मेची अञ्चल अस्पताललाई कोरोना अस्पताल बनाउन जुट्यो सहमति

मेची अञ्चल अस्पतालको निर्माणाधीन भवनलाई कोरोना उपचार अस्पताल बनाउने कि नबनाउने भन्ने विवाद अन्तत सुल्झेको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तोकेको मापदण्ड अनुसार अस्पताल बनाउने सहमति जुटेसँगै विवाद समाधान भएको हो। स्थानीय, मेची अञ्चल अस्पताल विकास समिति, सरोकारवाला निकाय र असन्तुष्ट पक्षबीच आज अस्पताल बनाउने सहमति जुटेको हो।

जनस्तरबाट उठेको विवाद साम्य भएसँगै निर्माणाधीन भवनमा कोरोना अस्पताल बन्ने निश्चित भएको छ।

निर्माणाधीन भवनमा कोरोना अस्पताल बनाउँदा वरिपरी संक्रमण फैलिने जनस्तरबाट आवज उठेको थियो। मेची अस्पतालबाट विपन्न परिवारले लिने सेवामा कुनै कमि हुन नदिने, अस्पतालको रेखदेख गर्न नेपाली सेनालाई जिम्मा दिने, मेची अञ्चल अस्पतालको सेवामा कमी हुन नदिने लगायत विषयमा सहमति भएको अस्पताल सरोकार समाजका संयोजक भक्त खवासले बताए। अस्पतालको विषयलाई राजनीतिकरण गर्ने पक्षले माफी मागेपछि सहमति भएको काङ्ग्रेस झापा जिल्ला सदस्य तोया गड्तौलाले बताए।

पार्टी नेता कृष्णप्रसाद सिटौलालाई समेत विवादमा तान्ने काम गरेपछि आफूहरू प्रतिरक्षात्मक रुपमा प्रस्तुत हुनु परेको गड्तौला बताउँछन्। उनले सत्ता पक्षले स्थानीयसँग छलफल नै नगरी जबर्जस्ति पेलेकाले विवाद भएको दाबी गरे ।

कोरोना भाइरस संक्रमण रोकथाम, उपचार तथा नियन्त्रण समितिले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार केन्द्र र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षणको प्रयोगशाला बनाउन निर्णय गरेको थियो।

सो समितिले स्थानीयस्तरमा छलफल नगरी एकलौटी ढङ्गले निर्णय गरेपछि अस्पताल आसपासका स्थानीयले त्यसको विरोध गरेका थिए। विरोधमा उत्रिएका स्थानीयले अस्पताल सरोकार समाज गठन गरेका थिए।

भद्रपुरमै कोरोना अस्पताल बनाउनुको विकल्प नरहेको बताउँदै संयोजक खवासले मेचीको निर्माणाधीन भवन बाहेक अन्य उपयुक्त स्थानमा बनाउनु पर्छ भन्ने आवाजलाई बेवास्ता गर्दा विवाद भएको बताए।

‘कोरोना अस्पतालले कहिलेसम्म पूर्णता पाउँछ, हेर्न बाँकी नै छ,’ स्थानीयबासी समेत रहेका काङ्ग्रेस केन्द्रीय सदस्य भारतेन्दुकुमार मल्लिकले भने, ‘कोरोना अस्पताल झापाबासीका लागि आवश्यक छ, यो भद्रपुरमै बन्नुपर्छ। तर कोरोना अस्पतालको कारण मेची अस्पतालमा सेवा लिन आउने विपन्न परिवार बञ्चित हुनु हुँदैन।’

भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्कीले अधुरो भवनमा कोरोना अस्पताल बनाउँदा वरिपरि संक्रमण फैलिने सम्भावना देखेर नै जनस्तरबाटै आवाज उठेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय