राजमार्गहरूमा ट्रमा सेन्टर र कान्तिमा आइसीयू थप गरिने
आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवजार खतिवडाले सरकारले बजेटमा प्रमुख राजमार्गहरूमा ट्रमा सेन्टर सेवा विस्तार गर्ने र कान्ति बाल अस्पतालमा आईसीयू थप गर्ने लक्ष्य लिएको बताए।
कान्तिलाई बालरोगका विभिन्न विधामा उच्च शिक्षाको अध्ययन गर्ने उत्कृष्ट केन्द्रको रुपमा विकास गर्ने लक्ष्यसमेत सरकारले बजेटमा राखेको छ।
‘कलेजो प्रत्यारोपण सुरु भएको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आगामी आर्थिक वर्षमा नेफ्रोलोजी तथा युरोलोजी केन्द्र स्थापना गरिने छ’, अर्थमन्त्री खतिवडाले भने।
मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र शहीद गंगालाल हृदय केन्द्रमा बाल मुटुरोगको पहिचान, परीक्षण र उपचार गर्न संस्थागत व्यवस्था गर्ने नीति समेत आगामी वर्षको बजेटमा पर्न सफल भएको छ।