बिरामी शरीर घिसार्दै सिमानामा आइपुगे, चाउचाउ खाँदाखाँदै देह त्याग गरे

हेल्थपोस्ट/जनकपुर
प्रकाशित
२०७७ जेठ १४ गते १६:०७

धनुषाको सहिदनगर नगरपालिका–९ का ३२ वर्षीय वीरेन्द्र यादवको बुधबार बिहान धनुषाको जटही नाकामा मृत्यु भएको छ। भारतको सूरतबाट घर फर्किने क्रममा वीरेन्द्रले जहटी नाकामा ज्यान गुमाए। घर पुग्न केही किलोमिटरमात्र बाँकी छँदा उनी दुनियाँबाट बिदा भएका छन्।

वीरेन्द्र गत फागुनमा काम गर्न भारत पुगेका थिए। भारतको गुजरात राज्यको सूरतस्थित एक होटलमा उनले काम पाएका थिए। तर, कोरोना महामारीपछि होटलहरू बन्द हुँदा उनलाई घर फर्किनुको विकल्प थिएन।

भारत सरकारले रेल चलाइदिएपछि वीरेन्द्र आफ्ना साथीसहित सूरतबाट हिँडे। तर, नाकासम्म आइपुगे पनि वीरेन्द्र घर पुग्न पाएनन्।

वीरेन्द्रसहित उनका साथीहरू बुधबार बिहान ३ बजेतर्फ जनकपुरभन्दा १३/१४ किलोमिटर दक्षिण रहेको जटही नाका पुगे। नेपाली सीमामा प्रवेश गरिसके पनि त्यहाँबाट हिँड्न पाएनन्। नाकाबाट बिहान १० र साँझ ६ बजेमात्र प्रवेश गर्न अनुमति छ। त्यो पनि स्वास्थ्य जाँचपछि सम्बन्धित स्थानीय तहलाई जिम्मा लगाएर मात्रै प्रवेश दिइने गरिएको छ।

पहिलेदेखि अस्वस्थ्य रहेका वीरेन्द्रलाई थप समस्या भयो। उनका साथीहरूले प्रहरीलाई खबर गरे। सशस्त्र प्रहरीले वीरेन्द्रलाई चाउचाउ र पानी खान लगाए। तर, केहीबेर नबित्दै लगातारको बान्तापछि वीरेन्द्रको नाकाको सडकमै ज्यान गयो।

वीरेन्द्रको मृत्यु के कारणले भयो प्रष्ट हुन सकेको छैन। बिहानैदेखि नाकामा रहेको उनको शव अस्पतालसम्म पुर्याउनसमेत कोही तयार भइरहेको थिएन्। अन्ततः नेपाली सेनाको टोलीले वीरेन्द्रको शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको छ।

पहिलेदेखि अस्वस्थ्य रहेका वीरेन्द्रलाई थप समस्या भयो। उनका साथीहरूले प्रहरीलाई खबर गरे। सशस्त्र प्रहरीले वीरेन्द्रलाई चाउचाउ र पानी खान लगाए। तर, केहीबेर नबित्दै लगातारको बान्तापछि वीरेन्द्रको नाकाको सडकमै ज्यान गयो।

वीरेन्द्रका आफन्त दीपेन्द्र यादवले उनी तीन दिनअघि सूरतबाट हिँडेर मंगलबार साँझ बिहारको दरभं‌गा पुगेको बताए। ‘वीरेन्द्रले हिजो साँझ दरभंगाबाट घरमा फोन गरेका थिए,’ दीपेन्द्र भन्छन्, ‘उनले अस्वस्थ्य रहेको र बोल्न समेत समस्या रहेको बताएका थिए।’ दीपेन्द्रका अनुसार वीरेन्द्रलाई १०/१५ दिनदेखि ज्वरोले सताइरहेको थियो।

वीरेन्द्रसहित उनका साथीहरू दरभंगाबाट जटही नाकासम्म बस चढेर आएको उनले बताए। देशको सीमासम्म आइपुगेका मानिस घरसम्म नपुगेर नाकामै ज्यान गुमाउनुपर्ने सरकारी व्यवस्थाप्रति दीपेन्द्रले दुःख व्यक्त गरे।

सहिदनगर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष रामदेव मरिक यादवले पनि मंगलबार साँझ धनुषा हंसपुर मल्हिनियाका उनका साथीले फोन गरेर आफूहरू दरभंगामा अलपत्र परेको बताएको सुनाए। ‘नाम थाहा भएन वीरेन्द्रसँगै रहेका एकजनाले मलाई हिजो साँझ फोन गरेर दरभंगामा फसेको सुनाए,’ उनले भने, ‘मैले एम्बुलेन्स समाएर जटही नाकासम्म आइपुग्न भने। म कहाँ आइपुगेको वीरेन्द्रका परिवारलाई एम्बुलेन्सको सिफारिससमेत दिए। तर, आज बिहान उनको मृत्यु भएको खबर सुनेर अचम्म लागेको छ।’

‘फोनमा कुरा गर्दा उनको स्वास्थ्य ठीक नरहेको वीरेन्द्रको साथीले सुनाएको थियो,’ वडाध्यक्ष यादवले भने।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले वीरेन्द्रको मृत्युको कारणबारे स्पष्ट हुन नसकेको बताए। ‘उनी बिहान तीन बजेतिर नाका आइपुगेका रहेछन्, स्वास्थ्य बिग्रिएको हल्ला चले पनि सुरुमा सामान्य रहेको सबैले भने,’  निरौला भन्छन्, ‘सशस्त्र प्रहरीले चाउचाउ र पानी पनि खुवायो। तर, केहीबेरपछि अचानक उनको मृत्यु भयो।’ पोस्टमार्टमको लागि शव प्रादेशिक अस्पताल पठाइएको र उनको कोरोना परीक्षणसमेत हुने उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय