आइसोलेसनका लागि स्थायी संरचना बनाउँदै कपिलवस्तुको शिवराज नगरपालिका

कपिलवस्तुको शिवराज नगरपालिकाले स्थायी संरचना निर्माण गरी आइसोलेसन सेन्टर बनाउन सुरु गरेको छ। कोरोनाको प्रकोपपछि उक्त ठाउँलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने उद्देश्यका साथ नगरपालिकाले स्थायी संरचना बनाउन सुरु गरेको हो।

अहिले नगरपालिकाले खरेन्द्रपुरमा रहेको सुपदेउराली रिर्सोटमा मासिक डेढ लाख भाडामा लिइ २५ बेड क्षमताको आइसोलेसन संचालन गरिरहेको छ। प्रदेश ५ सरकारले प्रत्येक स्थानीय तहले ५० सैय्याको आइसोलेसन सेन्टर बनाउने निर्देशन गरेपछि काम सुरु गरिएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाको कार्यालय रहेको चन्द्रौटाको नजिक रहेको कपिलवस्तु नलकुप आयोजनाको खाली जमिनमा आइसोलेसन सेन्टरको काम सुरु भएको हो। साढे १ बिगाहा क्षेत्रफल रहेको उक्त जमिनको करिब २ कठ्ठा जमिनमा भवन बनाउन लागिएको नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले जानकारी दिए। उनले प्रदेश ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीको उपस्थितीमा भएको बैठकले गरेको निर्णय अनुसार उक्त ठाउँमा भवन बनाउन सुरु गरेको बताए।

अहिले बनिरहेको आइसोलेशन भवनलाई प्रयोगमा ल्याएर अस्पताल बनाउन पनि सकिने भएको हुदा उक्त जग्गा प्राप्तिका लागि नगरपालिकाले कागजी प्रक्रियमा सुरु गरिसकेको अधिकारीले जानकारी दिए।

अहिले ठाउँ नभएपछि खरेन्द्रपुरको एक रिर्सोटमा मासिक डेढ लाख भाडा सम्झौता गरि आइसोलेसन संचालन गर्नुपरेको उनले गुनासो गरे। चन्द्रौटामा सरकारी अस्पताल छैन, त्यसैले जनताको माग र अवश्यकतालाई हेर्दा पनि उक्त ठाउँ अस्पतालका लागि उपयुक्त देखिएको नगर प्रमुख अधिकारी बताउँछन्।

संघ र प्रदेश सरकारबाट पिसिआर परिक्षण गर्न स्वाब संकलन गर्ने भिडिएम नपाएपछि शिवराज नगरपालिकाले १ हजार वटा भिटिएम किनेको छ। त्यसमध्ये ५०० किटको प्रयोग भइसकेको नगरपालिकाको भनाई छ। नगरपालिकाका नगर प्रमुख नेत्रराज अधिकारीले परिक्षणको दायरा बढाउनका लागि नगरपालिकाको तर्फबाट भिटिएम किनिएको जानकारी दिए।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेलका अनुसार जेठ ७ गते पालिकामा बसेको सर्बदलिय र कार्यपालिकाको बैठकले निर्णय गरेपछि भवन निर्माणको काम ९ गतेबाट सुरु भएको हो। अहिले कम्तीमा ३० बेडको हुने र त्यसलाई पुनः विस्तार गरिने उनले बताए। अहिले ट्स्ट राखेर भौतिक संरचना निर्माण गरिने पौडेलको भनाई छ। महिनादिनभित्रमै आइसोलेशनका लागि निर्माण शुरु भएको भवन पूरा हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाले छुट्याएको ६५ लाख बजेटबाट आइसोलेसन बनिरहेको नगरपालिकाका जनस्वास्थ्य अधिकृत चुडामणी भट्टराइले जानकारी दिए। उनले पालिकामा आजसम्म ६ जना कोरोना संक्रमित देखिइसकेका छन्। त्यसमध्ये १ जना निको भएका छन्। उनका अनुसार अहिले १ जनाको बुटवल र २ जनाको दाङ र २ जनाको पालिकाकै आइसोलेसनमा उपचार भइरहेको छ।

पालिकाभित्र ८ वटा क्वारेन्टाइनमा शुक्रबार ३ बजेसम्म ३२ जना रहेकोमा बढेर ४ सय बढी पुगिसेका छन्। क्वारेन्टाइनहरू सबै सामुदायिक विद्यालयमा रहेको भट्टराइले जानकारी दिए।

स्वास्थ्यका कर्मचारी नभएपछि नगरपालिकाले करारमा नसिङ र प्यारामेडिक गरी ६ जना नयाँ कर्मचारी थपेको छ। ति लकडाउन अगाडी माग गरिए अनुसार गरिएको हो।
नगरपालिकाका अनुसार पालिकामा मुख्यगरी सुरक्षा सामग्री, जनशक्ति र ट्रेसिङको काममा समस्या देखिएको छ।

यसले पालिकामा कोरोनो संक्रमणको जोखिम बढाएको नगरपालिकाको भनाई छ। पालिकामा ५२/५३ जना कर्मचारीले क्वारेन्टाइनमा खाना पकाउने देखि, व्यवस्थापन, रोकथाम र उपचारका काम गरिरहेका छन्। त्यसैगरी नगरपालिकाभित्र चिकित्सकको अभाव झनै खड्किएको जनस्वास्थ्य अधिकृत चुडामणी भट्टराइले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय