कोरोना जितेर नारायणी अस्पतालबाट दुई पत्रकारसहित ४३ जना डिस्चार्ज

कोरोनालाई पराजित गर्दै नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा भर्ना भएका दुई पत्रकारसहित ४३ जना सोमबार डिस्चार्ज भएका छन्।

लगातार दुई पटकको रिपोर्ट नेगेटिभ आएपछि नारायणी अस्पतालको आइसोलेसनमा रहेका सबै जनालाई डिस्चार्ज गरिएको हो।

नारायणी अस्पतालका डा. नीरज सिंहले आइसोलेसनमा रहेका सबैजनाको लगातार दुई पटकको रिपोर्ट नेगेटिभ देखिएपछि डिस्चार्ज गरिएको बताए।

‘यहाँ आइसकेपछि उहाँहरूको दुई पटक स्वाब परीक्षण गरेका छौं,’ डा. सिंहले भने,‘लगातार दुई पटक उहाँहरूको रिपोर्ट नेगेटिभ आएको छ, उहाँहरू आइसोलेसनमा बसेको पनि १५/१६ दिन भइसकेको थियो। निको भएर घर फर्कनुभएको छ, खुशी लागेको छ।’

डिस्चार्ज हुनेहरूमा पर्साको वीरगन्ज, धोबिनी, छिपहरमाइका साथै सर्लाहीका एकजना नागरिक छन्। कोरोना नेगेटिभ आएको थाहा पाएपछि त्यहाँ भर्ना भएकाहरू खुशी हुँदै नाचगानसमेत गरेका थिए।

नारायणी उपक्षेत्रीय अस्पतालबाट ४३ जना डिस्चार्ज भएसँगै अब पर्सामा वीरगन्जस्थित गण्डक अस्थायी कोभिड विशेष अस्पतालमा २७ जना संक्रमित रहेको डा. सिंहले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय