लकडाउनमा ३० मातृमृत्यु, अस्पताल पुगेरै पनि जोगिएन २८ को ज्यान

जेठ १९ : सप्तरी कञ्चनरुप–११ ठेलिया गोरपारकी २४ वर्षीया गर्भवती महिलाको जेठ १३ मंगलबार घरमै मृत्यु भयो। १८ हप्ताकी ती गर्भवती महिलालाई कोरोना भाइरसका लक्षणमा पर्ने ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या देखिएपछि स्वास्थ्यकर्मीले होम क्वारेन्टाइनमा बस्न भन्दै पठाएका थिए।

गर्भवती अवस्थामा १० दिनदेखि ज्वरो आएकी ती महिलामा श्वासप्रश्वास समस्या बढेसँगै राजविराज ल्याउँदै गर्दा बाटोमै ज्यान गयो। केही दिनअघि मात्रै स्थानीय चिकित्सकले पिसाबको संक्रमण भन्दै औषधी दिएपछि उनी ‘मेडिकेसन’ मा थिइन्। पछि उनको कोरोनाको रिपोर्ट नेगेटिभ आयो।

संवेदनशील मानिने प्रसूति अवस्थामा यति लामो समयसम्म जटिलता उत्पन्न हुँदा उपचार नपाएकै कारण उनको ज्यान गएको चिकित्सकहरू बताउँछन्।

लामो व्यथाका कारण स्वास्थ्य जटिलता उत्पन्न भएपछि उपचारका लागि हेलिकप्टरबाट उद्दार गरेर प्रसूति गृहसम्म ल्याइपुर्याउँदा पनि खाँदबारी नगरपालिका–६ की गंगा कार्कीको जीवनरक्षा हुन सकेन।

सुत्केरीजन्य जटिलताका कारण चैतदेखि नै खाँदबारी अस्पताल, नोबल अस्पताल विराटनगरसम्म चक्कर लगाएकी गंगाको अन्तिम अवस्थामा हेलिकप्टरबाट उद्दार भए पनि उपचारलाई धेरै ढिलाइ भइसकेको थियो।

यी प्रतिनिधि उदाहरणमात्रै हुन्। सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन सुरु गर्दै गर्दा कोरोनाबाहेकका अत्यावश्यक स्वास्थ्य सेवाको सुनिश्चितताका लागि भरपर्दो तयारी नगर्दा यस्ता घटना दिनानुदिन बढिरहेका छन्।

महाशाखाको तथ्यांकअनुसार चैत ११ देखि लकडाउन सुरु भएसँगै यो अवधिमा ३० जना गर्भवती/सुत्केरीको मृत्यु भएको छ। अधिकांश घटनामा नवजातको मृत्युसमेत भएको छ।

लकडाउनका समयमा स्वास्थ्य यातायात अभावले स्वास्थ्य संस्था पुर्याउन हुने ढिलाइसँगै उपचारमा सिर्जित असहज अवस्था, गर्भावस्थाको नियमित जाँच (एएनसी) उल्लेख्य रूपमा घट्दा मातृमृत्यु बढेको विज्ञहरू बताउँछन्।

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाको तथ्यांकअनुसार चैत ११ देखि लकडाउन सुरु भएसँगै यो अवधिमा ३० जना गर्भवती/सुत्केरीको मृत्यु भएको छ। अधिकांश घटनामा नवजातको मृत्युसमेत भएको छ।

वर्षभरमा ८० हाराहारीमा मातृ हुन्छ। सामान्य अवस्थामा अधिकांश मृत्यु घरमै हुने गरेको यो अवस्थामा अधिकांश मृत्यु स्वास्थ्य संस्थामा भएका छन्। कतिपय चिकित्सकहरूले प्रत्यक्ष रूपमा टिप्पणी गर्न अस्वीकार गरे पनि उपचारमा उत्पन्न समस्याका कारण पनि मातृमृत्यु बढेको आशंका गरेका छन्।

स्वास्थ्यकर्मी तथा चिकित्सकलाई व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) मा सहज पहुँच नहुनु र पिसिआर परीक्षणबिना उपचारमा सरिक हुनलाई त्रासका कारणले पनि केही महिलाको ज्यान गएको हो कि भन्ने आशंका महाशाखाका अधिकारीहरूको छ।

महाशाखाका निर्देशक डा. भीमसिंह तिङ्करीले यो अवधिमा भएका मातृमृत्युको विशेष रूपमा अध्ययन गर्नुपर्ने देखिएको बताए। ‘अधिकांश मृत्यु ठूला संस्थामै भएका छन्, स्वास्थ्य संस्थामा आइपुग्न ढिला भएको मात्रै हो कि अरु पनि छन् सबैको अध्यायन गर्नुपर्छ,’ उनले भने।

यसरी मृत्यु भएकामध्ये दुई जनाको मात्रै घरमै र बाँकी २८ को स्वास्थ्य संस्थामा मृत्यु भएको छ।

तीमध्ये पनि सबैभन्दा बढी कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ५, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ४, रूपन्देहीको भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा ३ र परोपकार प्रसूति अस्पतालमा २ जनाको मृत्यु भएको छ। केन्द्रीय राजधानीभित्रै त्रिवि शिक्षण, हेल्पिङ ह्यान्ड, प्रसूति गृृहमा पनि महिलाको ज्यान गएको छ।

मातृदर कम गर्नका लागि सरकारले विभिन्न कार्यक्रम संचालन गर्दै आएको छ। गर्भावस्था, सुत्केरी र सुत्केरीपछिका ४२ दिनभित्र दुर्घटना, हिंसाबाट हुनेबाहेकका मृत्युलाई मातृमृत्युमा गनिन्छ।

महाशाखाका पूर्व निर्देशक एवं जनस्वास्थ्य विज्ञ डा. नरेशप्रताप केसीका अनुसार आमाहरूको मृत्यु स्वास्थ्य संस्थामै पुगेर हुनुमा ‘ढिलाइ’ प्रमुख कारण हुनसक्ने बताए। ‘धेरै प्रकारका डिलेहरू हुनसक्छन् जसका कारण महिलाहरू समयमै अस्पताल पुग्न पाएनन् र ढिलागरी पुग्दा पनि बचाउन सकिएन,’ उनले भने।

‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीहरूलाई पनि गर्भवती र नवजात शिशुप्रति विशेष सावधानीका लागि छुट्टै निर्देशन जानुपर्ने हो,’ उनले भने।

कार्यक्रममा प्राथमिकता, व्यवहारमा बेवास्ता
महामारीसँगै सुरु भएको लकडाउनको विशेष प्रतिकूल परिस्थितिमा आमसुरक्षाका लागि विशेष ध्यान दिनुपर्नेमा त्यो हुन नसकेकै कारण मातृमृत्यु बढेको विज्ञहरू बताउँछन्।

डा. केसीले बजेटको अभाव नरहेको, पर्याप्त प्राथमिकता पनि दिइएको विषय भए पनि उच्च सावधानी अभावले यस्तो अवस्था आएको बताए। ‘महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य चौकीहरूलाई पनि गर्भवती र नवजात शिशुप्रति विशेष सावधानीका लागि छुट्टै निर्देशन जानुपर्ने हो,’ उनले भने।

महाशाखाकी मातृ तथा प्रजनन् स्वास्थ्य शाखा प्रमुख डा. पुण्या पौडेलले भने लकडाउनको समयमा अस्पताल लैजान भएको ढिलाइले मोटालिटी र मोबिडिटी दुवै बढेको बताइन्।

उनले सरकारले आमा सुरक्षाका लागि अन्तरिम निर्देशिका नै बनाएर स्वास्थ्य संस्थाहरूमा पठाइसकेको समेत जानकारी दिइन्। ‘मातृ सुरक्षा, किशोरकिशोरी स्वास्थ्य, गर्भावस्थाको जाँच कसरी गर्ने भनेर गाइडलाइन नै बनाएर पठाएका छौं,’ उनले भनिन्।

सरकारले प्रत्येक वर्ष आमा सुरक्षा कार्यक्रमको नाममा डेढ अबभन्दा बढी खर्च गर्दै आएको छ। सहस्राब्दी लक्ष्य (एमडिजी) र हालका दिगो विकास लक्ष्य (एसडिजी) देखि नेपाल सरकारका कार्यक्रम नीति र रणनीतिले पनि मातृमृत्युदर घटाउने लक्ष्यलाई प्राथमिकतामा राखेको छ।

नेपाल जनसांख्यिक स्वास्थ्य सर्वेक्षण (एनडिएचएस) २०१६ अनुसार नेपालमा प्रतिलाख जीवित जन्ममा २३९ मातृमृत्यु हुन्छ। जसलाई सरकारले २०८० सम्ममा ८० मा झार्ने लक्ष्य लिएको छ। दिगो विकास लक्ष्यअनुसार मातृ मृत्युदर प्रतिलाख जीवित जन्ममा ७० मा झार्नुपर्नेछ।

त्यसकै लागि सरकारले बजेटमा पनि आमा सुरक्षाका लागि विशेष प्राथमिकतामा राखेको थियो। सरकारले २०६५ देखि स्वास्थ्य संस्थामा सुत्केरी सेवा निःशुल्क गर्दै आएको छ। यस्तो सेवा दिँदा स्वास्थ्य संस्थाले सेवाका आधारमा अनुदान पाउँछन्।

गर्भावस्थामा आइरन चक्की, वितरण कम्तीमा चार पटक गर्भको परीक्षण (एएनसी), स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा तराईमा १, पहाडमा २ र हिमालमा ३ हजार यातायात भत्ता, चार पटक गर्भजाँचपछि प्रोत्साहन भत्ता, नवजात शिशुका लागि न्यानो झोलालगायतका कार्यक्रम सञ्चालित छन्।

लकडाउन अवधिका मातृमृत्यु
मृत्यु भएको ठाउँ                                               संख्या
अछाम (घरैमा)                                                     १
बारा                                                                     १
गौर अस्पताल रौतहट                                           १
हेल्पिङ ह्यान्ड अस्पताल                                        १
सप्तरी (घरमै)                                                      १
कलैया अस्पताल                                                  १
त्रिवि शिक्षण                                                          १
कालिकोट                                                             १
मेथिनकोट अस्पताल                                             १
पाँचथर अस्पताल, (जेठ ७)                                   १
धुलिखेल अस्पताल, (जेठ ४)                                 १
चितवन मेडिकल कलेज,  (जेठ १ )                        १
पोखरा प्रतिष्ठान, (वैशाख २४ )                              १
प्रसूति गृह, (जेठ १)                                              २
कपिलवस्तु अस्पताल, (वैशाख ३०)                      २
बयालपाटा अस्पताल, (वैशाख ३०)                       १
भैरहवा मेडिकल कलेज                                        ३
विपी केआइएसएच धरान                                      ४
कोहलपुर मेडिकल कलेज                                    ५
कुल ३०

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय