फ्रन्टलाइन डाक्टर-नर्सलाई बासकै समस्या, होटल खोज्दै हिँड्ने कि, उपचार गर्ने?

दीपक दाहाल/काठमाडौं
प्रकाशित
२०७७ जेठ १२ गते १९:५२

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गत मनमोहन कर्डियोभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् एक महिलामा शनिबार कोरोना पुष्टि भयो।

संक्रमितको प्रत्यक्ष सम्पर्कमा आएका १५ चिकित्सकसहित झन्डै ४० भन्दा बढी नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई सोही दिनदेखि क्वारेन्टाइनमा राख्नुपर्‍यो।

संस्थानभित्रकै उपलब्ध स्थान त्रिवि शिक्षण अस्पतालमा संक्रमण देखिएकी बालिकासँग सम्पर्कमा आएका चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा थिए।

चिकित्सकहरूले विभिन्न होटल समन्वय गर्दा धेरै तयार भएनन्। बल्ल गौशालास्थित पशुपति बुटिक होटलले चिकित्सक-स्वास्थ्यकर्मीलाई बास दिने तत्परता देखायो।

सोही दिन संक्रमितलाई ल्याएको भन्दै स्थानीयले होटल सञ्चालकलाई नै धम्की दिएपछि दोस्रो दिन अस्पताल प्रशासनले रात परेपछि गौशालाकै रामनाम होटलमा चिकित्सकहरू पुर्‍यायो।

त्यसपछि राति नै स्थानीय आएर सञ्चालकलाई केरकार गरेर कराउन थाले। त्यहाँको परिस्थिति पनि सोचेअनुसार सहज भएन।

चिकित्सकहरूले स्थानीय सरकारदेखि विभिन्न स्थानीय अगुवासँग हारगुहार गरेर सम्झाएपछि स्थानीय केही पछाडि हटे।

केही अझै सन्तुष्ट छैनन्। यी दुईटा त पछिल्ला उदाहरण हुन्, कोरोना संक्रमितको उपचारमा दिनरात नभनी जोखिम लिएर खटिएका स्वास्थ्यकर्मीको बास र गाँसमै ठेगान छैन।

केही होटल सञ्चालकले व्यक्तिगत तहमा देखाएका उदारता र चिकित्सकहरूको पहलले छिटपुट होटलले क्वारेन्टाइनका लागि कोटा उपलब्ध गराए पनि सरकारले संस्थागत पहल नगरिदिँदा समस्या झन्-झन् बढ्दै गएको छ।

यस्तो अवस्थामा होटलको नियमन गर्ने पर्यटन मन्त्रालयकै अगुवाइमा गृह र स्वास्थ्य मन्त्रालयसमेत सामेल भएर उपचारमा संलग्न हुने चिकित्सकका लागि भनेर होटल तोकेरै व्यवस्थापन गर्नुपर्नेमा चिकित्सकहरूको जोड छ।

पछिल्ला दिनमा एकपछि अर्को गर्दै अस्पताल तथा स्वास्थ्य संस्थामा संक्रमित भेटिन थालेपछि संक्रमितको प्राइमरी कन्ट्याक्टमा आएकालाई तत्काल र अन्यलाई त्यसपछिको अवस्था हेरेर क्वारेन्टाइन व्यवस्था गरिनुपर्ने देखिएको छ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार पनि लगातार एक साता फ्रन्टलाइनमा खटिने चिकित्सक-स्वास्थ्यकर्मी अनिवार्य रुपमा दुई साता क्वारेन्टाइनमा बस्नुपर्छ भने रिपोर्ट नेगेटिभ आएपछि मात्रै सावधानीपूर्वक काममा फर्किनुपर्छ।

‘क्वारेन्टाइन बस्ने ठाउँ नपाउने, घरबेटीले दुःख दिने, समुदायले असहयोग गर्ने हो भने स्वास्थ्यकर्मी कसरी काममा जान्छ?,’ उनले भने।

सो मापदण्डअनुसार स्वास्थ्य मन्त्रालयले कोभिड-१९ का बिरामीको उपचारमा प्रत्यक्ष रूपमा संलग्न स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीको व्यवस्थापन सम्बन्धी मार्गनिर्देशन २०७७ जारी गरेको छ। तर, सो मापदण्डमा होटल खोज्ने जिम्मा सरकारले चिकित्सकलाई दिएको छ।

जसमा ‘उपचारमा संलग्न स्वास्थ्यकर्मी तथा कर्मचारीलाई आवासको व्यवस्था मिलाउने’ जिम्मेवारी अस्पतालको तोकेको छ। यसको व्यवस्थाका लागि वास्तविक खर्चको आधारमा नबढ्ने गरी प्रतिव्यक्ति दिनको दुई हजार उपलब्ध गराउने उल्लेख छ।

समुदायबाट अलि टाढा भएका र फराकिलो क्षेत्रमा फैलिएका होटलहरूमा त्यो खर्चले नधान्ने र सो शुल्कमा सेवा दिन तत्पर भएका होटलहरू बस्ती वरपरका भएकोले पनि व्यवस्थापन जटिल बनेको चिकित्सकहरू बताउँछन्।

असहज र प्रतिकूल अवस्थामा सरकारी तहबाटै समन्वय नहुँदासम्म चिकित्सकका विशेष सम्बन्धले होटल जोहो गरेर मात्रै महामारीको व्यवस्थापन दिगो नहुने मनमोहन सेन्टरका कोभिड संयोजक डा. रञ्जन सापकोटाले बताए।

उनले समुदायमा क्वारेन्टाइनबारेमा रहेको भ्रम पनि चिर्न आवश्यक भएको बताए। उनले क्वारेन्टाइनमा बस्ने स्वास्थ्यकर्मी वा अन्य व्यक्ति सबै मापदण्डअनुसार बस्ने, समुदायको सम्पर्कमा नजाने र सो क्षेत्रलाई झन् सरसफाइ र निसंक्रमण गर्नेमा ध्यान दिने हुँदा समुदायले डराउन नपर्ने बताए।

‘क्वारेन्टाइनमा बस्ने भनेको संक्रमित बस्ने होइन, अरुलाई नसरोस् भनेर सावधानीका लागि बस्ने हो, स्थानीय सरकारले पनि नागरिकलाई त्यो बुझाइदिनुपर्छ,’ डा‍ सापकोटाले भने, ‘सस्तो मूल्यमा दिने भेटेर स्थानीय सहयोगी नबन्ने, नत्र तीनछाक खानासहित एट्याच शौचालय र अन्य सुविधासहितको कोटा पाउनै मुस्किल छ।’

अहिले धेरै ठूला अस्पतालका बरिष्ठ चिकित्सक एवम् प्रशासनलाई होटल व्यवस्थापन गर्न नै हम्मेहम्मे परेको छ। केन्द्र र स्थानीय सरकारले एकातिर होटल क्षेत्रका स्थानीय सहयोगको वातावरण बनाइदिने र अर्कोतिर होटलको मापदण्डअनुसार सेवा सर्त निर्धारण गरेर सहजीकरण गरिदिनुपर्नेमा त्यसमा ध्यान जान सकेको छैन।

‘कोभिड अस्पतालमा निरन्तर सेवामा खटिएकाहरू पनि प्रत्येक साता नयाँ-नयाँ टिम क्वारेन्टाइनमा जानुपर्छ, ननकोभिड अस्पतालमा पनि आकस्मिक रुपमा कुनै समस्या देखिँदा एकैपटक सयौं चिकित्सकको व्यवस्थापन गर्नुपर्ने हुनसक्छ,’ त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकले भने, ‘मध्यरातमा कहाँ लगेर राख्नु?’

नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले ज्यान जोखिम राखेर काम गर्ने चिकित्सक क्वारेन्टाइन नपाएर हतोत्साही हुनुपर्ने अवस्था निकै दुःखद भएको बताए। यसले दीर्घकालीन रूपमा चिकित्सक स्वासथ्यकर्मीको मनोबल गिराउने र महामारी नियन्त्रण अभियानमा प्रभाव पार्ने उनले बताए। ‘क्वारेन्टाइन बस्ने ठाउँ नपाउने, घरबेटीले दुःख दिने, समुदायले असहयोग गर्ने हो भने स्वास्थ्यकर्मी कसरी काममा जान्छ?,’ उनले भने।

कार्कीले अन्य देशमा राम्रा होटलले चिकित्सकलाई निःशुल्क राखेर हार्दिकता देखाइरहेको अवस्थामा नेपालमा होटल एसोसिएसन अफ नेपाल हानले विदेशबाट ल्याएकालाई प्याकेज बेच्छु, डाक्टरलाई बस्न दिन्न भनेको भन्दै आक्रोशसमेत व्यक्त गरे। ‘डाक्टर मझौला खालका खालका होटलमा मात्रै राख्ने, समुदायले पनि असहयोग गर्ने सरकारले नसुन्ने हो भने कुन मनोबलले काम गर्ने?,’ डा. कार्कीले भने।

‘चिकित्सकहरू आमनागरिककै सेवाका लागि जोखिम मोलेर काम गरिरहेका छन् भन्ने सबैले बुझ्नुपर्‍यो,’ डा. चालिसे भने, ‘डाक्टर-स्वास्थ्यकर्मी हतोत्साही भए भने त्यसले झन् अर्को समस्या निम्तिन सक्छ।’

डा. कार्कीले ‘बिरामीको उपचारमा खटिनुपर्ने चिकित्सकलाई अन्य व्यवस्थापनको झन्झटमा पारिन नहुने’ समेत बताए। ‘सरकार भनेकै व्यवस्थापनका लागि हो। गृह, पर्यटन, स्वास्थ्य मन्त्रालय नै संलग्न भएर होटल सञ्चालकसँग डिल गरेर यो अस्पतालका चिकित्सक यहाँ बस्ने भनेर तोकिनुपर्छ,’ उनले भने।

त्रिवि शिक्षण अस्पताल लजेस्टिक कमिटीका संयोजक डा. पवन चालिसेले कतिपय होटलका सञ्चालक तथा पर्यटन बोर्डकै समेत सहयोगले मुस्किलले होटल जोहो गरिएको बताए। उनले कतिपय ठाउँमा स्थानीयसँग पहिल्यै समन्वय नभएका कारण पनि प्रश्न उठेको भन्दै समुदायलाई बुझाउँन सक्दा उनीहरू असहयोगी नहुने विश्वास लिए।

‘चिकित्सकहरू आमनागरिककै सेवाका लागि जोखिम मोलेर काम गरिरहेका छन् भन्ने सबैले बुझ्नुपर्‍यो,’ डा. चालिसे भने, ‘डाक्टर-स्वास्थ्यकर्मी हतोत्साही भए भने त्यसले झन् अर्को समस्या निम्तिन सक्छ।’

डा. चालिसेका अनुसार अहिले पनि घरमै छुट्टै शौचालय भएका, आइसोलेसनको उचित व्यवस्था गर्न सक्ने चिकित्सक घरै गइरहेको भन्दै दीर्घकालीन रूपमा यो भन्दा ठूलो संख्यामा चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि पनि क्वारेन्टाइन चाहिन्छ भन्ने सोचअनुसार नै तयारी गरिनुपर्ने बताए।

 

यो महामारीका बेला स्वास्थ्यकर्मीले एकअर्कालाई कसरी सघाउन सक्छन्?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय