नरैनापुर पुगेर सिडिओले भने- यहाँको अवस्था नियन्त्रणमै छ, नआत्तिनुस्

कोरोनाको हट स्पटका रूपमा रहेको बाँकेको नरैनापुर पुगेर प्रमुख जिल्ला अधिकारीसहितको टोलीले अनुगमन गरेको छ। १ सय १४ जना संक्रमित र एक जनाको मृत्यु भइसकेको नरैनापुरमा प्रदेश सांसद कृष्णा केसी (नमुना ) तथा प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङसहितको टोलीले बिहीबार त्यहाँ पुगेर पछिल्लो अवस्थाबारे जानकारी लिएको छ।

अनुगमनपछि प्रतिक्रिया दिँदै प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले नरैनापुरको अवस्था नियन्त्रणमै रहेको बताएका छन्। उनले सबैलाई नआत्तिनसमेत आग्रह गरेका थिए।

निषेधित क्षेत्रको पालना भइरहेको, पछिल्लो समय संक्रमितहरू नथपिएको र क्वारेन्टाइनमा बस्नेहरू पनि घट्दै गएको बताए। जिल्ला प्रशासनले ‘रेड जोन’ घोषणा गरेर निषेधित क्षेत्र लागू गरेको नरैनापुरमा विस्तारै सुधार देखिँदै गएको उनको भना छ।

प्रदेश सांसद कृष्णा केसी, विभिन्न सुरक्षा निकायका प्रमुखहरूसहित जिम्मेवारी सम्हालेको दोस्रो दिनमै त्यहाँ पुगेका सिडियो कुरुम्बाङले क्वारेन्टाइन, आइसोलेसन केन्द्र बनाउन गृहकार्य भइरहेको लक्ष्मणपुर स्वास्थ्य केन्द्रसँगै सीमा क्षेत्रको अनुगमन गरेका थिए।

गंगापुरस्थित सेनाको फरवार्ड वेशका सेनानी सुरेश कुमार श्रेष्ठ, इलाका प्रहरी कार्यालय भोजभगवानपुरका प्रहरी निरीक्षक मानबहादुर बिसी र बोर्डर आउट पाेस्ट (बिओपी) कट्कुइँयाका प्रहरी निरीक्षक गणेश भण्डारीले त्यहाँको सुरक्षा अवस्था, सीमाको निगरानी, निषेधित क्षेत्र घोषणापछिको प्रभावकारिता, क्वारेन्टाइन, क्वारेन्टाइनमा बसेकाहरूको संख्या र संक्रमितका बारेमा विफ्रिङ गरेका थिए।

अनुगमनका क्रममा नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसम्म काम गरिरहेको जानकारी दिए। उनले तत्काल बिजुली र चिकित्सक उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन, आइसोलेसन निर्माण र सञ्चालन गर्न सहज हुने बताएका थिए। विद्धुत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने बताए।

प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले काम गर्ने क्रममा केही अप्ठेरो र बाधा व्यवधान भए तत्काल जानकारी गराउन भनेका थिए। कोरोना संक्रमणपछि पहिलोपटक प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुख आउँदा स्थानीयको हौसला र आत्मविश्वास बढेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय