बाँके दुर्घटनामा ज्यान गुमाए सबैको पिसिआर रिपोर्ट नेगेटिभ

बाँकेमा सोमबार १२ जनाको ज्यान जाने गरी भएको दुर्घटना परेका सबैको कोरोना परीक्षण रिपोर्ट नेटिभ आएको छ। दुर्घटनामा परेका सबै जना भारतबाट आएका भएकाले सबैको पिसिआर परीक्षण गरिएको थियो।

दुर्घटनामा परेका ३३ जनाकै रिपोर्ट नेगेटिभ आएको भेरी अस्पताल नेपालगन्जले जनाएको छ। जसमध्ये १२ जनाको ज्यान गएको थियो। घाइते मध्ये ४ जनाको अवस्था गम्भीर छ।

यस्तै दुर्घटनामा मृत्यु भएकामध्ये ११ जनाको नाम खुलेको छ भने एक जनाको नाम अझै खुल्न सकेको छैन। नाम पहिचान भएका मृतकहरूको ठेगाना भने अझै खुल्न सकेको छैन।

उनीहरूको ठेगाना पत्ता लगाएर घरका मान्छेसँग सम्पर्क गर्ने प्रयास भइरहेको बाँके प्रहरीले जनाएको छ। अहिलेसम्म पहिचान भएका मृतकहरू बुद्धिराम बिक, भीमबहादुर बिक, दिलबहादुर बिक, नरेन्द्र बिक, मोहनचन्द्र बिक, रामबहादुर पुन, पुर्णबहादुर पुन, सीता पुन, दानबहादुर खड्का, पवन भण्डारी र रितेश खड्का रहेका छन्।

घाइते सबैको पहिचान खुल्यो

बाँकेको राप्तीसोनारी गाउँपालिका–२ ठुरिया जङ्गलमा गएराति भएको गाडी दुर्घटनाका घाइतेको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार दुर्घटनामा घाइते २१ मध्ये २० जनाको पहिचान खुलेको हो। दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको भेरी अस्पताल नेपागलञ्जमा उपचार भइरहेको छ। दुर्घटनामा परेका सबै भारतबाट आएको प्रहरीले जनाएको छ। घाइते हुनेमा सबैभन्दा धेरै सल्यान जिल्लाका छन्।

घाइते हुनेमा सल्यान शारदा नगरपालिका–६ कजेरीकी २९ वर्षीया टीका चलाउने, बनगाड कुपिन्डे नगरपालिका–६ घाँजरीका २० वर्षीय मीनराज विक र ५२ वर्षीय दीपबहादुर बुढा रहेका छन्। त्यस्तै सल्यान सिद्धकुमाख गाउँपालिका–५ छापडाँडाका १८ वर्षीय धनबहादुर बोहरा, २६ वर्षीय निमबहादुर वली, दहका ४० वर्षीय तेजबहादुर बुढाथोकी, १८ वर्षीय देवेन्द्र खड्का, १७ वर्षीय ज्ञानबहादुर बोहरा, वडा नम्बर ४ चाँदेका २८ वर्षीय लोकेश घर्ती र २६ वर्षीय शिव भण्डारी रहेका छन् भने एक जनाको नाम र ठेगाना खुलेको छैन।

त्यस्तै दाङ घोराही उपमहानगरपालिका–५ धर्नाका ४५ मेघराज केसी, राजपुर गाउँपालिका–६ ग्रामीखोलाका २० वर्षीय दीपेश चौधरी, राजपुर गाउँपालिका–२ रैनियाका २१ वर्षीय जीवन घर्ती, गढवा गाउँपालिका–६ भानपुरका २० वर्षीय भरत थापा, तुलसीपुर उपमहानगरपालिका–२ खैरीकोटका ३९ वर्षीया विष्णु गिरी र २३ वर्षीय रुपलाल केसी घाइते भएका छन्।

यसैगरी घाइते हुनेमा रोल्पाको त्रिवेणी गाउँपालिका–७ का १७ वर्षीय सुनिल परियार, २० वर्षीय वीरेन्द्र परियार, १८ वर्षीय पुरन परियार, टुटुका ४० वर्षीय दिलबहादुर विक र दुईखोली गाउँपालिकाका कुरेलीका ५२ वर्षीय नरबहादुर विक रहेका छन्।

नेपालगञ्जबाट सल्यान जाँदै गरेको ना५ख ५९९५ नम्बरको फोर्स गाडी राप्तीसोनारी गाउँपालिका–१ अगैया नजिकै पूर्वपश्चिम राजमार्गको ठुरिया जङ्गलमा रोकिराखेको बा४ख ९०६४ नम्बरको ट्रकमा ठोक्किँदा गएराति १२ जनाको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय