धनुषामा खोप कार्यकर्तालाई कोरोना, विभाग भन्छ- संक्रमण खोप कार्यक्रममा सरिक हुँदा होइन

धनुषाको लक्ष्मीनीय नगरपालिकाका नियमित खोप कार्यक्रममा संलग्न स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको छ।

नगरपालिकाको वडा नं ५ स्थित खोप केन्द्रमा जेठ १ देखि ४ गतेसम्म नाम दर्तामा संलग्न भएका ती स्वास्थ्यकर्मीमा दुई दिनअघि कोरोना पिसिआर पोजेटिभ आएको नगरपालिकाको वडा ५ का अध्यक्ष फुल्गेन यादवले बताए।

यादवका अनुसार खोप कार्यक्रम सकेर ५ गतेदेखि उनी स्थानीय क्वारेन्टाइनमा खटिएका थिए।

ती स्वास्थ्यकर्मीले आफू खोप कार्यक्रममा सरिक हुँदा र क्वारेन्टाइनमा काम गर्दा पनि मापदण्डअनुसार नै व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेको अध्यक्षले यादवले जानकारी दिए।

‘मैले अघि भर्खर पनि कुरा गरेको थिएँ, सर खोप कार्यक्रममै सर्यो कि भन्थे’ उनले भने, ‘उनी त सामाजिक दूरी कायम गरेरै कार्ड भर्न मात्रै खटिएका हुन् खोप त सिस्टरले लगाउनुभएको थियो।’

आफ्ना वडाका उनीबाहेक अरु कोही पनि संक्रमित नभेटिएको समेत वडाध्यक्ष यादवले जानकारी दिए।

उनलाई कोरोना संक्रमण देखिएसँग नेपाल स्वास्थ्यकर्मी युनियनले आधिकारिक फेसबुक पेजमा यो घटनाले संन्त्रास सृजना भएको भन्दै नियमित खोप कार्यक्रम संक्रमणको स्रोत बन्न नहुनेे उल्लेख गरिएको छ।

युनियनले खोप कार्यक्रमलाई निरन्तरता दिएर खोप कार्यकर्ता, बालबालिका र अभिभावकलाई जोखिम थपिएको भन्दै यस्तो अवस्थामा खोप लिने नलिने भन्ने दुविधामुक्त गरिदिन युनियनले माग गरेको छ।

 

 

सरकारले लामो समयसम्म खोप रोक्दा कोरोनाले भन्दा जटिल र दीर्घकालीन समस्या निम्तिन सक्ने भन्दै सावधानी अपनाएर खोप चलाउन आग्रह गर्दै आएको छ ।

अधिकारी भन्छन्- खोप रोके झन् समस्या

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख झलक गौतमले धनुषाका ती स्वास्थ्यकर्मीमा खोप लगाएरै कोरोना सरेको प्रमाणित नभएको भन्दै खोप कार्यक्रम रोक्ने सन्दर्भ नै नउठ्ने बताए। ‘सबै सावधानी अपनाएर सचेत स्वास्थ्यकर्मीले खोप कार्यक्रम चलाउने हो, तर अहिले कुनै पनि बहानामा नियमित खोप रोक्नुहुन्न,’ गौतमले भने ।

गौतमका अनुसार दादुरा, रुवेलाजस्ता रोगका मृत्युदर कोरोनाभन्दा बढी छ ।

कोरोनाका कारण सरकारले लकडाउन सुरु गरेपछि झण्डै एक महिना ४० प्रतिशत मात्रै खोप केन्द्र चलेकोको वैशाख १० मा खोप नरोक्न पत्राचार गरेको गौतमले जानकारी दिए। त्यसपछि अधिकांश खोप क्लिनिक चलिरहेको र गत महिनामात्रै लक्षित उमेर समूहका ९० प्रतिशतभन्दा बढी बालबिालका खोप पाएको समेत उनले बताए।

शाखाका अनुसार देशभर १६ हजार खोप केन्द्र छन् ।

सरकारले लामो समयसम्म खोप रोक्दा कोरोनाले भन्दा जटिल र दीर्घकालीन समस्या निम्तिन सक्ने भन्दै सावधानी अपनाएर खोप चलाउन आग्रह गर्दै आएको छ।

गौतमका नियमित खोप कार्यक्रमसँगै कोरोना कहरका कारण स्थगित भएको दादुरा रुबेला अभियानसमेत तत्काल संचालन गर्ने तयारी भइरहेको छ। वागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा स्थानीय अनुकूलताअनुसार अभियान संचालन गरिने गौतमले बताए।

विश्व स्वास्थ्य संगठनकाेे मापदण्डअनुसार बालबालिकालक्षित खोप कार्यक्रम चलाउँदा सामाजिक दुरी कायम गर्ने, स्वास्थ्यकर्मीले अनिवार्य रूपमा सर्जिकल मास्क प्रयोग गर्ने, बारम्बार हात धुने वा स्यानिटाइजरले सफा राख्ने र उपलब्ध भएसम्म ग्लोब्सको प्रयोग गर्दा संक्रमणबाट बच्न सकिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय