भिटीएम अभावले झापामा स्वाब संकलन रोकियो

राजेन्द्र गौतम/झापा
प्रकाशित
२०७७ जेठ १४ गते १३:३६

झापामा भाइरल ट्रान्सपोर्ट मिडियम (भिटीएम) अभाव भएको छ। जसले गर्दा स्वाब संकलनको काम रोकिएको छ।

३७ जना कोरोना संक्रमित पुष्टि भएको झापामा भिटीएम अभाव भएपछि निजी क्षेत्रले सरकारी निकायलाई सहयोग गर्न थालेका छन्। ‘एकका लागि एक’ अभियाले झापामा पहिलो पटक कोरोना भाइरस रोकथाम नियन्त्रण, उपचार समन्वय तथा अनुगमन समिति झापालाई ३ सय ४० थान भिटीएम हस्तान्तरण गरेको छ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरलाई हस्तान्तरण गरिएको भिटीएम कचनकवल गाउँपालिकालाई उपलब्ध गराइएको छ। कचनकवलमा मात्रै ३३ जना कोरोना संक्रमित छन्।

सोअभियानका संयोजक महेन्द्रकुमार गिरीले पहिलो चरणमा ३ सय ४० थान भिटीएम उपलब्ध गराइएको र पछि ६ सय ६० थान भिटीएम खरिद गरेर उपलब्ध गराइने बताए।
त्यसैगरी मेची अभियानले चीनबाट भिटीएम खरिद प्रक्रिया अघि बढाएको छ। त्यसरी खरिद गरिएको भिटीएम मेचीनगर नगरपालिकालाई हस्तान्तरण गरिने अभियान संयोजक विजय डालमियाले बताए।

सरकारको सिफारिसमा चीनबाट एक हजार भिटीएम ल्याइने र अबको १० दिनमा भिटीएम काँकरभिट्टा आइपुग्ने उनले बताए। योसँगै कोरोना जाँच आवश्यक पर्ने अन्य सामग्रीसमेत ल्याइने डालमियाले बताए।

जिल्ला समन्वय समिति झापाले पनि एक हजार थान भिटीएम किन्ने तयारी थालेको अध्यक्ष सोम पोर्तेलले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय