बेड अभावमा २७ संक्रमितले खुला आकासमुनि रात बिताए

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालले राख्ने ठाउँ नभएको भन्दै भर्ना नलिएपछि संक्रमितहरू शुक्रबार रातभर गेटबाहिरै बस्न बाध्य भएका छन्।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका झापा कचनकवलका २७ जनालाई त्यहाँ पठाइएको थियो। तर, संक्रमित बेड अभावमा गेट बाहिरै बस्न बाध्य भए।

संक्रमण पुष्टि भएलगत्तै उनीहरूलाई कचनकवल गाउँपालिका–४ स्थित क्वारेन्टाइनबाट साँझ ६ बजेतिर धरान लगिएको थियो।

उनीहरूलाई प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको समन्वयमा धरान पठाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ। ‘स्वास्थ्य मन्त्रालयको समन्वयमा उनीहरूलाई धरान पठाइएको हो,’ जनस्वास्थ्य कार्यालय स्रोतले भन्याे, ‘अस्पतालले बेड खाली नभएको भन्दै भर्ना दिएन, जसका कारण संक्रमतिहरू अस्पतालको गेटबाहिर बस्न बाध्य भए।’

संक्रमित बाहिर बस्नु परेको कुरा आफूले ढिलो गरी जानकारी पाएको उक्त क्षेत्रका प्रदेश सांसद वसन्त बानियाँले बताए। ‘उहाँहरूको उपचारका लागि पहल भैरहेको छ’, उनले भने, ‘प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य मन्त्रालय र अस्पतालको समन्वय उहाहरूको उपचार छिटै सुरु हुन्छ।’

उक्त कोभिड अस्पताल एक सय वेडको हो। तर,प्रदेश – १ को चालू अधिवेशनमा सांसदहरुले ७५ वेडका मात्रै भन्ने विषय पनि उठान गरेको अव्यवस्था छ।

कचनकवल गाउँपालिकामा मात्र एक सय जनामा संक्रमण पुष्टि भएपछि धरान र बिराटनगरमा रहेका दुई कोभिड अस्पतालमा संक्रमितको चाप छ।

झापाका १०७ मध्ये २ जना उपचार पछि घर फर्किएका छन्। अन्य सबै उपचाररत रहेकाले पनि ठाउँ अभाव भएको स्वास्थ्य सम्बद्ध अधिकारीको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय