नारायणी अस्पताल पूर्ववत अवस्थामा फर्कने

वीरगन्जमा रहेको नारायणी अस्पताल अब पुनः जनरल अस्पतालमा परिवर्तन हुँदै छ। संघ सरकारमातहत रहेको नारायणी अस्पतालबाट सोमबार एकै दिन ४३ जना संक्रमित कोरोना जितेर घर फर्किएका थिए। कोभिड विशेष अस्पतालमा रहेको नारायणी अब पुनः जनरल अस्पतालमा परिणत गराइने तयारी भइरहेको हो।

नारायणी अस्पतालमा आज बिहीबारदेखि मिर्गौलाका बिरामीको डाइलोसिस सेवा सुचारु हुनेछ भने ओपिडी सेवा शुक्रबार सुरु हुनेछ। अस्पतालका एक कर्मचारीले भने, ‘आजदेखि डाइलोसिस सेवा सुरु हुनेछ भने भोलिदेखि ओपिडी सेवा पनि सुचारु हुनेछ।’

आइसियु सेवा भने शनिबारदेखि सञ्चालनमा आउने दाबी गरिएको छ। बारा, पर्सा, रौतहट, सर्लाहीका दैनिक सयौं बिरामीलाई उपचार गर्ने जनरल अस्पताललाई नै सरकारले हतारमा कोभिड अस्पताल बनाएको थियो। अब फेरि नारायणीबाट जनरल सेवा प्रदान हुने भएको छ।

वीरगन्ज महानगरपालिकाको खर्चमा वीरगन्जकै गण्डक अस्पताललाई नारायणीको शाखाका रूपमा अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालनमा ल्याइएको छ।

नारायणी अस्पताललाई कोभिड अस्पतालबाट रूपान्तरण गरी पूर्ववत् जनरल अस्पतालको छिटै सबै सेवा सुरु गर्ने वीरगन्ज महानगरका प्रमुख विजयकुमार सरावगीले बताए।

उनले भने, ‘नारायणी अस्पतालबाट सबै कोरोना भाइरसबाट संक्रमित डिस्चार्ज भएपछि अहिले पूर्ण रूपले अस्पताल खाली भएको छ।’ कोरोना संक्रमितलाई उपचार गर्न अर्को विकल्प नहुँदा नारायणी अस्पताललाई नै कोरोना अस्पतालको रूपमा सञ्चालनमा ल्याइएको थियो तर नारायणी पुनः जनरल ओपिडि सेवा सञ्चालन ल्याउने कार्य सुरु हुने मेयर सरावगीले बताए।

कोभिड १९ कोरोना भाइरसका बिरामीको उपचार नारायणी अस्पतालमा हुन थालेपछि वीरगन्जवासीले व्यापक विरोध गरेका थिए। कोरोना संक्रमित डिस्चार्ज भएसँगै वीरगन्ज महानगरपालिकाकाको प्रत्यक्ष निगरानीमा पहिलो चरणको सेनेटाइजेसनअन्तर्गत नारायणी अस्पतालका सबै वार्डलाई दमकल तथा अन्य सरसफाइ गर्ने औषधीजन्य सोडियम सोलुसनबाट सबै ठाँउमा निर्मलीकरण भइरहेको छ।

कोरोना भाइरसका बिरामीलाई नारायणी अस्पतालमा उपचार हुँदै आएको थियो। नगर प्रमुख र केही राजनीतिक दलका नेताहरूको प्रयासले गर्दा कोरोनाका बिरामीहरूको उपचार वीरगन्जको गण्डक अस्पतालमा भइरहेको छ। नारायणी अस्पतालमा कोरोनाका बिरामीको उपचार भएको हुनाले सेनिटाइज गर्न केही दिन लाग्ने भएको हुनाले आइसियु सेवा सुचारु गर्न केही समय लाग्ने अस्पतालले जानएको छ।

चैत २९ गते वीरगन्जमा प्रथम पटक भारतीय नागरिकमा कोराना संक्रमण पुष्टि भएपछि बिनातयारी नारायणी अस्पतालले कोभिड अस्पतालको सेवा सुरु गरेको थियो। वीरगन्जका तराई, भवानी, बयोधा, हेल्थकेयर, आशाराम, प्रभु, इन्डो नेपालले मात्र आंशिक रूपमा सेवा दिइरहेका छन् भने गण्डकस्थित गण्डक अस्पताल अस्थायी कोभिड विशेष अस्पताल बनेर संक्रमितको उपचार सुरु भइसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय