विश्व स्वास्थ्य संगठनसँग सबैप्रकारको सम्बन्ध तोडेको ट्रम्पको घोषणा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) सँगका सबै सम्बन्ध अन्त्य गरेको घोषणा गरेका छन्।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले डब्लूएचओ, चीनको कठपुतली बनेको आरोप लगाउँदै ऊसँगका सबै सम्बन्ध अन्त्य गरिएको घोषणा गरेका हुन्।

‘हामीले डब्ल्यूएचओको व्यापक सुधारका लागि अनुरोध गरेका थियौं तर त्यसो गर्न असफल भयौं,’ ट्रम्पले शुक्रबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा भने, ‘आज हामी विश्व स्वास्थ्य संगठनसँग रहेका सबै सम्बन्ध तोड्दै छौं।’

ट्रम्पले डब्लूएचओलाई गर्ने गरेको सहयोग रकम विश्वका अन्य देशको जनस्वास्थ्य क्षेत्रमा लगानी गर्ने बताएका छन्।

‘अमेरिकाले भन्दा चीनले एकदमै कम अनुदान दिने भए पनि डब्ल्यूएचओ पूर्ण रूपमा चीनको नियन्त्रणमा छ’, उनले भनेका छ्न। यसअघि पनि ट्रम्पले डब्लूएचओको आलोचना गर्दै आएका थिए भने आफ्नो व्यवहार सुधारका लागि एक महिनाको अल्टिमेटमसमेत दिएका थिए।

अमेरिका डब्ल्यूएचओको स्थापनाकालदेखिकै सबैभन्दा ठूलो दाताको रुपमा रहेको थियो। उसले डब्ल्यूएचओलाई हरेक वर्ष ४५ करोड डलर आर्थिक सहयोग गर्ने गरेको थियो।

अमेरिकी राष्ट्रपति ट्रम्पले चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरसको संक्रमण सुरु हुनेबित्तिकै सूचना नदिएको आरोप लगाएका छन्।

ट्रम्पले भनेका छन् ‘चीनसँग मिलेर डब्लूएचओले कोरोना भाइरससम्बन्धी जानकारीबाट पूरै विश्वलाई वञ्चित गर्‍यो जसबाट आज यो अवस्था आएको छ।’

सुरुदेखि नै अमेरिकी राष्ट्रपति ट्रम्पले चीनले सुरुमै जानकारी नदिएकाले कोरोना विश्वभर फैलिएको आरोप लगाइरहेका छन् भने डब्लूएचओ पनि उसैसँगै मिलेको दाबी गरिरहेका छन्।

शुक्रबारको पत्रकार सम्मेलनमा ट्रम्पले हङकङका विषयमा समेत चीनविरुद्ध आक्रामक अभिव्यक्ति दिएका छन्। चीनले ल्याएको नयाँ सुरक्षा कानुन दुःखद रहेको उनको आरोप छ।

अहिले विश्वमा कोरोनबाट सबैभन्दा पीडित अमेरिका बनेको छ। त्यहाँ कोरोना संक्रमणका कारण एक लाखभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने १७ लाख ९३ हजार ५ सयबढीमा संक्रमण रहेको पुष्टि भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय