विदेशबाट फर्काइने नेपालीको निगरानी र व्यवस्थापनमा सेना

 

 

 

 

विदेशबाट फर्काइने नेपाली नागरिकहरूको निगरानी तथा व्यवस्थापनमा सेना खटिने भएको छ।

कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी) मार्फत सेनाको टोलीले विदेशबाट फर्काइने नागरिकलाई अन्तिम अवस्थासम्म निगरानी गर्ने भएको हो।

अब सेनाले नेपाली भूमि टेकेदेखि नेपाली नागरिकको जिम्मा सेनाले लिँदै छ। जंगी अड्डा स्रोतका अनुसार स्वस्थ रहेका नेपालीलाई घरसम्म पुग्ने व्यवस्थापनको काम पनि सेनाले नै गर्दैछ।

सिसिएमसीमा फ्रन्टलाइन भूमिका अहिले पनि छँदैछ। यसमा सशस्त्र प्रहरी, जनपथ प्रहरीको स्वास्थ्य टोली पनि छ।

सरकारले अहिले भारत तथा खाडी राष्ट्रबाट नेपाली नागरिक ल्याउने योजना बनाइरहेको छ।

सो योजना साकार पार्ने मामलामा पनि फ्रन्टलाइनकाे भूमिका सेनाले निभाउने छ।

जंगी अड्डाका अनुसार अब भारतको सीमावर्ती क्षेत्रबाट भित्रिने पनि नेपाली सेनाकै निगरानीमा हुन्छन्। सेनाले त्यस्ता नागरिकलाई ‘होल्डिङ’ क्षेत्रमा ल्याउँछ। त्यहाँ ल्याएपछि आइसोलेसनमा पठाउने वा स्वस्थ देखिए सम्बन्धित जिल्ला पठाउने टुंगो लगाउँछ।

‘अन्य खाडी राष्ट्रको हकमा पनि एयरपोर्टबाट होल्डिङ एरिया, आइसोलेसन पठाउने वा घर फर्काउने विषयमा सेनाले नेतृत्वदायी भूमिका खेल्छ,’ सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।

सहायक रथी पाण्डेले यसमा अन्य सुरक्षा निकाय पनि रहने बताए। ‘सिसिएमसीमार्फत नै हाम्रो टोली खटिने भएको हो, समन्वयात्मक भूमिकामा हो,’ उनले भने।

कहाँबाट कति नागरिक नेपाल ल्याउने विषयमा अहिले दूतावासहरूले डाटा संकलन गरिरहेका छन्। परराष्ट्र मन्त्रालयले दैनिक कति नेपाली ल्याउने विषयको मोडालिटी तयार पार्दैछ।

‘सेनाले सहजीकरण गरिदिने हो। एयरपोर्ट वा सीमामा आएपछि हामीले व्यवस्थापन गरिदिने हो, अहिले बस नचलेका कारण घरसम्म पठाउन कुनै व्यवस्था सेनाले मिलाउँछ,’ पाण्डेले भने, ‘साझा बसमा पठाउने हो कि हामी छलफलमा छौं।’

मन्त्रिपरिषदको जेठ १२ गते बसेको बैठकले विदेशबाट फर्काउने नेपालीको व्यवस्थापनमा नेपाली सेनालाई खटाउने निर्णय गरेको थियो।

शनिबार साँझको मन्त्रिपरिषद बैठकअघि राष्ट्रिय सुरक्षा परिषदको बैठक बसेको थियो। बैठकले कोरोना प्रभावित क्षेत्रमा नेपाली सेना खटाउने निर्णय गरेको थियो।

खाडी तथा भारतबाट दैनिक कति संख्यामा नेपाली फर्काउने विषयमा परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहेको छ। प्रधानमन्त्री केपी ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै केही दिनअघि उपयुक्त र व्यवस्थित ढंगले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय