जनकपुरमा तेस्रोपटक जडान गरिएको पिसिआर मेसिनबाट नतिजा दिन् अझै दुई दिन लाग्ने

कोरोना परीक्षण गर्न जनकपुरमा तेस्रोपटक जडान भएको पिसिआर मेसिनले अझै नतिजा दिन सकेको छैन्। मेसिन जडान भएको एक साता पूरा भइसकेपनि पिसिआरबाट परीक्षण सुरु हुनसकेको छैन्।

जनकपुरमा जडान भएको पिसिआर मेसिनबाट परीक्षण सुरु नहुँदा कोरोना जाँचको लागि राष्ट्रिय प्रयोगशाला टेकु र धरानस्थित बीपी कोइराला विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भर पर्नुपर्ने बाध्यता छ।

स्वास्थ्य सेवा विभागले यसअघि पठाएको दुईवटा पिसिआर मेसिनले सही नतिजा दिन नसकेको भन्दै प्रदेश सरकारले रियल टाइम पिसिआर मेसिन खरिद गरेको हो। प्रदेश सरकारले खरिद गरेको पिसिआर मेसिन जनकपुरस्थित पशुरोग अन्वेशन प्रयोगशालामा जडान गरिएको छ।

प्रादेशिक प्रयोगशालाका निमित्त प्रमुख रामविनय साहले नयाँ जडान गरिएको पिसिआर मेसिनबाट नतिजा दिन अझै दुई/तीनदिन लाग्नसक्ने बताएका छन्। मेसिन जडान भएर परीक्षण सुरु भइसकेपनि जनकपुरको प्रयोगशालाबाट तत्काल नतिजा दिन नसकिने उनले बताए।

‘पिसिआर जडान भएर परीक्षण सुरु भइसकेको छ,’ उनले भने,‘हामी अहिले ‘भ्यालिडेसन’ प्रक्रियामा जुटेका छौं , ‘भ्यालिडेसन’ सकिएलगत्तै यहाँको प्रयोगशालाबाट नतिजा दिइन्छ।’ ‘भ्यालिडेसन’ प्रक्रिया पूरा हुन दुई/तीनदिन लाग्नसक्ने उनको भनाइ छ।

‘संकलन भएका स्वाबहरूलाई हामी आन्तरिकका साथै बाह्य ‘भ्यालिडेसन’ गरिरहेका छौं,’ उनले भने,‘बाह्य ‘भ्यालिडेसन’ का लागि संकलन गरिएका स्वाब टेकु पठाउने गरेका छौं, दुबै प्रयोगशालाको नतिजा मिलान गर्ने काम भइरहेको छ। न्यूनतम दशवटा स्वाबमा सामान नतिजा आइसकेपछि यहाँको प्रयोगशालाले नतिजा दिन सुरु गरिहाल्छ।’

यसैगरी प्रदेश सरकारले नै मगाएको अर्को रियल टाइम पिसिआर मेसिन सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा जडान हुने क्रममा छ। मेसिन जडान भइसकेपछि राजविराजमा सोमबारदेखि परीक्षण सुरु हुने बताइएको छ। अहिले प्रदेश २ मा वीरगंजस्थित नारायणी उपक्षेत्रीय अस्पतालको प्रयोगशालामा मात्र कोरोना परीक्षण भइरहँदा परीक्षणको दायरा बढ्न सकेको छैन्।

परीक्षणमा ढिलाइहुँदा प्रदेश २ मा कोरोना जाँचको दायरा बढ्न सकेको छैन्। कोरोना परीक्षणको दायर बढ्न नसकेपछि २०/२५ दिनअघि आएकाहरू अझै क्वारेन्टिनमा बस्न बाध्य भएका छन्।

परीक्षणमा ढिलाइ हुँदा स्वाब संकलन भइसकेपनि प्रदेश २ मा २ हजार १०८ जनाको नतिजा आउन बाँकी छ। कुल १२ हजार ५६६ जनाको स्वाब संकलन भएकोमा यति संख्यामा नतिजा आउन बाँकी रहेको सामाजिक विकास मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

सप्तरीमा १ हजार ४१ जनाको स्वाब संकलन भएकोमा २६२ जनाको नतिजा आउन बाँकी छ। यसैगरी सिरहामा १ हजार १०१ जनाको स्वाब संकलन भएकोमा ७५, धनुषामा २ हजार दुई सय स्वाब संकलन भएकोमा २१७ र महोत्तरीमा ६४६ जनाको स्वाब संकलन भएकोमा २६९ जनाको नतिजा आउन बाँकी छ।

यसैगरी सर्लाहीमा ९२९ जनाको स्वाब संकलन भएकोमा १०९, रौतहटमा २ हजार ४१८ जनाको स्वाब संकलन भएकोमा १८८, बारामा २३६ जनाको स्वाब संकलन भएकोमा ५४ र पर्सामा २८६ जनाको स्वाब संकलन भएकोमा ९८ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय