बिमा कम्पनीले उपलब्ध गराउने छ।

दोस्रो चरणमा पत्रकार महासंघका अन्य सदस्य र जिल्लामा क्रियाशील पत्रकारको समेत बिमा गरिने महासंघले जनाएको छ। उक्त कोषमा ४५ लाख रुपैयाँ जम्मा छ। १ सय १ जना सदस्य रहेको उक्त कोष १ करोडको बनाउने लक्ष्य रहेको संयोजक गिरीले बताए।

यसैबीच,  नेपाल पत्रकार महासंघ प्रदेश-१ का सदस्य  तीर्थ सिग्देलले  झापाका  २० जना पत्रकारको कोरोना बिमा गरिदिने घोषणा गरेका छन्।

आज उनको  जन्मदिन हो। सोही अवसरमा उनले यस्तो घोषण गरेका हुन्।  उनले भने, ‘जन्मनुको सही अर्थ आफूले टेकेको धर्ती, समाज र देशप्रतिको कर्तव्य र जिम्मेवारी पूरा गर्नु पनि हो, त्यसैले व्यक्तिगत रूपमा  झापाका  २० जना पत्रकारको कोराना बिमा  गरिदिने घोषणा गर्दछु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय