क्वारेन्टाइनबाट फैलिँदै कोरोना

प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ सय १५ पुगिसकेको छ। हरेकदिन थपिने कोरोना संक्रमितको संख्यामा प्रदेश २ को आठ जिल्लाको ठूलो हिस्सा हुन्छ।

प्रदेश २ मा अहिलेसम्म संक्रमण देखिएकाहरू केहीबाहेक अधिकांश भारतबाट आएका हुन्। कोही लुकिछिपी भारतबाट आएका छन् भने कतिपय नाकाहुँदै आधिकारिक रुपले। लुकिछिपी आएपनि स्थानीयको सहयोगमा सबैलाई क्वारेन्टाइनमा राखिएको छ। साथै नाकाहुँदै आएकाहरू पनि क्वारेन्टाइनमा छन्।

प्रदेश २ को ८ जिल्लाका विभिन्न स्थानीय २५ हजार ३२२ बेड क्षमताको ३ सय ७१ क्वारेन्टाइन स्थापना गरिएको छ। जसमध्ये अहिले २० हजार ९९३ जना क्वारेन्टाइनमा छन्। कतिपय जिल्लामा बेड संख्याभन्दा बढी मानिसहरू क्वारेन्टाइनमा रहेपनि कसैले अनुमगन गरेको छैन। न्यूनतम मापदण्डसमेत पूरा नगरिएपछि क्वारेन्टाइनबाटै कोरोना संक्रमणको जोखिम बढेर गएको छ।

आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ स्थित गोपालधर्मशालामा उपमहानगरले सञ्चालन गरेको क्वारेन्टाइनका ९ र धनुषाकै मुखियापट्टी मुसहरनिया गाउँपालिकाको क्वारेन्टाइनका ११ जनामा कोरोना पुष्टि भएको छ।

केही दिनअघि धनुषाकै लक्ष्मिनियाँ गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनका १८ जना र रौतहटको राजपुर नगरपालिकास्थित राजपुर फहतवा क्वारेन्टाइनमा रहेका ५० जनामा कोरोना पुष्टि भएको थियो।

स्थानीय तहहरूले क्वारेन्टाइन स्थापना गरेपनि त्यहाँ बसेकाहरूलाई न खानपिनको उचित व्यवस्था मिलाइएको छ न शौचायलकै। कतिपय क्वारेन्टाइनमा खाटको ठाउँमा विद्यालयमा विद्यार्थी बस्ने बेन्च सुत्नलाई दिइएको छ।

सप्तरीको कन्त चन्द्र मावि पातोमा स्थापना गरिएको क्वारेन्टाइनमा रहेकाहरूलाई कक्षाकोठाको डेस्क, बेञ्चमै सुत्नु परेको छ। स्वाब संकलनमा ढिलाइका साथै नतिजा आउनपनि समय लाग्ने भएकोले क्वारेन्टाइनभित्रैबाट संक्रमणको जोखिम बढिरहेको स्वास्थ्यकर्मीहरू बताउँछन्।

मापदण्डविपरित तयार पारिएको क्वारेन्टाइन र परीक्षणमा ढिलाइ भइरहेकोले त्यहाँबाट कोरोना संक्रमणको उच्च जोखिम देख्छन् नेपाल स्वास्थ्यकर्मी संघ प्रदेश २ का अध्यक्ष शिवजी दास। प्रदेश २ मा तयार पारिएका सबैजसो क्वारेन्टाइनहरू विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले तय गरेको मापदण्डविपरित रहेको उनको भनाइ छ।

अध्यक्ष दास क्वारेन्टाइनमा रहेकाहरूको स्वाब परीक्षण र नतिजामा ढिलाइहुँदा क्वारेन्टाइनभित्र एकअर्कालाई संक्रमणको जोखिम रहेकोले त्यसतर्फ ध्यानदिन जोड दिन्छन्।

‘क्वारेन्टाइन बसेको दुई सप्ताहसम्म स्वाब परीक्षण भएको छैन्, भएपनि नतिजा आउन एक सप्ताहभन्दा बढी कुर्नुपर्ने अवस्था छ,’  उनले भने, ‘कोही संक्रमित छन् भने यस अवधिमा अर्कोलाई संक्रमण सार्ने सम्भावना व्यापक हुन्छ।’

परीक्षणको दायरा बढाउँदै नतिजालाई तिव्रता दिन नसकिए क्वारेन्टाइन नै कोरोना संक्रमणको मुख्य थलो बन्ने निश्चित रहेको दास बताउँछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय