‘कन्ट्याक्ट ट्रेसिङ’ कसरी प्रभावकारी बनाउने?

कोरोना  भाइरसकाे महामारीविरुद्ध संसार लडिरहेको छ। लेख तयार पार्दाको क्षणसम्म विश्वका यो भाइरस २ सय १३ देशमा पुगिसकेको छ। यसबाट मृत्यु हुनेको संख्यामात्रै ३ लाख ४८ हजार र संक्रमितको संख्या ५६ लाख बढी छ।

नेपालको सन्दर्भमा सातै प्रदेश र ४६ जिल्लामा संक्रमण पुगिसकेको छ। पछिल्लो दिनमा संक्रमितका आँकडा हेर्दा यो क्रम अझै बढ्ने सहजै अनुमान गर्न सकिन्छ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले विभिन्न प्रतिकार्य गर्दै आएको छ। सरकारले कोरोना रोकथामको लागि अवलम्वन गरेका ६ वटा रणनीति मध्ये कन्ट्याक्ट ट्रेसिङ एक हो। यो नेपालमात्रै होइन सर्ने खालका अधिकांश रोगको नियन्त्रण तथा रोकथामका लागि संसारले अपनाउँदै आएको विधि पनि हो।

नेपालमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको २०७६ माघ ९ मा हो । हालसम्म यसबाट संक्रमितको संख्या ७ सय नाघिसकेको छ। फेरि पनि यो रोकिने केही छाँटकाँट देखिँदैन । नयाँ संक्रमण भेटिएदेखि नै नेपालमा आकस्मिक वा व्यवस्थित रूपमा कन्ट्याक्ट ट्रेसिङको काम हुँदै आएको छ।

सुरुका दिनमा थोरै संक्रमित देखिँदासम्म सानो तहमा भएकै कन्ट्याक्ट ट्रेसिङ प्रभावकारी थियो। अब छरिएर र एकै ठाउँमा पनि ठूलो संख्यामा संक्रमित देखिरहँदा अहिलेकै तौरतरिकाबाट कन्ट्याक्ट ट्रेसिङले नयाँ संक्रमण फैलिन रोक्ने चरणसम्म हामीलाई पुर्याउन सक्ला कि नसक्ला भनेर सोच्ने र समीक्षा गर्ने समय आएको छ।

त्यसैको बोध गरेर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ वैशाख ३० गते कोभिड -१९ का लागि केश अनुसन्धान तथा कन्ट्याक्ट खोज पड्ताल टिम परिचालन अन्तरिम निर्देशिका,२०७७ जारी गरेको छ। यो ढिला भएपनि सराहनीय र महत्वपूर्ण कार्य हो।

अहिले ट्रेसिङका लागि पनि विभिन्न देशले विभिन्न तरिका अपनाएका छन्। जसमा कोरियाले अवलम्बन गरेको कन्ट्याक्ट ट्रेसिङको विधि उत्तम मानिएको छ।

निर्देशिका बन्नु जति महत्त्वपूर्ण छ, त्यो भन्दा महत्त्वपूर्ण महामारी प्रतिकार्यमा यो अनुसारका काम हुने र त्यसले प्रभावकारी नतिजा दिन सक्नुपर्छ।

निर्देशिका जारी भएको दुई सातामा कति कन्ट्याक्ट ट्रेसिङ भयो र त्यो कति प्रभावकारी रूपमा भयो भनेर अहिले खोजी हुन थालेको छ। निर्देशिकाको मर्मअनुसार प्रत्येक गाउँपालिका एउटा नगरपालिकामा २ वटा उपमहानगरपालिकामा ३ वटा साथै महानगरपालिकामा ५ वटा ट्रेसिङ टिम बन्नुपर्छ।

निर्देशिकाअनुसार देशभर १०७५ यस्ता कन्ट्याक्ट ट्रेसिङ टिमको गठन हुने देखिन्छ। तर हाल निर्देशिका जारी भएको दुईसातासम्म पनि उल्लेख्य रूपमा टिम गठन हुन नसक्नु दुर्भाग्यपूर्ण हो।

सरकारले प्रत्येक टिममा एक /एक जना जनस्वास्थ्य अधिकृत, पारामेडिक्स तथा प्रयोगशाला प्राविधिक वा प्रयोगशाला सहायक गरी तीन जना सदस्य रहने प्रावधान छ।

तर, समितिमा हुनुपर्ने भनिएका जनशक्ति सबै स्थानीय तहमा छन् त ? यसको सम्भावना कम देखिन्छ।

यस्तो परिस्थितिमा निम्तिन सक्ने जटिलता हल गर्न स्थानीय सरकारसँग जनशक्ति नभएको अवस्थामा संघीय सरकारले अपुग जनशक्तिको विवरण संकलन गरी छोटो सूचनामार्फत परिपूर्ति गर्नुपर्ने देखिन्छ। त्यसरी पनि जनशक्ति व्यवस्थापन हुन नसकेको अवस्थामा विकल्पका रूपमा अन्य जनशक्ति राख्ने प्रावधान निर्देशिकामार्फत स्थानीयलाई दिन जरुरी छ।

महामारी रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङको अर्जेन्सी बुझेर कदम चाल्न सकियो भने मात्रै हामी यो लडाइँ पार लगाउन सक्छौ‌‌। जति छिट्टै कन्ट्याक्ट ट्रेसिङ हुनसक्छ त्यति नै छिटो रोग सर्ने दर र दायरा घटाउन सकिन्छ।

बिरामीको प्रत्यक्ष सम्पर्कमा आएका बिरामीलाई पहिलो कन्ट्याक्टको दायरामा ल्याएर थप अनुसन्धान तथा जाँच पड्तालको कार्य अगाडि बढ्नुपर्ने हो। तर जोखिम भन्दा पनि पहुँच एवं सही व्यक्तिको पहिचान हुन नसक्दा रोग झन् बढ्ने देखिन्छ।

कन्ट्याक्ट ट्रेसिङसँगै जोखिमको पहिचान गर्ने, थप फैलिन सक्ने ठाउँहरुको यकिन गरेर त्यसलाई रोक्न पनि ठोस काम गर्नुपर्ने देखिन्छ। विशेषगरी स्वास्थ्यकर्मी नै बिरामीको पहिलो सम्पर्कमा हुने भएकोले सर्वप्रथम सम्पूर्ण स्वास्थ्यकर्मीकाे स्वाब परीक्षण हुन जरुरी देखिन्छ।

स्वास्थ्यकर्मी सुरक्षित नभए झन् रोग सर्नसक्ने सम्भावना भएकोले परीक्षणको दायरामा स्वास्थ्यकर्मीको परीक्षण प्राथमिकताको विषय हुनुपर्छ।

देशका विभिन्न ठाउँमा अहिले स्वास्थ्यकर्मीलाई संक्रमण हुने क्रम बढ्दो छ त्यसैले ट्रेसिङ गर्दाको समयमा होस् वा उपचारमा खटिँदा मापदण्डअनुसार व्यक्तिगत सुरुक्षा सामग्री पनि अर्को अत्यावश्यकीय सर्त हो।

शंकास्पद बिरामीहरूमध्ये ८० प्रतिशतको २४ घण्टाभित्र अन्तरवार्ता हुनुपर्ने मान्यता छ । यो प्रभावकारी हुन नसक्दा यसले झन् रोग सर्ने जोखिम बढाएको छ।

अर्कोतर्फ क्वारेन्टाइनमा राखिएका शंकास्पद व्यक्तिको परीक्षणको नतिजा ढिलो आउने साथै क्वारेन्टाइन व्यवस्थित नहुँदा संक्रमण झन् बढ्ने सम्भावना हुन्छ।

अहिले ट्रेसिङका लागि पनि विभिन्न देशले विभिन्न तरिका अपनाएका छन्। जसमा दक्षिण कोरियाले अवलम्बन गरेको कन्ट्याक्ट ट्रेसिङको विधि उत्तम मानिएको छ।

कोरियाले आफ्नो संचार प्रविधिको प्रयोग गरी सूचना संकलन गरेको थियो। तर ती कुरा हाम्रो परिवेशमा अहिले नै कार्यान्वयन हुने सम्भावना देखिँदैन। हाम्रो परिवेशमा अहिले कन्ट्याक्ट ट्रेसिङ गर्ने विधि भनेको स्वास्थ्यको स्थायी संरचना जुन प्रत्येक वडासम्म छ त्यो संरचना परिचालन गर्नु नै उपयुक्त हुन्छ।

यस बेला नयाँ प्रणाली स्थापनाभन्दा भएको संरचना सुदृढीकरण गर्न जरुरी छ। समयमै कोरोना बिरामीसँग सम्पर्कमा आएका र कन्ट्याक्ट ट्रेसिङ भइसकेकाको नियमित अनुगमन एवं अभिलेख समेत राख्न जरुरी देखिन्छ।

निर्देशिका बनाएर स्थानीय तहको जिम्मामा छाडेर मात्रै संघीय सरकार बस्दा त्यसले निम्तिने परिस्थिति झन् नराम्रो हुनसक्छ। अहिले पनि महामारी नियन्त्रणका सन्दर्भमा स्वास्थ्य पूर्ण जनशक्ति, संरचनासमेत परिचालन हुन बाँकी नै छ।

हामीसँग उपलब्ध जनशक्ति अनुपातमा हाम्रा लक्ष्यहरू निर्धारण गरेर सिंगो स्वास्थ्य प्रणाली परिचालन नहुँदासम्म अपेक्षित नतिजा निकाल्न सकिन्न। उपकरण, सामग्री, भौतिक पूर्वाधारमा हाम्रो स्वास्थ्य प्रणाली कमजाेर होला, तर नेटवर्क, जनशक्तिको मनोबल, सहकार्य गर्ने सन्दर्भमा हाम्रो स्वास्थ्य सिष्टम निकै बलियो छ।

यस बेला नयाँ प्रणाली स्थापनाभन्दा भएको संरचना सुदृढीकरण गर्न जरुरी छ। समयमै कोरोना बिरामीसँग सम्पर्कमा आएका र कन्ट्याक्ट ट्रेसिङ भइसकेकाको नियमित अनुगमन एवं अभिलेख समेत राख्न जरुरी देखिन्छ।

परीक्षण प्रणाली थप सुदृढ पार्नुका साथै निजी क्षेत्रहरूसँगको समन्वयमा यसलाई बढाउँदै लानु अर्को आवश्यकता हो। संक्रमित ब्यक्तिहरूको सम्पर्कमा आएकाको उचित व्यवस्थापन र उनीहरूको कोरोना परीक्षणले देशभर थप जटिलता रोक्न सकिन्छ। यस कार्य लागि सम्बन्धित तहबाट सबैले एकरूपताका साथ लागि पर्नुपर्ने र यस महामारीबाट हुनसक्ने थप जोखिम न्यूनिकरण समेत गर्न सकिन्छ।

यसरी ट्रेसिङमा खटिएका स्वास्थ्यकर्मीलाई सहयोग गरी विवरण उपलब्ध गराएर सम्भावित जोखिमबाट बच्न र बचाउन सकिन्छ। कन्ट्याक्ट ट्रेसिङको प्रभावकारिताका स्थानीय, प्रदेश र संघीय सरकारले पनि प्राथमिकतामा राखेर निरन्तर अनुगमन गरिरहनु पर्दछ ।

जनस्वास्थ्य विषयमा स्नातकाेत्तर गरेका लेखक नेपाल स्वास्थ्यकर्मी संघका महासचिव हुन्।  

2 thoughts on “‘कन्ट्याक्ट ट्रेसिङ’ कसरी प्रभावकारी बनाउने?

  1. 1. Health workers ko suru ma
    2. Aru contract tracing ta thikai cha. I think suru ma border ra isolation ma nai test garera/screen garera matra garna sakyo vane ali sajilo hola. Once bahira bata ayeka haru afno afno thau ma jada tracing ajhai garo hudai jancha
    3. Border bata nepal bhitrauda, proper counseling garnu parcha- so that they will spread less.
    4. Quarantine ma rakhda, distance maintain garna or opposite gari basda sayad kehi better huncha ki

  2. यो लेख अती सान्दर्भिक छ ।ट्रेसिंका लागि प्रत्येक वडा का वडासदश्यहरूको टिम बनाएर आफ्ना वडाका प्रत्येक घरको परिवारसंख्या सहितको नामावली लगत तयार गर्ने र कसैको परिवारको सदश्य बाहिरबाट आएमा स्वस्फुर्त क्वारेटाइनमा जाने वातावरण मिलाए ट्रेसिंकार्य सहज होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय