महामारीमा यसो गरे भइएला, ‘समृद्ध नेपाल, सुखी नेपाली’

नेपालले बर्सेनि प्राकृतिक तथा गैरप्राकृतिक विपत्तिहरुको सामना गर्नुपरिरहेको छ। बाढीपहिरो, हावाहुरी, डढेलो, भूकम्प, जलवायु परिवर्तन, महामारी आदि प्राकृतिक प्रकोपहरूसँग पटक–पटक जुधिरहेको नेपालले प्राकृतिक मात्र नभई कहिलेकाहीँ मानव सिर्जित विपद्हरू पनि सहनुपरेको छ।

संकटा सन्नाटा र जोखिमका सम्बन्धमा गरिएको अध्ययन (युएनडिपी÷बिसिपिआर २००४) अनुसार भूकम्पको सापेक्षिक संकटा सन्नाटाको दृष्टिबाट संसारका सबैभन्दा बढी जोखिममा रहेका देशमध्ये नेपाल भूकम्पको उच्च जोखिमको स्केल (एमएमआई नवौं र ११औं) अर्थात एघारौं स्थानमा पर्छ भने विश्वमा विपद् जोखिम नक्सांकनमा बीसौं स्थानमा छ।

पटक पटक महामारीको रूपमा हैजा, झाडापखाला, दादुरा, पोलियोलगायत अन्य सरुवा रोगहरूले नेपाललाई अछुतो राख्न सकेको छैन।

हालै मात्र विश्वभर महामारीको रूपमा फैलिइरहेको कोरोना भाइरस जसलाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड–१९ को नाम दिएको छ। त्यसैबाट अहिले विश्व त्रासको अवस्था छ।

विशेषगरी श्वासप्रश्वासबाट सर्ने भनी विश्वास गरिएको यो सरुवा रोगले नेपालमा पनि महामारीको रूप लिँदै छ। यो लेख तयार पार्दासम्म देशभित्र र बाहिर गरी सयौं नेपाली दाजुभाइ, दिदीबहिनी संक्रमित हुन पुगेका छन् भने कतिले ज्यानसमेत गुमाइसकेका छन्। देशलाई यस्तो विपद् वा महामारीले आक्रान्त बनाइरहेको अवस्थामा राष्ट्रसेवक कर्मचारीहरू, स्वास्थ्यकर्मीहरू, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू लगायत आम जनसमुदाय आ–आफ्नो क्षेत्रबाट कोरोनाविरुद्ध लड्न आफ्नो जिउज्यानको समेत प्रवाह नगरी राष्ट्रसेवामा तल्लीन छन्।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी महाभूकम्पले थलिएको नेपाली अर्थतन्त्र र सोही कारणले ढलेका संरचनाहरू पूर्ण रूपमा उठ्न नपाउँदै फेरि अर्को बज्रपात नेपाल र नेपालीले सहन बाध्य हुनुपरेको छ।

बल्लतल्ल नेपाल सरकार, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, अन्य राष्ट्रिय र अन्तर्राष्ट्रिय सरकारी एबं गैरसरकारी संस्थाहरू, जनप्रतिनिधिहरू, कर्मचारीहरू एवं आम नेपालीको बाहुबलले केही हदसम्म उठेको नेपाललाई कोरोना महामारीले पुनः प्रभावित पारेको छ।

कमजोर आर्थिक अवस्था, महामारीबारे न्युन जानकारी एवं चेतना, अपूर्ण पूर्वतयारी, इत्यादि कारणले गर्दा नेपालजस्तो विकासोन्मुख राष्ट्रमा कोभिड–१९ विरुद्ध लड्न आवश्यक स्रोतसाधन, औषधी उपचार एवं रोग नियन्त्रण गर्ने उपकरणसमेतको अभाव छ।

यस्तो विषम परिस्थितिमा पनि साधारण व्यक्तिगत सुरक्षाकवच अर्थात पर्सनल प्रोटेक्टिभ इक्वेपमेन्ट (पिपिई) पर्याप्त नहुँदा समेत आफ्नो देश र जनताको उद्दारमा खटिएका स्वास्थ्यक्षेत्रका योद्धा (चिकित्सक, नर्स, ल्याब टेक्नोलोजिस्ट, फर्मासिस्ट, अन्य स्वास्थ्यकर्मी, स्वयंसेवक, एम्बुलेन्स चालक, आदि) लगायत सम्पूर्ण मानवरुपी भगवान्हरूमा हार्दिक नमन गर्दछु।

हो, देशलाई यस्तै किसिमका महामानवहरू अर्थात् विपद्सँग डटेर लड्न अघि सर्ने योद्धाहरूको खाँचो छ। एउटा देशभक्त नागरिकको भूमिका पनि यही होस जब–जब देशलाई आपतविपद् पर्छ तब–तब यस्ता योद्धाहरूले नै देश र जनताको उद्दार गर्ने हो र यस्ता सच्चा राष्ट्रसेवक वा योद्धाप्रति सरकारको पनि दायित्व रहन्छ।

नेपाल आमालाई आवश्यक परेका बेला आफ्नो जीवन धरापमा राखेर पनि नेपाली जनताको सेवामा अग्रपंक्तिमा रहने यस्ता कर्मठशील योद्धालाई सरकारले ससम्मान हौसला प्रदान गर्दै थप उर्जाशील रूपमा लागि पर्न प्रोत्साहित गर्नुपर्छ। तर कतिपय अवस्थामा त्यस्ता योद्धाहरूप्रति भेदभाव गरेको सुन्दा कताकता चित्त दुखेर आउँछ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुन, १० वर्षदेखि उक्त अस्पतालमा करार सेवामा विशेषज्ञको रूपमा कार्य गर्दै कोरोना रोग नियन्त्रण सम्बन्धमा प्रशंसनीय कार्य गर्दा पनि निजलाई करार भएका कारण निजामतीभन्दा भिन्न व्यवहार गरिएको भन्ने समाचारले धेरै नेपालीको चित्त दुखायो।

करार सेवामै भएता पनि सरुवा रोग सम्बन्धमा उहाँ अरु कुनै निजामती कर्मचारीभन्दा कम हुनुहुन्न भन्ने कुरा उहाँको सर्टिफिकेट, सीप, ज्ञान, खोज एवं अनुसन्धानले पुष्टि गर्दछ।

हाल देशमा निजामती चिकित्सक एवं अन्य स्वास्थ्यकर्मीहरू ज्यादै न्युन मात्रामा रहेको अवस्थामा नेपाल सरकारले करारका चिकित्सक एवं स्वास्थ्यकर्मीलाई नै हौसलासहित परिचालन गरी महामारीको रूपमा फैलिरहेको कोरोना रोगको नियन्त्रणमा उहाँहरूको अमूल्य सहयोग लिनुपर्छ।

देशमा ठू–ठूला आपतविपद् आइपर्दा योद्धाको रूपमा करारका कर्मचारीले पनि निजामतीसरह वा निजामतीभन्दा बढी राष्ट्रसेवा गरी देश र जनताप्रति अहोरात्र सेवा गरेका ज्वलन्त उदाहरण हाम्रासामु ताजै छन्। सरकारले करारका कर्मचारी पनि निजामतीसरह प्रतिभावान र असाधारण क्षमताका हुन्छन् भन्ने बिर्सनुहुँदैन र आजका करार भोलिका निजामती वा अन्तर्राष्ट्रिय स्तरका कर्मचारीसमेत हुन सक्छन् भन्ने भुल्न हुँदैन।

२०७२ सालकै महाभूकम्पपछिको पुनर्निर्माण कार्यमा पनि करारकै प्राविधिक (इन्जिनियर, सव–इन्जिनियर, असिस्टेन्ट सव–इन्जिनियर, इत्यादि) लगायत चार हजारभन्दा बढी जनशक्ति फिल्डमा अहोरात्र खटिएर मात्रै हालको पुनर्निर्माणको अवस्थामा (९० प्रतिशतसम्म) सफलता मिलेको कुरा सरकारले भुल्नुहुँदैन।

त्यसैले जस्तोसुकै विपद्मा (चाहे त्यो कोरोना महामारी नियन्त्रणमा होस् वा भूकम्पपछिको पुनर्निर्माणमा होस् देश र जनाताको उद्दारमा अतुलनीय योगदान गरेका योद्धाहरू (जस्तोसुकै ओहदा र पदका निजामतीसहित करारका कर्मचारीलाई पनि) को सरकारले सक्छ भने उनीहरूको लोकसेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धा गराएर स्थायित्व, बढुवा, आदिको प्रत्याभूति गराउन सक्नुपर्छ। होइन भने उनीहरूको कमसे कम सीप र अमूल्य योगदानको कदर गर्नुपर्छ। तर काम हुन्जेल भाँडो र काम सकिएपछि घाँडो चाहिँ कदापि गर्नुहुँदैन। यसो गरेमा मात्र देशले राष्ट्रसेवक कर्मचारीहरू र आमनेपाली जनताको माया र साथ सधैँ पाइरहन्छ र ‘समृद्ध नेपाल, सुखी नेपाली’ नाराले पनि सार्थकता पाउँछ ।

(लेखक न्यौपाने भरतपुर महानगरपालिकाका फोकल इन्जिनियर हुन्)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय