झापाको पूर्वी सीमामा हजारौं नेपाली अलपत्र

एकसाताको अवधिमा पूर्वीनाकाको सीमा क्षेत्रबाट १ हजार ६ सयभन्दा बढी नेपाली झापा प्रवेश गरेका छन्। भारतमा बस तथा रेल सेवा सुचारु भएसँगै नेपाल प्रवेश गर्नेको संख्या ह्वात्तै बढेको हो।

भारतीय पक्षले अलपत्र परेका नेपालीलाई नेपाल पठाउन आनाकानी गरेपनि नेपाली आउने क्रम नरोकिएको नेपाली कांग्रेस झापाका सभापति उद्घब थापाले बताए।

‘भारतीय पक्षको आनाकानीले सीमामा अलपत्र परेका नेपालीलाई स्वदेश ल्याउन केहि समय समस्या भयो’, उनले भने, ‘अहिले भारतीय पक्षले सीमामा ल्याएर दैनिक सयौँ नेपालीलाई छाड्ने गरिरहेको छ। १६ सयभन्दा बढी नेपाली केही दिनकै बीचमा नेपाल प्रवेश गरेका छन्।’

अहिले सिमावर्ती भारतीय बजार पानीट्याङ्की लगायतका स्थानमा सयौं नेपाली अलपत्र परेका छन् ।

केही दिन अघि झापाका पाँचवटा होल्डिङ एरियामा राख्ने योजना अनुसार नेपाली नागरिकलाई स्वदेश ल्याउने तयारी गरिएको थियो।

झापाको मेचीनगरमा ३ सय, भद्रपुरको मेची क्याम्पस क्वारेन्टाइनमा २५०, बिर्तामोडमा २ सय, कलवलगुडीमा एक सय र दमकमा २५० जनालाई राखिएको झापाका एक प्रहरी अधिकृतले नाम नखुलाउने सर्तमा बताए।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले दुई देशका सरकारबीच सहमति नभएसम्म कसैलाई पनि फर्काउन नसकिने बताए।

तर, भारतीय पक्षले बसमा ल्याएर छोड्दा सयौं नेपाली अहिले पनि सीमामा अलपत्र छन्।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष सोम पोर्तेलले आफूहरूले इमान्दारीपूर्वक प्रयास गरे पनि भारतीय पक्षले कमजोरी गरेका कारण नेपालीलाई स्वदेश ल्याउन अप्ठ्यारो परेको आरोप लगाए।

त्यसबेला झापाको भद्र्पुरमा ३९०, बिर्तामोडमा ३१०, दमकमा २१०, मेचीनगरमा १५० र शनिश्चरेमा ५० जनालाई होल्डिङ एरियामा राख्ने तयारी अनुरुप नेपालीलाई स्वदेश ल्याउने तयारी भएको थियो।

दुई देशका सरकारबीच नागरिकलाई रहेकै स्थानमा सुरक्षित राख्ने सहमति छ। ल्याउन पनि दुवै देशका सरकारको अनुमती चाहिन्छ।

तर, नेपाली पक्षले अलपत्र नागरिकलाई झापा ल्याउने योजनाबाटपछि नहटेको जनाएको छ।

मेची अभियानले खाना खुवाउने, सीमामा ज्वरो नाप्ने र होल्डिङ एरियाबाट उनीहरूको स्वाब संकालन गर्ने र परीक्षणपछि घर पठाउने योजनाका साथ एक हजार ६ सयबढी नेपालीलाई झापा ल्याइएको छ।

लकडाउन सुरु भएदेखि नै भारतीय सीमावर्ती बजार सिलगुडी, नक्साल, पानीट्याङ्की, खोरीबारी, गलगलिया , ठाकुरगञ्ज, दिघलबैक, पाल्सा, डाकुपाडा, फत्तेपुर लगायतका स्थान, पार्टीपैवा र आफन्त लगायतको ठाउँमा पाँच हजार बढी नेपाली कष्टकर जीवन बिताइरहेका छन्।

उनीहरू अधिकांश पश्चिम नेपालबाट भारतका विभिन्न स्थानमा मजदुरी गर्न गएका मानिस हुन्। उद्दारका लागि बारम्बार आग्रह गरेपछि उनीहरूको नाम संकलन गरिएको मेची अभियानका संयोजक विजय डालमियाले बताए।

झापाबाट ३१ जना बढीलाई दाङ, दोलखा लगायतका जिल्ला पठाइएको एक सामाजिक अभियन्ताले बताए। १ लाखको हाराहारीमा गाडी भाडा तिरेर उनीहरूलाई गन्तब्यसम्म पुर्‍यएको उनको भनाइ छ।

प्रदेश सरकार र संघीय सरकारका मन्त्रीको हप्की खानु पर्ने डरले नाम खुलाउन नचाहेको उनले बताए। झापाको माइपूर्वबाट सो संख्यामा नेपाली झापा प्रवेश गरे पनि पश्चिमको अवस्था फरक छ।

झापाको कुञ्जीबारी नाकाबाट २५ जना, कुमरखोद नाकाबाट ४७ जना झापा भित्रीएको तथ्यांक छ।

बुधबार संक्रमण पुष्टि भएका गौरादहका दुई र कचनकवलका १५ जना भारतमा यातायात खुलेपछि नेपाल प्रवेश गरेका व्यक्ति हुन्। यसअघि कचनकवलमा कोरोना पुष्टि भएका ३३ जना पनि एक साता अघि नेपाल आएका नागरिक हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय