बेलायतका ६६ सहित कोरोनाबाट विश्वभर १ सय २८ नेपालीको मृत्यु

विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण शनिबार साँझसम्म नेपाल बाहिर मृत्यु हुने नेपालीको संख्या १ सय २१ पुगेको छ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका अनुसार यो साता थप ७ नेपालीले कोरोनाका कारण ज्यान गुमाएका छन्। संघका अनुसार युएईमा १ , युकेमा १ , अमेरिकामा १, बहराइनमा २ , कुवेतमा १  र साउदी अरेबियामा १ नेपालीको यो साता ज्यान गएको हो ।

स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार सबैभन्दा बढी बेलायतमा ६६ जना गैरआवासीय नेपालको मृत्यु भएको छ। समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार संयुक्त अरब इमिरेट्स (यूएई) मा १९ नेपालीको निधन भएको छ।

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको नेपालीको संख्या १७ पुगेको छ। यस्तै साउदीमा ८, बहराइनमा ३ , कुवेतमा २, कतारमा १, आयरल्याण्डमा १, जापानमा १ , टर्कीमा १, नेदरल्यान्ड्समा १ र स्विडेनमा १ जनाको मृत्यु भएको छ।

संयोजक डा. सापकोटाका अनुसार नेपालबाहेक १४ हजार ४ सय २५ जना गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित भएका छन्।

समितिका अनुसार कतार, अमेरिका, यूएई, यूके, साउदी अरब, कुवेत, बहराइन, मलेसिया, टर्की, डेनमार्क, पाेर्चुगल, क्यानडा, आयरल्यान्ड, माल्दिभ्स, स्पेन, अष्ट्रेलिया, जापान, बेल्जिमय, स्विट्जरल्यान्ड, फिनल्यान्ड, जर्मनी, साइप्रस, न्यूजिल्यान्ड, हङ्गकङ्ग, भारत, माल्टा, पोल्यान्ड, रुस, फ्रान्स, म्यानमार, रोमानिया, स्विडेन, नेदरल्यान्डसलगायत ३४ देशका नेपालीमा कोरोना संक्रमण देखिएको छ।

संक्रमितमध्ये ४ हजार ५ सयभन्दा बढी नेपाली कोरोना भाइरसकाे संक्रमणबाट मुक्त भएको सापकोटाले जानकारी दिए। यो साता डेनमार्क र टर्कीमा नेपालीमा नयाँ संक्रमित देखिएको हो।

गैरआवासीय नेपाली संघले सहजीकरण गर्ने

सरकारले भारतबाहेक तेस्रो मुलुकमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने निर्णय गरेकोमा संघले स्वागत गर्नुका साथै त्यसमा सघाउने भएको छ। गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तले सरकारको निर्णयको स्वागत गर्दै प्रभावकारी कार्यान्वयनका लागि अनुरोध गरेका छन्। उनले अप्ठ्यारोमा परेका नेपालीलाई सुरक्षित रूपमा नेपाल फर्काउन गैरआवासीय नेपाली संघ सहजीकरणका लागि तत्पर रहेको बताए।

यसैबीच गैरआवासीय नेपाली संघले शनिवार राष्ट्रिय समन्वय परिषदसँग छुट्टै छलफल गरेको छ। विश्वभर छरिएका ८० भन्दा बढी राष्ट्रिय समन्वय परिषद भएका मुलुकमा कोभिडले पारेको प्रभाव, राहत र उद्दारका बारेमा राष्ट्रिय समन्वय परिषदसँग छलफल गरिएको संघका महासचिव डा. हेमराज शर्माले जानकारी दिए।

छलफल मध्यपूर्वमा रहेका श्रमिकको समस्याबारेमा केन्द्रित भएको संघले जनाएको छ। बैठकमा करिब तीन दर्जनभन्दा बढी देशस्थित राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरूले आआफ्ना देशमा रहेका नेपालीका समस्याबारे भनाइ राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय