संक्रमितको आशंकामा नगरपालिकाले रातो झण्डा गाड्यो, सर्वत्र विरोध

बिर्तामोड नगरपालिकाले कोरोना भाइरस संक्रमित बसेको हुनसक्ने आशंका गरिएका घरमा रातो झण्डा गाडेपछि त्यसको सर्वत्र विरोध भएको छ।

नगरका २० घरमा त्यस्तो झण्डा गाडिएपछि यतिबेला उक्त कार्यको चर्को विरोध भइरहेको छ। सामाजिक सद्भाव र एकता नै खल्बलिने काममा स्वयं नगरपालिका उद्धत हुनु दुर्भाग्यपूर्ण भएको सम्बन्धित घरधनी बताउँछन्। नगरपालिकाका २० घरमा रातो झण्डा राखिएको नगर सदस्य ढाँचाराम कडरिया (डिआर) ले बताए।

पछिल्लो पटक बिर्तामोड नगरपालिका वडा ५ को एक घरमा रातो झण्डा राखेपछि सरोकारवालाले चासो व्यक्त गरेका हुन्। खतराको संकेतका रूपमा उक्त वडाका दुईटा घरमा रातो झण्डा राखिएको सदस्य कडरियाले बताए। बिर्तामोड–४ को ३ घरमा रातो झण्डा राखिएको छ। विदेशबाट आएकाहरू सार्वजनिक क्वारेन्टाइनमा नगई घरमै बसेको अवस्थामा होम क्वारेन्टाइनको संकेतका रूपमा रातो झण्डा राखिएको नगरपालिकाको प्रष्टिकरण छ।

दुई दिनअघि भारतबाट आएका एक व्यक्ति क्वारेन्टाइनमा नगई घरमा गएपछि संकेतका रूपमा रातो झण्डा राख्नुपरेको ५ नम्बर वडा कार्यालयको जिकिर छ।

नगरपालिकालाई तत्काल रातो झण्डाको विकल्प खोज्न मानव अधिकारवादीले सुझाव दिएका छन्। बिर्तामोड नगरपालिकामा सुरु गरेको उक्त अभियान मानव अधिकारको विश्वव्यापी सिद्धान्त र सामाजिक न्यायको दृष्टिकोण विपरीत भएको राष्ट्रिय मानव अधिकार प्रतिष्ठानका केन्द्रीय सदस्य डा. रुपक खनालले बताए।

उनले भिडियो कन्फ्रेन्समार्फत सामाजिक विभेद र बहिष्कारको वातावरण अन्त्य गर्न नगरपालिका नेतृत्वलाई सुझाए। मानव अधिकार सञ्जाल झापाका अध्यक्ष विष्णु खरेलले नगरपालिकाको उक्त कार्य अन्तर्राष्ट्रिय मानव अधिकार कानुन र नेपालको संविधानमा व्यवस्था भएको मानव अधिकारसम्बन्धी हक विपरीत भएको बताए। उनले व्यक्तिगत गोपनीयताको हकको रक्षा गर्न नगरपालिका चुकेको जनाए। आशंकाकै भरमा कोही पनि व्यक्ति र उसको परिवारको सदस्य विभेद र सामाजिक अपहेलनाबाट पीडित हुन नहुने संवैधानिक व्यवस्था छ।

तर, नगरपालिकाले यसको ख्याल नै नगरी सार्वजनिक रूपमा रातो झण्डा राखेपछि त्यसको विरोध भएको हो। भौतिक दूरी कायम गराउन, छिः छिः दुरदुर नगर्न, एकअर्कामा माया र सद्भाव बाँड्दै, कोरोनाबाट बच्नु र बचाउनुपर्ने समयमा नगरपालिकाले सार्वजनिक रूपमा संकेत गरेर आफूहरूलाई मानसिक तनाव दिएको झण्डा राखिएका घरका सदस्यहरूको गुनासो छ।

बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महातरा प्रसाईंले त्यसको विकल्प खोजिने बताइन्। उनले अधिकारवादीसँगको छलफलमा त्यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन्। नियतवश रातो झण्डा नराखिएको र त्यसलाई हटाउने उनले जनाइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय