कोभिड-१९ का आठ मृत्यु, लक्षण नै फरक कि, सुस्त परीक्षणको परिणाम?

जेठ २० : दैलेखको दुल्लु नगरपालिकामा पटांगिनीस्थित नेपाल विद्युत प्राधिकरणको भवनमा क्वारेनटाइनमा बसिरहेका सोही जिल्लाको खागितडाका ३५ वर्षे युवाको जेठ १७ मा मृत्यु भयो ।

आम रुपमा मानिदै आएको कोरोनाका लक्षण नदेखिएका उनी विहान ७ बजेतिर एक्कासी ढलेको तर तत्कालै मृत्यु भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले नै पुष्टि गर्यो । मृत्युपछि स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजटिभ देखियो ।

बाँके नरैनापुरको क्वारेन्टाइनमा रहेका २५ वर्षे युवाको दिपेन्द्र मावि, भोज भगवानपुरमा रहेको क्वारेन्टाइन जेठ ३ मा ज्यान गयो । मृत्युको क

वैशाख ३० गते भारत आएर क्वारेन्टाइनमा बसिरहेका उनलाई राती साडे तीन बजेतिरबाट वान्ता र ज्वरो देखियो । करिव ३ घण्टाकै बिचमा उनको प्राण गयो । उनको पनि कोरोना परिक्षणको रिपोर्ट आउँदा धेरै ढिला भइसकेको थियो ।

यी दुई घटनामा केही समानता छ ।

पहिलो २०१९ को डिसेम्बर अन्तिममा उहानबाट सुरु भएको कोरोनाले विश्वभर फन्को लगाएर ढिलागरी नेपाल आइपुग्दा सुरुदेखि भनिदै आएको लक्षण देखिएको छैन् ।

दोस्रो– तुलनात्मक रुपमा कम उमेरका उनीहरु दुबैमा लक्षण देखिएको छोटो समयमै मृत्यु र रिपोर्ट पछि आएको छ ।

त्यति मात्रै होइन् नेपालमा कोरोनाका कारणले भएका आठ मृत्युमध्ये ललितपुरका नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारामा बृद्धमा मिर्गौलाको र ललितपुरका किस्ट मेडिकल कलेजमा मृत्यु भएका एक जना कलेजोका बिरामी थिए । प्रमाणित रुपमा पहिलो मृत्यु भनिएकी महिला पनि ११ दिनको सुत्केरी थिइन् ।

संसारभर कोरोनाबाट मृत्युदर हेर्दा उमेर बढी भएका र अन्य खालका दीर्घरोग भएकाहरुमा मृत्युदर अधिक छ । तर नेपालमा २ वर्षकी बालिकादेखि मृत्यु भएका अधिकांश युवा छन् ।

यो सन्दर्भमा उपचारदेखि, तथ्यांक विश्लेषण, प्रयोगशाला परीक्षणका सन्दर्भमा पनि नजिकबाट नियालीरहेका आधा दर्जन विज्ञसँग हामीले छलफल गर्यौं । उनीहरुलाई हाम्रो पहिलो प्रश्न थियो – ‘कोभिड १९का आठ मृत्यु, लक्षण नै फरक कि, सुस्त परीक्षणको परिणाम ?’

नेपालमा कोरोनाबाट भएको मृत्यु भनिएकाहरुको पोजेटिभ नेगेटिभ मात्रै होइन् मृत्यको कारण (कज अफ डेथ) र भाइरसको सिक्वेन्सिङमा ध्यान गएको छैन् ।

रोगका लक्षण नै फेरियो त ?

संसारकै लागि नयाँ रोग भनिएपनि कोरोना भाइरस डिजिज (कोभिड १९) सन्दर्भमा ६१ लाख हाराहारीमा संक्रमण र ४ लाख हाराहारीमा मृत्युसँग सम्बन्धित तथ्यांक र नतिजा उपलब्ध छ ।

यो आधारमा सुरुका दिनमा साझा लक्षणको रुपमा हेरिएका सुख्खा खोकी, १००.४ भन्दा माथि ज्वरो र श्वासप्रश्वासमा समस्या हुन् । तर नेपालमा हालसम्म प्रमाणित भएका मध्ये ९९ प्रतिशत संक्रमितमा कुनै लक्षण छैन् ।

नेपालमा नरैनापुरका युवामा देखिएको वान्ता अन्य झाडापखाला, फुडपइजनिङ, वा हैजाले थियो कि कोरोना थियो भन्ने अध्यायन नै भएन् । त्यसैगरी दैलेखमा मृत्यु भएका युवा वा अर्घाखाँचीका युवाको मृत्युको अवस्थामा देखिएको तत्काल मृत्युको प्रमुख कारण नै कोरोना थियो कि कोरोना पनि देखिएको अवस्थामा अन्य कारणले चाँही मृत्यु भएको थियो भन्ने यकीन हुनै पाएन् ।

संक्रमित मात्रै होइन् मृत्यु भएका मध्ये पनि धरैमा प्रमुख लक्षण विश्वव्यापी रुपमा मानिएको तीनमध्येका लक्षण नरहेको चिकित्सकहरु बताउँछन् ।

टेकू अस्पतालका सरुवा रोग विशेषज्ञ एवं अनुसन्धानकर्ता डा. शेरबहादुर पुनः उहानबाट संसार फन्को लगाउँदै गर्दा रोगको लक्षणको सूची लम्बिदै गएको बताउँछन् । ‘युरोपमा बच्चाको नयाँ खालका समस्या देखियो, अमेरिकामा रगत जम्ने र मतिष्क प्रणालीमा समेत असर देखियो,’ डा. पुन थप्छन्, ‘सुन्ने र सुँध्ने क्षमता घट्ने लक्षण धेरै देशमा देखिइसकेको छ’

डा. पुनः अन्यत्र देशहरुमा प्राथमिकीकरणका आधारमा पछाडि परेको लक्षण हाम्रोमा पहिलो भएको हो कि भन्ने आशंका गर्छन् ।

केही क्लिनिसियानहरुले यस्तो मृत्युमा बेहोस् हुने कुरालाई कोरोनाका कारण हुने भनेर थपिएको लक्षण स्ट्रोक थियो कि भनेरसमेत प्रश्न उठाएका छन् ।

डा. पुन पनि विश्व स्वास्थ्य संगठन र अन्य देशले भन्दै आएको कोरोनामा ८० प्रतिशतमा सामान्य लक्षण हुने, १५ प्रतिशतमा विशेष केयर चाहिने र ५ प्रतिशत हाराहारी मृत्यु हुने भन्ने आंकडा र मापदण्ड नेपालको सन्दर्भमा नमिलेको बताउँछन् । ‘३ करोड जनसंख्या भएको देशमा ६० भन्दा बढी पिसिआर भइसकेको छ, र १ हजार ५ सय संक्रमितको नम्बर पनि सानो होइन्’ उनी थप्छन् ।

भाइरोलोजिस्टसमेत रहेका इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले भने कोरोनाका कारण मृत्यु भएकाहरुमा फरकफरक लक्षण देखिएपनि अधिकांशमा केही न केही अन्य समस्या पनि देखिएको बताए । ‘हाम्रोमा अधिकांश संक्रमितमा लक्षण पनि छैन्, मृत्यु भएकाहरु पनि अन्य केही न केही समस्या नै देखिएको छ’ डा. पाण्डे थप्छन् ।

विश्व स्वास्थ्य संगठनमा लामो समयसम्म काम गरेका माइक्रोवायोलोजिस्ट डा. प्रकाश घिमिरे भने

‘मृत्यु गराउँने सन्दर्भमा छोटो समयमै भएकोले हाम्रो भाइरसलाई कडा भन्न मिल्छ, तर संसारले मानेको आधारमा हेर्दा ९९ प्रतिशत केस एसिम्टमेटिक छ।’

परीक्षणको प्रभावकारिता
आठ मृत्युका घटनाको मात्रै विश्लेषण गर्दा बुटवलको क्रिमसन अस्पतालमा मृत्यु भएका गुल्मीका शिक्षकबाहेक कसैको पनि मृत्युअघि कोरोना रिपोर्ट आएन् । व्यत्तिगत रुपमा आफूलाई कोरोना लागेको थाहा नपाईकनै उनीले ज्यान गुमाए ।

न उनीहरुले समयमै तोकिएको मापदण्डअनुसार उपचार पाउने अवस्था बन्यो । कोरोनाका कारण श्वासप्रश्वासमा जटिलता उत्पन्न भएको अवस्थामा सामान्य अक्सिजन सपोटले पनि मृत्युदरलाई निकै कम गर्न सकिन्छ । त्यसमा पनि अन्य रोग नभएका र बढी उमेर नभएकाहरुमा अवस्या पनि अस्पतालका उपचारले ज्यान बचाउँन मद्दत गर्नसक्थ्यो । ‘मान्छे मरेको १० दिनपछिको रिपोर्टको के अर्थ ?’ उनी थप्छन् ।

त्रिवि शिक्षण अस्पतालमा उपचाररत मुटुको समस्या र निमोनियासमेत देखिइसकिएकी ५४ वर्षे महिला र काठमाडौं मेडिकल कलेजमा स्ट्रोकको विरामीका देखिइरहेको स्वास्थ्य सुधारले पनि जटिलता देखिएका संक्रमितहरुले उचित उपचार र हेरचाह पाएमा मृत्यु जित्नसक्छन् भन्ने देखाएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) संस्था संस्थाले परीक्षणमा जोड दिनुको दुई वटा अर्थ छ । पहिलो समयमै रोगको निदान भएर, आइसोलेसन र तत्काल उपचारका लागि । दोस्रो ‘व्वाइन्ट अफ इन्ट्रीबाट रोगको प्रवेश रोक्नका लागि हो ।

यी दुबै कुराका लागि तत्काल रिपोर्ट दिनुको अर्थ हुन्छ ।

‘ज्यान जोगाउँनका लागि काम नलाग्ने रिपोर्ट मृत्युपछि के काम ?’ उनी भन्छन् । घिमिरे विशेषगरी भारतबाट नेपाल प्रवेश गर्ने नाकाहरुमै स्वाब संकलन गरेर सिधै परिवार र स्थानीय सरकारको जिम्मामा छाड्ने र भाइरस देखिएमा मात्रै अब्जरभेसन र उपचारको अवस्थामा ल्याउनुपर्ने हो । ‘३ मिटरको दुरी, सरसफाई, भिन्न शौचालय, स्वास्थ्यकर्मीको निगरानी नभएका ठाउँ क्वारेन्टाइन स्थल होइन प्वाइन्ट अफ कन्सन्टेसन बनेका छन्’ घिमिरेले भने ।

नाकामा र लक्षणका आधारमा परीक्षणले अस्पताल संक्रमित देखिँदैमा सिल गर्नुपर्ने अवस्थाको पनि अन्त्य हुने र अन्य रोगका विरामीले उपचार पाउँने परिस्थिति सृजना गर्न सकिने बताउँछन् ।

अर्कोतिर सरकारले परीक्षणको दायरा र प्राथमिकीकरण पनि गर्न नसकेको विज्ञहरु बताउँछन् । केही विज्ञहरु भने अब लक्षण नै नदेखिएकालाई परीक्षणमा जोड दिन नपर्ने र आवश्यकलाई तत्काल परीक्षण गर्ने र उपचारमा ध्यान दिनुपर्ने बताउँछन् । डा. पुनले भने, लक्षण नदेखिएपनि ५० प्रतिशत रोग सार्नसक्ने भएकोले सबै खालका सावधानीमा जोड दिन्छन् ।

‘हाम्रोमा अधिकांश संक्रमितमा लक्षण पनि छैन्, मृत्यु भएकाहरु पनि अन्य केही न केही समस्या नै देखिएको छ’

न भाइरस न मृत्युको विश्लेषण

नेपालमा कोरोनाबाट भएको मृत्यु भनिएकाहरुको पोजेटिभ नेगेटिभ मात्रै होइन् मृत्यको कारण (कज अफ डेथ) र भाइरसको सिक्वेन्सिङमा ध्यान गएको छैन् ।

उमेर र दीर्घरोगका आधारमा ५९ वर्षे ललितपुरका कलेजोका बिरामी र नेशनल मेडिकल कलेजमा ज्यान गुमाएका ७१ वर्षे मिर्गौलाका बिरामीबाहेक अरु उमेर, दीर्घरोग नदेखिएको अवस्थामा झन् यो कुरामा ध्यान पुरर्याउँनुपर्ने विज्ञहरु बताउँछन् । ‘भाइरसका सन्दर्भमा पनि यसको जटिलता र मृत्युको विषयमा पनि आफ्नै तथ्य र प्रमाण चाहिन्छ’ डा. पुन भन्छन्, ‘त्यसका लागि पोष्टमार्टम अनिवार्य हुनसक्छ’

चिकित्सकहरुका अनुसार मृत्यु भएकाहरुको पनि पोस्टमार्टम गरेर मल्टि अर्गान फेलियोर थियो कि थिएन, फोक्सोको एक्सरे, सिटी गरेर निमोनिया थियो कि थिएन हेरेपछि मात्रै कोभिडका कारणले मृत्यु भए नभएको भन्न सकिन्छ ।

डा. घिमिरे पनि मृत्युको वास्तविक कारण पत्ता लगाउँनमा ध्यान दिन ढिला गर्नृ नहुनेमा सहमत छन् । ‘पहिलो मृत्यु भएको भनिएकी महिलाको सुत्केरीपछिको रक्तश्राब –पोस्ट पार्टम हेमरेज) थियो कि थिएन, २ बर्षको बच्चामा कुपोषण पो थियो कि, नरैनापुरका युवा कोरोनाले मरे कि क्वारेनटाइनमा दिएको खानाका कारणले हैजा भएर मरे ?’ घिमिरे थप्छन्, ‘जटि ठूलो महामारीसँग लड्नु छ त्यति धेरै इभिडेन्ट चाहिन्छ, त्यसका लागि अनुसन्धानमै जोड दिनुपर्छ’ ।

डा. पुनले आफ्नो विशेष अवस्थाको अध्यायन गरेर अन्यत्र भनिएजस्तै लक्षण खोजेर बस्दा भाइरसले झुक्याउँनसक्ने तर्फ सचेत गराए ।

‘ज्वरो, श्वासप्रश्वास, सुख्खा खोकीबाहेक अरु नै लक्षण पो प्रमुख हो कि! ’ उनी थप्छन, ‘मृत्यु गराउँने सन्दर्भमा छोटो समयमै भएकोले हाम्रो भाइरसलाई कडा भन्न मिल्छ, तर संसारले मानेको आधारमा हेर्दा ९९ प्रतिशत केस एसिम्टमेटिक छ।’ पुनले थपे, ‘हाम्रो आफ्नै एनालाइसिस गर्न सके संसारलाई हाम्रोमा यस्तो भन्ने आधार जुट्छ।’

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय