राजधानीका ठूला अस्पतालमै छैन पिपिई, डाक्टरको प्रश्न– चिकित्सकीय धर्म हेरौं कि आफ्नै सुरक्षा?
डाक्टर्स सोसाइटी अफ नेपालको फेसबुक पेजमार्फत् प्रसूति गृहमा कार्यरत एक चिकित्सकले केही दिनअघि अस्पतालमा काम गर्दा भोग्नुपरेको अनुभूति साटेका छन्।
न्याम्सको एनेस्थेसियोलोजी एन्ड इन्टेन्सिभ केयर विभागअन्तर्गत दोस्रो वर्षका ती आवासीय चिकित्सकले पोस्टिङ भएको प्रसूति गृहको हालत उजागर गरेका हुन्।
ती चिकित्सकका अनुसार प्रत्येक ड्युटी सिफ्टमा कम्तीमा २५ महिलालाई सुरक्षित प्रसूति सेवा पुर्याइरहेको अस्पतालमा कोभिड–१९ को संकटका सन्दर्भमा नेपाल मेडिकल काउन्सिलबाट जारी निर्देशिका पालना भएको छैन।
उपचार प्रक्रियामा काउन्सिलकै निर्देशिकाअनुसार संक्रमण रोकथाम तथा नियन्त्रण प्रक्रियामा संलग्न सम्पूर्ण सहभागीले डिस्पोजेबल ग्लोब्स, प्लास्टिक एप्रोन, पानी नछिर्ने र स्ट्यान्डर डिस्पोजेबल गाउन, सर्जिकल मास्क, आँखा र अनुहार ढाक्ने सुरक्षा सामग्री लगाउनुपर्छ।
तर अस्पतालले यी व्यक्तिगत सुरक्षा सामग्री उपलब्ध गराउन सकेको छैन। ती चिकित्सकले लेखेका छन्, ‘यो मलगायत सायद सम्पूर्ण टिमलाई नैतिक संकटको विषय हो, यी सम्पूर्ण अत्यावश्यक सुरक्षा सामग्रीबिना म खुसीसाथ काम गरुँ कि नगरुँ?’
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले उपचार सेवा दिन्छु मेरो ज्यानको सुरक्षा हुने अवस्था बनाइदेऊ भनेर राजधानीमै चिकित्सक आफैं कराउँदै हिँड्नुपर्ने अवस्था आएको बताए। ‘सरकारले हामी सुरक्षा सामग्री दिन्छौं, तिमी सेवा देऊ भन्नुपर्ने हो । सेवा दिन्छु कम्तीमा न्युनतम सामग्री त देऊभन्दा पनि नसक्ने सरकार निकम्मा भयो,’ डा. कार्कीको आरोप छ।
ती चिकित्सकले उठान गरेको प्रश्नमा दर्जनौं चिकित्सकले प्रतिक्रिया र प्रतिप्रश्न तेस्र्याएका छन्।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले उपचार सेवा दिन्छु मेरो ज्यानको सुरक्षा हुने अवस्था बनाइदेऊ भनेर राजधानीमै चिकित्सक आफैं कराउँदै हिँड्नुपर्ने अवस्था आएको बताए। ‘सरकारले हामी सुरक्षा सामग्री दिन्छौं, तिमी सेवा देऊ भन्नुपर्ने हो । सेवा दिन्छु कम्तीमा न्युनतम सामग्री त देऊभन्दा पनि नसक्ने सरकार निकम्मा भयो,’ डा. कार्कीको आरोप छ।
सामाजिक सन्जालमै आफ्ना समस्या पोख्ने आँट प्रसूति गृहका चिकित्सकले गरे पनि अहिले यस्ता राजधानीकै ठूला अस्पतालका चिकित्सकहरूले यस्तै नियति सामना गरिरहेका छन्। सरकारले कोभिड—१९ उपचारका लागि भनेर छुट्याएका अस्पतालका चिकित्सक स्वास्थ्यकर्मीले जेनतेन केही पिपिई पाए पनि अत्यावश्यक शल्यक्रिया र सेवामा खटिने चिकित्सकको हालत प्रसूति गृहका चिकित्सकको भन्दा दयनीय छ।
एकातिर स्वास्थ्य मन्त्रालयमातहत व्यवस्थापन महाशाखाले कोभिड–१९ कै उपचारका लागि तोकिएका अस्पताल र सेवाका लागि चाहिने सामग्री जुटाउन सकेको छैन।
त्योभन्दा लाजमर्दो पक्ष करोडौं बजेट लिएर बसेका ठूला अस्पतालको व्यवस्थापनले पनि सेवा सुचारु गर्न यस्ता सामग्रीको जोहोमा पटक्कै चासो दिएका छैनन्। व्यवस्थापन महाशाखाले उपलब्ध गराएका केही सामग्री पनि ती अस्पतालहरूले पछिका लागि भन्दै थुपारेर बसेका छन्।
यद्यपि स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने व्यक्तिगत सुरक्षा सामग्रीको मौज्दात पर्याप्त रहेको दाबी गर्दै आएका छन्।
५ सय मौज्दात छ, जोगाउन पर्यो निः प्रसूति गृह
चिकित्सकहरूले सामग्री नै नपाएको गुनासो गरिरहँदा अस्पतालका निर्देशक डा. जागेश्वर गौतम भने स्वास्थ्य सामग्री आन्तरिक रूपमा व्यवस्थापन गर्दै आएको बताउँछन्। उनले अस्पतालसँग ५ सय सेट पिपिई मौज्दात रहेको जानकारी गराए।
अहिले सकेसम्म पिपिई जोगाउनतर्फ नै केन्द्रित भएको गौतमको भनाइ छ। ‘अहिले कोरोना पोजेटिभ नदेखिएका बिरामीलाई पिपिई नै लगाएर उपचार गर्नुपर्ने देखिँदैन,’ निर्देशक गौतम दाबी गर्छन्, ‘स्वास्थ्यकर्मीले गाउन, माक्स, पन्जा, भाइजर जस्ता स्वास्थ्य–साम्रगी लगाएर नै काम गरिएका छन्।’
सरकारले केही मात्रामा स्वास्थ्य सामग्री उपलब्ध गराए पनि अस्पतालले आन्तरिक रूपमा स्वास्थ्य–सामग्री व्यवस्थापन गर्दै आएको जनाएको छ।
सरकारले पर्याप्त रूपमा चाहिने स्वास्थ्य सामग्री उपलब्ध नराएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्। ‘सरकारले पिपिईजस्ता स्वास्थ्य सामग्रीको व्यवस्था आफैं गर्नुपर्ने बताएको छ। आफैंले हामीले खरिद गर्न सकेका छैनौं,’ डा. सेन्चुरीले भने, ‘कुनै दिन त्यस्ता सामग्री अभाव हुने गरेको छ।’
‘हामीले नियमित बजेटबाट नै सामान खरिद गरिरहेका छौं, कोरोना संक्रमणको दर बढ्दो छ,’ डा. गौतमले भने, ‘भोलिका दिनमा पिपिई नभई नहुने हुनसक्छ। अहिलेदेखि नै पिपिई जस्ता अन्य सामग्रीको जोहो गर्नतर्फ लागेका छौं।’
अस्पतालले ज्वरो, खोकी लागेका बिरामीको परीक्षण गरेर मात्र अप्रेसन गर्ने गरेको छ। कुनै पनि पोजेटिभ बिरामीको उपचार गर्नु नपरेको कारणले स्वास्थ्यकर्मीले गाउन लगाएर नै सेवा दिइरहेका छन्।
वीरमै छैन पिपिई
सरकारले पर्याप्त रूपमा चाहिने स्वास्थ्य सामग्री उपलब्ध नराएको वीर अस्पतालका निर्देशक डा. केदार सेन्चुरी बताउँछन्। ‘सरकारले पिपिईजस्ता स्वास्थ्य सामग्रीको व्यवस्था आफैं गर्नुपर्ने बताएको छ। आफैंले हामीले खरिद गर्न सकेका छैनौं,’ डा. सेन्चुरीले भने, ‘कुनै दिन त्यस्ता सामग्री अभाव हुने गरेको छ।’
वीरले अस्पतालका लागि भनेर दातृसंस्थाले दिएका सामान र केही आन्तरिक व्यवस्थापन जोहो गरेर जेनतेन चलाइरहेको उनले बताए। ‘दैनिक रूपमा बिरामी शल्यक्रिया हुने गरेको छ। जहाँ पिपिईको धेरै खपत हुने गर्छ,’ डा. सेन्चुरीले हेल्थपोस्ट नेपालसँग भने। वीरसँग अहिले मुस्किलले २ सय थान पिपिई, २ हजार ‘एन९५’ माक्स छ।
अस्पतालले स्वास्थ्य साम्रगी खरिद गर्ने टेन्डर गरेको थियो। तर, मूल्य निर्धारणमा कुरा नमिल्दा सामान खरिद गर्न नसकिएको डा. सेन्चुरी बताउँछन्। ‘एउटै सामग्रीको मूल्य तलमाथि भइरहेको हुन्छ। जसले गर्दा खरिद गर्ने धेरै नै गाह्रो परिरहेको छ,’ निर्देशक सेन्चुरी भन्छन्, ‘सरकारले नै सप्लाई गरिदिए हामीलाई सहज हुन्थ्यो।’
१ हजार ६ सय कर्मचारीलाई चाहिने स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्ने गाहो भइरहेको निर्देशक सेन्चुरीको भनाइ छ।
दातृसंस्थाकै भर : शिक्षण अस्पताल
त्रिवि शिक्षण अस्पताललाई स्वास्थ्य मन्त्रालयले लेवल थ्री अस्पतालको रूपमा छुट्याएको छ। तर, अस्पताललाई आवश्यक पर्ने व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) देखि बजेटलगायतका सुविधामा मन्त्रालयले पक्षपात गरेको गुनासो अस्पतालका अधिकारीहरूको छ। ‘कुनै संरचना बनाउन त परको कुरा भयो, सामान्य व्यवस्थापनका लागि पनि पैसा दिइएको छैन,’ अस्पतालका एक चिकित्सकले भने, ‘प्रस्ताव पठाउनुस् भन्छन् घरिघरि परिमार्जन गर् भन्छन् तर केही दिन्नन्।’
कोभिड–१९ का लागि छुट्टै ब्लक बनाएर ननकोभिडको उपचारलाई पनि निरन्तरता दिएको अस्पतालका ठूला र आकस्मिक शल्यक्रियाका लागि समेत पिपिई न्युन भएको अस्पतालका चिकित्सकहरू बताउँछन्।
अस्पतालका निर्देशक डा. प्रेम खड्काले दातृसंस्थाबाट सहयोग भएको साम्रगीले नै भरथेग गरिरहेको बताए। सरकारले आवश्यक स्वास्थ्य–सामग्री उपलब्ध नगराएको डा. खड्काको गुनासो छ।
‘बाहिरबाट तत्काल नै सामान ल्याउन सकिने अवस्था छैन। हामीसँग आवश्यकताअनुसार पिपिई रहेको छैन,’ उनले भने, ‘पिपिईका अलवा पानी नछिर्ने गाउन, माक्स, भाइजरजस्ता साम्रगी लगाएर बिरामीलाई सेवा दिइरहेका छौं।’
शिक्षण अस्पतालमा सेवा लिन आएका मानिसमा कोरोना संक्रमण देखिएसँगै उपचार लिन आउने मानिसको पनि संख्या पनि घटेको छ। संक्रमण नभेटिनु पूर्व ५ सयको हाराहारीमा ओपिडी टिकट बिक्री हुने गरेको थियो। अस्पतालका अनुसार अहिले १ सय ओपिडी टिकट बिक्री हुन्छ भने दैनिक ३–४ वटा सर्जरी भइरहेको छ।
अस्पतालको अन्य सेवा निरन्तर सञ्चालन भइरहेको र इलेक्टिभ सर्जरीको सेवा स्थगित भएको डा. खड्काले बताए।
पैसा नै अभाव छ : कान्ति बाल
अन्य अस्पतालको जस्तै कान्ति बाल अस्पतालको हालत उस्तै छ। सरकारले चाहिए जति आवश्यक सामग्री उपलब्ध गराउन नसक्दा विभिन्न दातृसंस्थासँग सामग्री संकलन गरिरहेको अस्पतालका निर्देशक डा. कृष्ण पौडेल बताउँछन्।
‘अस्पतालको आम्दानी घटेसँगै आन्तरिक रूपमा सामग्रीको व्यवस्थापन गर्न गाह्रो भएको छ। सरकारले भने जति सामान उपलब्ध गराएको छैन,’ उनले भने, ‘विभिन्न दातृसंस्थाको सहयोगबाट काम चलाइरहेका छौं।’
अस्पतालका अनुसार हाल १ सय ८० सेट पिपिईको मौज्दात छ।
अस्पतालबाट आम्दानी नभएका कारण कर्मचारीलाई तलब खुवाउन नसकिएको डा. पौडेल बताउँछन्। बजेट अभावका कारण पनि स्वास्थ्य सामग्रीको व्यवस्थापन पर्न गाह्रो परिरहेको उनको भनाइ छ।