डा. अन्जु कार्कीको सुझाव- रोगप्रतिरोधी क्षमता बढाउन आयुर्वेद

अंगदबहादुर सिंह/काठमाडौं
प्रकाशित
२०७७ जेठ १९ गते १३:०३

विश्वभर कोरोना भाइरसको संक्रमण महामारीका रूपमा फैलिइरहेको छ। विश्वका वैज्ञानिक र विज्ञहरू भाइरसविरुद्धको औषधी र खोपको विकासमा तल्लिन छन्। तर जति नै मिहिनेत गरे पनि अहिलेसम्म भाइरसको नियन्त्रण तथा रोकथाम गर्ने कुनै औषधी तथा खोपको विकास भइसकेको छैन।

विश्वभरको अहिलेसम्मको तथ्य तथ्यांक हेर्दा अस्वस्थ तथा स्वास्थ्य अवस्था कमजोर भएकामा कोरोना भाइरसको संक्रमण जोखिम बढी रहेको पाइएको छ। रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता कम हुँदै गएपछि कोरोना संक्रमणको जोखिम बढ्दै जाने तथ्य पुष्टि भएको छ।

कोरोना भाइरसको औषधी विकास नहुन्जेलसम्म रोगसँग लड्न आयुर्वेदिक औषधीको प्रयोग गरी प्रतिरोधात्मक क्षमता बढाउनुपर्नेमा जोड दिन्छिन् वागमती प्रदेश आयुर्वेद औषधालयकी प्रमुख डा.अन्जु कार्की।

तुलसी, गुर्जो, अमला, असुरो, मरिच, बेसारलगायत थुप्रै घरेलु चिजले रोगसँग लड्नसक्ने क्षमताको विकास गर्ने उनले बताइन्। उनका अनुसार यसको नियमित सेवनसँगै शारीरिक व्यायाम र सन्तुलित भोजनसमेत अनिवार्य रहन्छ।

‘आफू स्वस्थ तथा रोगसँग लड्नसक्ने क्षमतामा बलियो भए रोग तथा कुनै पनि संक्रमणले छुन सक्दैन। प्रतिरोधात्मक क्षमता बढाई संक्रमण जित्न सकिन्छ,’ डा. कार्की भन्छिन्, ‘आयुर्वेदिक औषधी सेवन गरौं इम्युनिटी पावर बढाऔं।’

कोरोना भाइरसको औषधी विकास नहुँदासम्म आयुर्वेदिक औषधीको प्रयोग गरी स्वस्थ रहने प्रयास गर्नुपर्नेमा उनको जोड छ। आयुर्वेदिक औषधीमा गाउँघरमै पाइने तुलसी, गुर्जो, अमला, असुरो, मरिच तथा बेसारको नियमित प्रयोगले मानिसमा रोगसँग लड्ने क्षमता विकास गर्छ र त्यसले संक्रमण हुनबाट बचाउने डा. कार्कीको दाबी छ।

आयुर्वेदिक औषधीले कोरोना भाइरसको संक्रमण निको पार्ने नभए पनि केही हदसम्म बचाउने उनको भनाइ छ। ‘आयुर्वेदिक औषधीले कोरोना भाइरसको संक्रमण निको पार्छ भन्ने होइन तर केही हदसम्म संक्रमणबाट बच्न शरीरलाई इम्युनिटी पावर दिन्छ,’ उनी भन्छिन्।

तुलसी, गुर्जो, अमला, असुरो, मरिच, बेसारलगायत थुप्रै घरेलु चिजले रोगसँग लड्नसक्ने क्षमताको विकास गर्ने उनले बताइन्। उनका अनुसार यसको नियमित सेवनसँगै शारीरिक व्यायाम र सन्तुलित भोजनसमेत अनिवार्य रहन्छ।

वागमती अञ्चल आयुर्वेद औषधालयले कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला रोगसँग लड्ने प्रतिरोधात्मक क्षमताको विकासका लागि काम गरिरहेको जनाएको छ। औषधालयले क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई आयुर्वेद तथा घरेलु औषधीको वितरण गरिरहेको छ।

‘आयुर्वेदिक औषधीको वितरणका लागि प्रत्येक स्थानीय तहसँग समन्वय गरिरहेका छौं। छिट्टै क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई औषधी वितरण गर्छौं,’ उनले भनिन्, ‘अहिले वागमती अञ्चल आयुर्वेद ‌औषधालयबाटै औषधी वितरण भइरहेको छ।’

‘आयुर्वेदिक औषधीको वितरणका लागि प्रत्येक स्थानीय तहसँग समन्वय गरिरहेका छौं। छिट्टै क्वारेन्टाइनमा रहेका सर्वसाधारणलाई औषधी वितरण गर्छौं,’ उनले भनिन्, ‘अहिले वागमती अञ्चल आयुर्वेद ‌औषधालयबाटै औषधी वितरण भइरहेको छ।’

उपत्यका बाहिर आयुर्वेदिक औषधीको वितरण सुरु गरिसकेको भए पनि क्वारेन्टाइनमा सर्वसाधारण नभएकाले उपत्यकाभित्र आयुर्वेदिक औषधी वितरण गर्न नसकेको डा. कार्कीले बताइन्।

आयुर्वेद औषधालयले चाहेर मात्रै नहुने भएकाले यसका लागि प्रदेश सरकारको सहमति, क्वारेन्टाइनमा रहेका सर्वसाधारणको सहमति र स्वास्थ्य कार्यालयहरूसँग समन्वय र सहकार्य गरी काम गर्नुपर्ने हुँदा केही ढिलाइ भइरहेको उनको भनाइ छ।

क्वारेन्टाइनमा रहेका सर्वसाधारण तथा अन्य आयुर्वेदिक औषधीका सेवनकर्ताहरूको स्वास्थ्य अवस्थामा आएको परिवर्तनपछि आयुर्वेदिक क्षेत्रको विकासमा थप काम गर्ने उनले जानकारी दिइन्।

‘पछिल्लो समय नेपालमा आयुर्वेदिक औषधीका प्रयोगकर्ता बढिरहेका छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो हो। बिरामीलाई औषधी दिएपछि उनीहरूको स्वास्थ्यमा भएको परिवर्तनका आधारमा आयुर्वेदिक औषधीका बारेमा थप अध्ययन अनुसन्धान अघि बढ्छ,’ आयुर्वेदिक चिकित्सक कार्कीले भनिन्।

आयुर्वेदिक औषधीहरू स्वास्थ्य अवस्था कमजोर भएकाले मात्रै सेवन नगरी स्वस्थ मानिसले सेवन गर्दा समेत फाइदा पुग्ने उनको दाबी छ। ‘आयुर्वेदिक औषधीले जोसुकैलाई पनि सधैं स्वस्थ, जवान र तन्दुुरुस्त बनाइराख्छ, यसको सेवन स्वास्थ्यका लागि फाइदाजनक छ,’ उनले भनिन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय