प्रदेश २ मा संक्रमित थपिएसँगै आइसोलेसन व्यवस्थापनमा समस्या

कोरोनाका नयाँ संक्रमित थपिएसँगै प्रदेश २ मा आइसोलेसन व्यवस्थापन गर्न चुनौति थपिएको छ। कोरोना महामारीको उच्च जोखिमको रुपमा हेरिएको प्रदेश २ मा पूर्वतयारी नहुँदा आइसोलेसनका साथै क्वारेन्टाइन व्यवस्थापनमा समस्या आएको हो।

सोमबार प्रदेश २ मा एकैपटक ५४ जना कोरोना संक्रमण पुष्टि भएपछि रौतहट, बारा, धनुषालगायतका स्थानमा आइसोलेसन व्यवस्थापनमा समस्या देखिएको छ।

सोमबार रौतहटको राजपुर फरहदवा नगरपालिकामा २४ र ईशनाथ नगरपालिकाको दुईजनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएका सबैजना भारतबाट फर्कीएका नेपाली हुन्।

राजपुर नगरपालिकाका जनस्वास्थ्य अधिकृत रवीन्द्र झाले उनीहरू सबैजना वैशाख २८ गते भारतको महाराष्ट्रबाट फर्केको बताए। फर्किएलगत्तै नगरपालिकाको वडा नम्बर ३ स्थित बलिया क्वारेन्टिाइनमा राखिएका ९६ जनामध्ये २४ जनामा सोमबार संक्रमण पुष्टि भएको उनले बताए।

यसैगरी ईशनाथ नगरपालिकामा संक्रमण पुष्टि भएका दुईजनापनि भारतबाट फर्केका हुन्।

एक दिनमै २६ जना कोरोना संक्रमण पुष्टि भएपछि रौतहटमा आइसोलेसन व्यवस्था गर्न कठिनाइ भएको छ। रौतहट सदरमुकाम गौरस्थित नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको १८ बेडको आइसोलेसन पहिलेदेखि भरिभराउ छ।

राजपुर फरहदवा नगरपालिकाका जनस्वास्थ्य अधिकृत रवीन्द्र झाले आफ्नै नगरपालिकाका २४ जना संक्रमित भएपछि उनीहरूलाई व्यवस्थापन गर्न समस्या भएको बताए।
‘अहिलेसम्म सबैजना क्वारेन्टिाइनमा छन्, २४ जनाको पोजिटिभ रिपोर्ट आएको छ,’ हेल्थपोस्टसँग सोमबार अपरान्ह कुरा गर्दै भने,‘संक्रमण देखिएपछि सबैजनालाई आइसोलेसनमा पठाउनुपर्ने छ, तर कहाँ पठाउने पत्तो छैन्।’

एक दिनमै २६ जना कोरोना संक्रमण पुष्टि भएपछि रौतहटमा आइसोलेसन व्यवस्था गर्न कठिनाइ भएको छ। रौतहट सदरमुकाम गौरस्थित नर्सिङ इन्स्टिच्युटमा निर्माण गरिएको १८ बेडको आइसोलेसन पहिलेदेखि भरिभराउ छ।

सोमबार २६ जना थपिएसँगै रौतहटमा संक्रमितको संख्या ४७ पुगेको छ। यसअघि रौतहटमा २१ जनामा कोरोना पोजिटिभ रहेपनि तीनजना उपचारपछि घर फर्किसकेका छन्।
यता बाराको महागढीमाई नगरपालिकामा सोमबार २१ जनामा कोरोना पुष्टि भएको छ। महागढीमाई नगरपालिकाका मेयर उपेन्द्रप्रसाद यादवले संक्रमण पुष्टि भएका सबैजना भारतको महाराष्ट्र, दिल्ली, हरियाणालगायतको स्थानबाट फर्केको बताए।

एक साताको अन्तरालमा ५३ जना आएका उनीहरूमध्ये ३० जनाको स्वाब परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको मेयर यादवले जानकारी दिए। भारतबाट आएर क्वारेन्टिाइनमा बसेका २३ जनाको अझै परीक्षण गर्न बाँकी रहेको उनको भनाइ छ। ‘भारतबाट फर्केका ५३ जनालाई हामीले क्वारेन्टिाइनमा राखेका थियौं, ३० जनाको स्वाब परीक्षण भयो’ उनले भने,‘किट अभावमा बाँकी २३ जनाको परीक्षण अझै हुनसकेको छैन्।’

कलैया अस्पतालको आइसोलेसनमा रहेका ९ जना सुरक्षाकर्मीलाइ नै खुवाउन र राख्न समस्या भइरहेको अवस्थामा थप २१ जनाको व्यवस्थापन गर्न चुनौति थपिएको प्रहरी उपरीक्षक कृष्ण पंगेनीले बताए। कलैया अस्पतालमा आइसोलेसन बेडको समस्या देखिएको उनको भनाइ छ।

यता, प्रादेशिक अस्पताल जनकपुरमा समेत आइसोलेसन बेडको अभाव देखिएको छ। प्रादेशिक अस्पतालले स्थापना गरेको ४२ बेडको आइसोलेसनमा २९ जना यसअघि भर्ना छन्। धनुषामा दुई सुरक्षाकर्मीसहित थप तीनजना नयाँ संक्रमित फेला परेका छन्।

नयाँ कोरोना संक्रमित बिरामीलाई भर्ना लिन नसकिने कोरोना विशेष अस्पतालका फोकल पर्सन डा.कुलदीप पण्डितले बताए। गम्भीर प्रकृतिका कोरोना संक्रमितलाई भर्ना गर्न १३ वटा बेड सुरक्षित राखिएको उनको भनाइ छ।

६ वटा बेड आइसीयू, एउटा बेड शल्यक्रिया, १ बेड प्रसुति, दुई बेड कोरोनाको गम्भीर बिरामी र एउटा बेड पोजिटिभबाट निगेटिभ रिपोर्ट आइसकेकालाई राख्न छुट्याइएको डा.पण्डितले बताए।

नयाँ बिरामीलाई व्यवस्थापन गर्न चुनौती थपिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला बताउँछन्। आइसोलेसन व्यवस्थापन गर्न तत्काल नयाँ विकल्प नखोजिए थप समस्या आउनसक्ने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय