प्रदेश २ मा थपिए ६४ जना कोरोना संक्रमित, सबै भारतबाट आएका
प्रदेश २ मा ६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टामा प्रदेश २ मा ६४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्।
आइतबार कोरोना पुष्टि भएकाहरुमध्ये रौतहटमा २८ जना, धनुषामा २१ जना, सर्लाहीमा १० र पर्साका ५ जना रहेको समाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए।
धनुषामा संक्रमित भएकामध्ये मुखियपट्टी मुसहरनिया गाउँपालिका क्वारेन्टाइनका ११, जनकपुरस्थित गोपाल धर्मशाला क्वारेन्टाइनका ९ र गणेशमान चारनाथ नगरपालिका क्वारेन्टाइनका १ जना रहेको उनले बताए।
यसैगरी रौतहटमा दुर्गाभगवती क्वारेन्टिनका ८, मदरसा क्वारेन्टिनका ९ र ईशनाथ नगरपालिकास्थित क्वारेन्टाइनका ११ जनामा संक्रमण देखिएको छ।
सर्लाहीमा हरिपुर नगरपालिकाका ७ र ब्रम्हपुरी गाउँपालिका क्वारेन्टाइनका ३ जना रहेको सचिव घिमिरेले बताए। कोरोना पुष्टि भएकाहरु सबै भारतबाट आएका र सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा रहेको उनले बताए।
आइतबार ६४ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६१८ पुगेको छ जसमध्ये उपचारपछि ९८ जना निको भइसकेका छन्।