धनुषामा एकैदिन थपिए २९ संक्रमित, १८ जना एउटै क्वारेन्टाइनका

धनुषामा एकैदिन कोरोनाका २९ जना नयाँ संक्रमित थपिएका छन्। बिहीबार बिहान प्रदेश २ मा थपिएका ७६ जना नयाँ संक्रमितमध्ये २९ जना धनुषाका हुन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार बिहान सार्वजनिक गरेको विवरणअनुसार प्रदेश २ को धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटका ३ जनामा कोरोना पुष्टि भएको हो।

धनुषामा संक्रमण पुष्टि भएका २९ जनामध्ये १८ जना एउटै क्वारेन्टाइनका मानिस रहेको बताइएको छ। धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले २९ जनामध्ये १८ जना धनुषाको लक्ष्मिनिया गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टाइनका मानिस रहेको बताए।

८ जना धनुषाकै रहे पनि महोत्तरीको जलेश्वरबाट स्वाब परीक्षण गराएको उनले बताए। यसैगरी दुईजना प्रादेशिक अस्पताल जनकपुरको आइसोलेसनमा उपचार गराइरहेका र जनक नन्दनी गाउँपालिका क्वारेन्टाइनमा रहेका एकजनामा संक्रमण पुष्टि भएको उनले बताए।

संक्रमण पुष्टि भएका सबैजना भारतबाट आउनेहरू रहेको निरौलाले जानकारी दिए। ‘लोकल ट्रान्समिसन देखिएको छैन, कन्ट्याक्ट ट्रेसिङमा पनि कोही पोजिटिभ देखिएको छैन,’ उनले भने, ‘संक्रमण देखिनेहरू केही दिनयता भारतबाट आएकाहरू छन्।’

संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेसन बेडसमेत अभाव देखिन थालेको उनले बताए। ‘प्रादेशिक अस्पतालमा निर्माण भएको आइसोलेसन यसअघि नै भरिभराउ छ, महोत्तरीको जलेश्वर अस्पतालमा पनि ठाउँ छैन, नयाँ थपिएकालाई कहाँ राख्ने समस्या भएको छ,’ उनले भने।

नाकाबाट भारतमा रहेका नेपाली फर्किन थालेपछि प्रदेश २ मा संक्रमितको संख्या थपिँदै गएको छ। भारत सरकारले प्रवासी मजदुरलाई घर पठाउन रेल सञ्चालन गरे लगत्तै भारतको विभिन्न स्थानबाट नेपालीहरू प्रदेश २ मा भित्रिइरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय