संक्रमितलाई आइसोलेसन पठाउने विषयमा झडप हुँदा रौतहटमा १२ राउण्ड हवाइ फायर

हेल्थपोस्ट/काठमाडौं
प्रकाशित
२०७७ जेठ १६ गते १३:२१

रौतहटको ईशना नगरपालिकामा स्थानीयवासी र प्रहरीबीच झडप भएको छ। कोरोना संक्रमित दुईजनालाई आइसोलेसनमा लग्न खोज्दा प्रहरी र स्थानीयवासीबीच शुक्रबार झडप भएको हो। तनाव बढेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको छ।

इशनाथ नगरपालिका–७ को जोकहास्थित अनवारुल इस्लामिक मदरसाको क्वारेन्टिनमा रहेका दुईजनामा विहिबार कोरोना संक्रमण पुष्टि भएको थियो। संक्रमित दुईजनालाई आइसोलेसनमा लग्न त्यहाँ पुगेको स्वास्थ्यकर्मी र प्रहरीलाई स्थानीयले अवरोध गरेपछि तनाव भएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी भरत श्रेष्ठले जानकारी दिए।

प्रहरी र स्वास्थ्यकर्मीको टोलीमाथि स्थानीयहरुले ढुंगामुढा गरेपछि आत्मरक्षाको लागि प्रहरीले हवाइ फायर गर्नुपरेको श्रेष्ठले बताए । संक्रमण देखिएका दुबैजनालाई मदरसामै राख्नुपर्ने स्थानीयहरुले जबरजस्ती गरेको उनको भनाइ छ।

झडपको क्रममा स्थानीयहरुले प्रहरीको गाडीमा तोडफोडसमेत गरेका छन्। अहिले अवस्था सामान्य रहेको दुबैजना संक्रमितलाई लिन एम्बुलेन्सलाई बोलाइएको डीएसपी श्रेष्ठले जानकारी दिए।

यसअघि क्वारेन्टिन स्थापनाको विषयमा विवादहुँदा विहिबार रौतहटको कटहरिया नगरपालिका–१ भखेडबामा पनि प्रहरीले १२ राउण्ड हवाइ फायर गरेको थियो। एक पक्षले क्वारेन्टिन राख्नुपर्ने र अर्को पक्षले विरोध गर्दा तनाव बढेपछि प्रहरीले हवाइ फायर गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय