धुलिखेल अस्पतालका चिकित्सक/नर्सको सुविधामा ७५ प्रतिशत कटौती

मुलुक कोरोना भाइरसको महामारीसँग जुधिरहेको समयमा काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसअन्तर्गत धुलिखेल अस्पतालमा कार्यरत चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीको सेवासुविधामा ७५ प्रतिशत कटौती गरिएको छ।

अस्पताल प्रशासनले पूर्ण सेवा सञ्चालन हुन नसक्दा आम्दानी घटेर संस्था संकटमा गएको भन्दै चैत महिनादेखि नै सेवासुविधा कटौती सुरु गरेको हो।

चैतको सुविधामा २५ प्रतिशत र वैशाखको सुविधामा ७५ प्रतिशतसम्म कटौती गरेको पाइएको छ।

कोरोना महामारी बढ्दै जाँदा सरकारले लकडाउन घोषणा गरेसँगै अस्पतालले इमजेन्सीबाहेकका सेवा नचलाउने, थोरै चिकित्सक र कर्मचारीले मात्रै सेवा दिने भन्दै ड्युटी आवर कटौती गरेको थियो।

कोरोना क्लिनिकको रूपमा सन्चालित अस्पतालमा आकस्मिक स्वास्थ्यसेवामा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीको समेत तलब कटौती भएको चिकित्सकहरूको भनाइ छ। यद्यपि सरकारले कोरोना उपचारमा खटिने सबै प्रकारका संस्थाका जनशक्तिलाई भत्ता दिने घोषणा गरेको छ।

सुरुमा सुविधा घटेर आएपछि फ्याकल्टी काउन्सिलले अस्पताल व्यवस्थापनसँग असन्तुष्टि जनाएको थियो। त्यसपछि अस्पताल प्रशासनले पत्रकार सम्मेलन गरेर अस्पतालद्वारा स्थापित कोभिड कोषमा सहयोग गर्न स्वेच्छिक रूपमा योगदान गरेको जानकारी दिएको थियो।

‘संस्था जोगाउनका लागि सरकारसमक्ष जान फ्याकल्टी पनि सँगै हुन्छौं, तर कुनै पनि बहानामा सेवासुविधामा भारी कटौती मान्य छैन।’

तर, अस्पताल प्रशासनले झन् वैशाखको तलब पठाउँदा बेसिक तलब र ग्रेड मात्रै उपलब्ध गराएको र अन्य भत्तासुविधा कटौती भएको भन्दै ७५ प्रतिशतसम्म सेवासुविधा घटाएको थियो। धुलिखेल अस्पतालमा चिकित्सकहरूको बेसिक तलब निकै न्युन र भत्ता सुविधा बढी थियो।

भत्ता सुविधा काटेसँगै बेसिक तलबले मात्रै दैनिक गुजारा चलाउनसमेत धौधौ भएको चिकित्सकहरूको गुनासो छ।

काठमाडौं विद्यालयअन्तर्गतका अन्य इन्जिनियरिङ, व्यवस्थापन, कानुनलगायतका ६ वटा स्कुलका सबै फ्याकल्टी र कर्मचारीलाई पूर्ण सेवासुविधा दिए पनि स्कुल अफ मेडिकल साइन्सका जनशक्तिको सेवासुविधामा कटौती गरिएको छ।

केयु फ्याकल्टी काउन्सिलका सभापति डा. मनोज हुमागाईंले महामारीका समयमा स्कुल अफ मेडिकल साइन्सेसतर्फ फ्याकल्टी र जनशक्तिको तलब कटौती हुनु अन्यायपूर्ण भएको बताए।

काउन्सिलका अनुसार मेडिकल स्कुलतर्फका मात्रै १ सय ७८ फ्याकल्टी कार्यरत छन्। ४ सय ५० बेडको अस्पतालमा ठूलो संख्याका मेडिकल अफिसर, नर्स र पारामेडिक्ससहित १ हजारभन्दा बढी जनशक्ति कार्यरत छन्।

डा. हुमागाईंले दुई महिना अस्पताल सेवा र आम्दनी कम हुँदैमा जनशक्तिको सेवासुविधा कटौती गर्नुपर्ने अवस्था आउनु अविश्वसनीय भएको बताए। ‘दुई महिनामै धराशायी हुने गरी यसअघि संस्था कसरी चलेको थियो ?’ डा. हुमागाईंले भने, ‘संस्था जोगाउनका लागि सरकारसमक्ष जान फ्याकल्टी पनि सँगै हुन्छौं, तर कुनै पनि बहानामा सेवासुविधामा भारी कटौती मान्य छैन।’

‘अहिले चिकित्सकहरूको साँझको पेइङ क्लिनिक, अनकल, केही पनि छैन, त्यसले पनि खाइरहेको सुविधा घट्छ नै,’

अस्पताल प्रशासनले सेवा कटौती स्वेच्छिक भएको दाबी गरे पनि परिषद्ले फ्याकल्टीमाझ सर्वेक्षण गराएको थियो। सर्वेक्षणमा तलब सुविधाबारे धारणा सार्वजनिक गर्न चाहेका १ सय २५ फ्याकल्टीमध्ये १ सय २० जनाले यो स्वेच्छिक नभई जबरजस्ती निर्णय भएको विचार राखेका थिए।

प्राध्यापकहरूले अस्पताल नचले पनि विभिन्न विषयमा ठूलो संख्यामा पढिरहेका विद्यार्थीबाट वार्षिक रूपमा शुल्क उठिरहेको र त्यो तलब सुविधाका लागि पर्याप्त हुने बताएका छन्।
मेडिकल साइन्सका डिन डा. राजेन्द्र कोजुले अस्पताल सेवामूलक सामाजिक संस्था भए पनि आफंै कमाएर चल्नुपर्ने बाध्यता भएको र सेवा घटेसँगै जटिल परिस्थिति आइपरेको बताए। ‘काम गरिरहेकाहरूले तलब र भत्ता पाइरहेका छन्, काम नगरेको अवस्थामा भत्ता काटिनु त स्वाभाविक नै हो,’ डा. कोजुले थपे, ‘तलब पनि नपाइने अवस्था आएमा के गर्ने ?’

उनले तीन महिनामा अस्पतालको आम्दानी कमी हुँदा अस्पतालको ६० प्रतिशत सन्चालन खर्च घटेको र कतैबाट अस्पताल सन्चालनका लागि विशेष अनुदान पनि नआएको बताए। ‘अहिले चिकित्सकहरूको साँझको पेइङ क्लिनिक, अनकल, केही पनि छैन, त्यसले पनि खाइरहेको सुविधा घट्छ नै,’ उनले भने।

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सक÷स्वास्थ्यकर्मीको तलब सुविधा काटिनु ज्यादती भएको बताए। ‘अहिले अस्पताल चलेन भनेर २५ प्रतिशतमा काम लगाउनेले महामारी बढे वा लकडाउन खुलेपछि कुन मुखले काममा बोलाउने?’ भन्दै प्रश्न गरे।

सामुदायिक, निजी, सरकारी भनेर चिकित्सकमाथि विभेद गरिने हो भने कोही पनि ज्यान जोखिममा राखेर काम गर्न तयार नहुने भन्दै अध्यक्ष कार्कीले सरकार वा अस्पतालहरूले जनशक्तिको मनोबल गिराएर गम्भीर गल्ती गरिरहेको टिप्पणी गरे। ‘संस्थाको विकासमा अभिन्न अंग बनेर समर्पित जनशक्तिलाई अहिले संकट छ भनेर नजोगाउने हो भने भोलि सहज अवस्थामा पनि यस्ता संस्था कसरी चल्छन्?’ डा. कार्कीले थपे।

2 thoughts on “धुलिखेल अस्पतालका चिकित्सक/नर्सको सुविधामा ७५ प्रतिशत कटौती

  1. यस्ताे समयमा चैत्र महिनादेखि नै कर्मचारीहरुलाई नाम मात्रको तलब दिएर भत्ता सुबिधा सबै काट्ने अनि पछि आएर कर्मचारीकाे सहयाेग भनेर पत्रकार सम्मेलन गर्ने ………..कस्ताे काइदा!!!!!!

  2. त्यो हस्पिटल काठमाडौ बिश्वबिद्यालय सङ्ग जोडिएको भए पनि त्यसको नियम कानुन भिन्नै भएको हुँदा बिश्वबिद्यालयका अन्य स्कुलले पुरै तलब पायो र हस्पिटलकाले पाएनन् भन्नू भन्दा पनि उहाँहरूलाई पनि पुरै तलब प्राप्त गर्न सबै तिरबाट दबाब दिन जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय