कोरोना संक्रमित स्वास्थ्यकर्मी भन्छन्- ‘हाम्रै मनोबल कमजाेर भए, बिरामीलाई कसले देला हौसला?’

पहिला जसरी खटिन्थे, अहिले पनि सेवामा त्यसरी नै खटिन्छन्। मात्र थोरै फरक शैलीमा।

सोच्छन्, ‘आफू नै कमजोर भएँ भने अरु बिरामीको अवस्था के होला?’ त्यसैले उनी अरुलाई पनि सम्झाइबुझाइ गर्दै सेवा दिन्छन् ।

उनी हुन् धनकुटा जिल्ला अस्पतालका कोरोना भाइरसको संक्रमित स्वास्थ्यकर्मी गणेश बुढाथोकी। कोरोनाको संक्रमण भए पनि उनले अरु संक्रमित सर्वसाधारणको सेवा गर्न छाडेका छैनन्।

उनी आफूलाई मात्रै सम्हाल्दैनन्, अस्पतालमा रहेका सबै संक्रमितलाई हौसला तथा सान्त्वना दिन भ्याउँछन्।

संक्रमित स्वास्थ्यकर्मीले नै सामान्य स्वास्थ्य परीक्षण तथा हेरचाह गरेपछि अरु संक्रमित पनि केही संयमित हुने गरेका छन्।

उनी आफू संक्रमित भएर पनि अन्य बिरामीको ज्वरो नाप्ने, सान्त्वना दिने तथा भाइरसको संक्रमणबारे अरुको जिज्ञासा मेटाउने काम गर्छन्।

संक्रमित बुढाथोकी कोसी अञ्चल (कोभिड १९) अस्पतालको आइसोलेसन वार्डमा उपचाररत छन्।

‘कोरोना पोजेटिभ देखिँदैमा कोही मर्दैन, आत्मबल आत्मविश्वास बलियो भए सजिलैसँग कोरोना जित्न सकिन्छ,’ संक्रमित बुढाथोकी भन्छन्, ‘आफू संयमित नभई अन्य संक्रमितलाई सम्झाउन सकिँदैन। मन, मुटु दरिलो बनाई सबैलाई सम्हालिन आग्रह गरिरहेका छौं।’

संक्रमित हुँदैमा कसैलाई केही नहुने भन्दै उनी स्वास्थ्यकर्मीलगायत सबैलाई आत्मबल बढाएर महामारी जित्नुपर्ने बताउँछन्।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनले एकदिन महामारीसँग लड्नुपर्छ भन्ने मानसिकता तयार पारेका थिए। फलस्वरुप आफूलाई कोरोनाले तनाव तथा मरिन्छ भन्ने सोचबाट टाढा राख्न सकेको उनले सुनाए।

‘कोरोना पोजेटिभ देखिँदैमा कोही मर्दैन, आत्मबल आत्मविश्वास बलियो भए सजिलैसँग कोरोना जित्न सकिन्छ,’ संक्रमित बुढाथोकी भन्छन्, ‘आफू संयमित नभई अन्य संक्रमितलाई सम्झाउन सकिँदैन। मन, मुटु दरिलो बनाई सबैलाई सम्हालिन आग्रह गरिरहेका छौं।’

‘हामी नै हतोत्साही भयौं भने सर्वसाधारणको अवस्था के होला? यही सोचेर मनोबल बढाएका हौं। एकदिन भाइरसको महामारी सामना गर्नुपर्छ भन्ने थाहा थियो, त्यसै अनुसार आफूलाई तयार पारेका थिए,’ उनले दृढ आत्मविश्वास पोखे ।

उनले आफैं संक्रमित भएकाले मानवीयता तथा सेवाका कारण अरु संक्रमितलाई सम्झाउन सजिलो भएको सुनाए।

संक्रमित स्वास्थ्यकर्मीहरूले सर्वसाधारणलाई ढाडस दिने काम गरिरहेका छन्। पहिले आत्तिए पनि अहिले सामान्य छन्। त्यो अवस्था आउनु भनेको स्वास्थ्यकर्मीको मनोबल तथा सान्त्वना नै हो।

‘कोसी अञ्चल अस्पतालमा उपचाररत सर्वसाधारण सुरुमा एकदमै अतालिएका थिए। उनीहरूमा भाइरसप्रति त्रास थियो तर हामीलाई पनि देखेपछि केही फरक महसुस गर्न थालेका छन्,’ बुढाथोकी भन्छन्, ‘उनीहरू अहिले आत्मविश्वासले नै कोरोना जित्नुपर्ने मनस्थितिमा पुगेका छन्।’

‘आफूले स्वास्थ्यसेवा रोजेकाले धर्मकर्म नै बिरामीको सेवा हो,’ उनी भन्छन्, ‘कोरोना जित्न धैर्य र उत्साही हुनुपर्छ। सकुन्जेल सेवा गर्छौं, सबैले दायित्व तथा कर्तव्य पालना गर्नैपर्छ।’

उनले आफूलाई घरपरिवारलगायत सबै साथीभाइले हौसला दिएको सुनाए। भन्छन्, सबैको साथ सहयोगले अझै आत्मबल बढेको छ ।

जेठ ४ मा रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा संक्रमण देखिएपछि जेठ ५ मा अरु ८३ स्वास्थ्यकर्मीको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये चारजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसमा बुढाथोकी पनि थिए।

बुढाथोकीलाई कोरोना पोजेटिभ देखिएपछि श्रीमती तथा छोराको स्वास्थ्य परीक्षण गरिएको थियो। उनीहरू दुवैको रिपोर्ट नेगेटिभ आएको छ।

‘अस्पतालमा ड्युटी गर्ने र क्वाटरमा बस्ने दिनचर्या थियो। हामी न जिल्लाबाहिर गएका छौं, न त ट्राभल हिस्ट्री नै छ,’ बुढाथोकी भन्छन्, ‘आफूमा कोरोना संक्रमण कसरी देखियो थाहा नै छैन।’

उनी सबेरै उठेर आधा घण्टा व्यायाम गर्छन्। अनि अन्य बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै उनीहरूसँग एकदिन गफिन्छन्। खाली समयको सदुपयोग गर्न पब्जी खेल्छन्। नयाँ गीतसंगीत सुन्छन्। हिन्दी तथा दक्षिण भारतीय फिल्म पनि हेर्छन्।

स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको संक्रमण भएको खबरबीच धनकुटा अस्पतालमा कार्यरत एकजना स्वास्थ्यकर्मीले जेठ २ स्वास्थ्य परीक्षण गराएकी थिइन्।

जेठ ४ मा रिपोर्ट आएपछि उनमा कोरोना पोजेटिभ देखिएको थियो। उनमा संक्रमण देखिएपछि जेठ ५ मा अरु ८३ स्वास्थ्यकर्मीको पिसिआर विधिमार्फत स्वास्थ्य परीक्षण गरिएको थियो। त्यसमध्ये चारजना स्वास्थ्यकर्मीको रिपोर्ट पोजेटिभ आएको थियो। त्यसमा बुढाथोकी पनि थिए।

धनकुटामा सुरुमा स्वास्थ्यकर्मीमै कोरोना भाइरसको संक्रमण रहेको पाइएको हो। अहिले धनकुटा अस्पतालका चार स्वास्थ्यकर्मी, दुई सुरक्षाकर्मी र एक कर्मचारीको श्रीमान गरी ७ जना कोरोना संक्रमित छन्।

संक्रमित बुढाथोकीलगायत सबैको स्वास्थ्यस्थिति सामान्य छ।

अञ्चल अस्पतालको आइसोलेसन वार्डमा ६ जना छन्। वार्डमा सामाजिक दूरी कायम गर्न एक–एक बेडको अन्तर कायम गरिएको छ।

‘अहिलेसम्म अवस्था सामान्य छ। हामी सबै स्वास्थ्यकर्मी फ्रेस छौं। आत्मबल बलियो भए कोरोनाको जोर चल्दैन,’ उनले भने, ‘कोरोना भाइरसको संक्रमण निको भएपछि अस्पताल फर्किएर पुनः पहिलाकै सेवामा फर्किन्छु।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय