कोरोनासँग जुध्न मुख्यमन्त्री राउतले संघीय सरकारसँग मागे राहत प्याकेज

प्रदेश २ ले विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेको छ। कोरोना महामारीका कारण प्रदेशभित्र सिर्जित संकट थेग्न गाह्रो भएको भन्दै मुख्यमन्त्री लालबाबु राउतले विशेष राहत प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र लेखेर मुख्यमन्त्री राउतले प्रदेशलाई राहत प्याकेज उपलब्ध गराउन आग्रह गरेका छन्।

बुधबार राति प्रधानमन्त्री ओलीलाई पत्र लेख्दै राउतले कोरोना परीक्षणका लागि दक्ष जनशक्ति तथा उपकरणसहित विशेष आर्थिक प्याकेज सहयोगको रुपमा उपलब्ध गराउन माग गरेका छन्।

भारतसँगको खुला सीमाना तथा भारतमा रोजगारीका लागि रहेका युवाहरू फर्किने क्रम बढिरहेकोले प्रदेशमा कोरोना संक्रमणको जोखिम बढेको राउतले पत्रमा उल्लेख गरेका छन्।

‘प्रदेशमा कोरोनाको जोखिम बढेको छ, नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारसँग पर्याप्त स्रोत साधन तथा जनशक्ति छैन्,’ राउतले पत्रमा लेखेका छन्। प्रदेशसँग स्रोत साधन तथा जनशक्ति पर्याप्त नरहेको भन्दै उनले संघीय सरकारसँग विशेष माग गरेका छन्।

‘लकडाउन’ थपिँदैजाँदा प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राहत उपलब्ध गराउन चुनौतिपूर्ण देखिएको राउतले भनेका छन्।

‘प्रदेश सरकारले स्थानीय तहको समन्वयमा दुई चरणको राहत वितरण गरिसकेको छ,’ उनले भनेका छन्,‘लकडाउन थपिँदैजाँदा प्रदेशको भौगोलिक अवस्था, जनसांख्यिक बनोट, मानव सूचकांक र सामाजिक विकासको अवस्थाका कारण प्रदेश सरकारले मात्र खाद्यान्नसहितको राउत उपलब्ध गराउन चुनौतिपूर्ण भएको छ, संघीय सरकारको तर्फबाट ठोस कार्यक्रम जरुरी देखिएको छ।’

कोरोना परीक्षण गर्न प्रदेशको तीन स्थानमा पीसीआर प्रयोगशाला सञ्चालन गरिएपनि भीटीएम किटको अभावमा परीक्षणको दायरा बढ्न नसकेको राउतले भनेका छन्। मुख्यमन्त्री राउतले भीटीएम किट, उपकरण, दक्ष जनशक्ति र स्वास्थ्य सामग्री यथाशीघ्र उपलब्ध गराइदिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन्।

भारतसहित विदेशमा रहेका प्रदेशका करिब १० लाख युवाहरू फर्किने सम्भावना रहेको भन्दै राउतले प्रदेशका जनताको जिविकोपार्जन माध्यम कृषि र कृषि भूमिको उपलब्धतालाई विचार गर्दै प्रदेश युवा रोजगार कार्यक्रम र कृषिमा विशेष उत्पादन अभियानका साथै राहतका विशेष कार्यक्रम सञ्चालन गर्न विशेष आर्थिक प्याकेज उपलब्ध गराउन संघीय सरकारसँग माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय