अब लक्षण देखिएकाको मात्रै कोरोना परीक्षण

कोरोना भाइरस डिजिज (कोभिड-१९) संक्रमितको संख्या बढ्दै गएसँगै सरकारले अब लक्षण नदेखिएका सबैको परीक्षण नगर्ने नीति अगाडि बढाउने भएको छ। नेपालमा १ हजार ५ सयका हाराहारीमा संक्रमित पुगेसँगै सरकारले परीक्षणको भार घटाउन र जटिलता उत्पन्न हुने बिरामीको व्यवस्थापनमा केन्द‍‍्रित हुनका लागि नयाँ रणनीति अगाडि सारेको हो।

विदेशबाट फर्केका संक्रमितको सम्पर्कमा आएकामा संक्रमण हुनसक्ने जोखिम देखिएपछि लक्षण नदेखिएसम्म परीक्षण गरिने छैन।

अब संक्रमित भएर भर्ना भएका र लक्षण नभएकालाई पनि एकपटकभन्दा बढी परीक्षण नगरिने भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले संक्रमितको संख्या वृद्धि भएसँगै सम्भावित क्षति कम गर्न नयाँ रणनीति आवश्यक परेको बताए।

उनले विश्व स्वास्थ्य संगठनले पनि १० दिनभित्र लक्षण नदेखिएमा त्यस्ता संक्रमितलाई ख्याल गर्नु नपर्ने र अरुमा पनि सार्न नसक्ने भनिसकेको बताए। ‘हामी चाहिँ लक्षण नदेखिए पनि १४ दिन नै छुट्टै र सावधानीसाथ बस्नुस् भन्छौं’ उनले भने।

भारतबाट १० लाख हाराहारीमा आउने र अन्य मुलुकबाट पनि ठूलो संख्यामा मानिस ल्याउने तयारी भइरहेको छ। अब सीमा नाकाबाट आउने होस् या विदेशबाट आउने सबैलाई सिधै संक्रमितझै छुट्टै बस्नुस् भनेर पठाइन्छ । ‘अब नेपाल भित्रिनेलाई अब नाकामै गाइडलाइनसहित मास्क, स्यानिटाइजरलगायतका सामग्री दिएर सिधै घर र क्वारेन्टाइनमा पठाइन्छ,’ उनले भने, ‘लक्षण नदेखिए परीक्षण वा अस्पतालमा आइसोलेसनमा पनि लानुपर्दैन।’

परीक्षणको रणनीति परिवर्तन गर्ने योजनप्रति असन्तुष्ट एक स्वास्थ्य अधिकारीका अनुसार तत्काल परीक्षणकाे चापबाट जोगिन यो रणनीति काम लागेपछि दीर्घकालिन रूपमा यसले नराम्रो नतिजा ल्याउन सक्छ । ‘कन्ट्र्याक ट्रेसिङ पनि स्थानीय तहलाई पन्छाउने र परीक्षण पनि सबैका नगर्ने ?,’ ती अधिकारीले भने।

‘धेरैजनाले सार्न सक्दैन भनेर पठाउँदा केही प्रतिशतमा मात्रै सार्नसक्ने क्षमता देखियो भने झन् भयवह हुनसक्छ,’ ती विज्ञले भने, ‘थोरैलाई परीक्षण गर्दा सरकारलाई अहिले त सहज होला पछि झन् नराम्रो परिस्थिति आउँछ।’

अहिले दैनिक ६ हजारको हाराहारीमा नमूना परीक्षणका लागि लाइनमा छ। सरकारले निजी वा अन्य सार्वजनिक क्षेत्रको पनि क्षमता बढाएर परीक्षण विस्तार गर्ने तयारी पनि गरेको छैन। पछिल्लो दिनमा दैनिक २ हजार ५ सयको हाराहारीमा मात्रै परीक्षण भइरहेको छ ।
शनिबारसम्म देशभर ६६ हजार हाराहारीमा पिसिआर परीक्षण गरेको छ। जसमध्ये १५ सयभन्दा बढी संक्रमित पुष्टि भएको छ ।

सरकारले अहिले भाइरस पूर्ण रूपमा फ्रि हुने औसत दिन १६ रहेको जनाएको छ। तर, केही संक्रमित ३ दिन, ५ दिनमा पनि कोरोना जितेर घर फर्किएका छन्। अधिकांस संक्रमितमा लक्षण पनि नदेखिएको र एकदमै नजिकका आफन्तमा सर्ने दर पनि निकै कम छ ।

कतिपय विज्ञहरूले भने सकेसम्म धेरैको परीक्षण नगर्ने नीतिले झन् जोखिम बढाउन सक्ने बताएका छन् । ‘धेरैजनाले सार्न सक्दैन भनेर पठाउँदा केही प्रतिशतमा मात्रै सार्नसक्ने क्षमता देखियो भने झन् भयवह हुनसक्छ,’ ती विज्ञले भने, ‘थोरैलाई परीक्षण गर्दा सरकारलाई अहिले त सहज होला पछि झन् नराम्रो परिस्थिति आउँछ।’

ती विज्ञले अहिले पनि मृत्यु भएका अधिकांसमा सुरुमा लक्षण नदेखिएर अस्पतालसमेत पुर्याउन नभ्याइकनै मृत्यु भइरहेको तथ्य सम्झिनुपर्ने बताए। नेपालमा कोरोनाबाट ७ जनाको मृत्यु भएकोमा एकजना आइसियुमा पुगेपछि मात्रै कोरोना पुष्टि भएको थियो, अन्यको मृत्युपछि मात्रै कोरोना पोजेटिभ देखिएको थियो।

अर्कोतिर अहिले कम्जोर ठानिएको भाइरस कुनै पनि समयमा स्वरुप परिवर्तन गरेर कडा हुनसक्ने र त्यतिबेला झन् भयावह अवस्था आउनसक्ने तर्फपनि सचेत हुनुपर्ने सुझाएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार मृत्यु भएकाहरु मध्ये अधिकांशमा निमोनिया कोभिड १९ देखिएको छ। स्वास्थ्य अधिकारीका अनुसार लक्षण देखिएकाहरुमा पनि मन्द ज्वरो, सुख्खा खोकी, आलस्य, पखलालगायतका लक्षण देखिने गरेको छ। अस्पतालमा भनाएका भएकामध्ये पनि अधिकांश लक्षणविहीन छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय