कोरोनाबाट मृत्यु भएकी महिला र टोखाका संक्रमित एउटै अस्पतालमा थिए

टोखा नगरपालिकामा सोमबार भेटिएकामध्ये एकजना कोरोना संक्रमित शिक्षण अस्पतालबाट फर्किएका थिए। जहाँ कारोना भाइरसबाट मृत्यु भएकी सिन्धुपाल्चोककी महिला प्रसूतिका लागि भर्ना भएकी थिइन्।

शिक्षण अस्पतालबाट फर्किएर बिरामी परेकी उनी केही दिनपछि धुलिखेल अस्पताल पुगेकी थिइन्। उपचारका क्रममा मृत्यु भएकी उनमा कोरोना संक्रमण पुष्टि भएको थियो।

टोखाका संक्रमितले श्रीमतीको स्वास्थ्य परीक्षणका लागि आफू पनि शिक्षण अस्पताल रहेकाले त्यही‌बाट संक्रमण सरेको हुनसक्ने बताएको टोखा नगरपालिकाकी उपमेयर ज्ञानमाया डंगोलले जानकारी गराएकी छन्।

‘कन्ट्याक्ट ट्रेसिङ गर्दा धुलिखेल अस्पतालमा मृत्यु भएकी सुत्केरी महिलाको सम्पर्कमा आएको पाइएको छ’, उपमेयर डंगोलले भनिन्, ‘संक्रमितको कन्ट्याक्ट ट्रेसिङकाे कामलाई तीव्र बनाएका छौं। संक्रमितसँग सम्पर्कमा रहेका सबैको स्वास्थ्य परीक्षण गर्छौं।’

संक्रमितकी श्रीमतीको शिक्षण अस्पतालबाट घर फर्किदा आरडिटी परीक्षण गरिएको थियो। परीक्षणमा कोरोना नेगेटिभ देखिएको थियो। संक्रमित दुवै जना उपत्यका बाहिर नगएको उपमेयरले बताइन्।

संक्रमितको श्रीमतीको आरडिटी गरे पनि पिसिआर विधिमार्फत सम्पूर्ण घरपरिवारको स्वास्थ्य परीक्षण गरिने उनले जानकारी दिइन्।

नगरपालिकाका अर्का संक्रमित भने किराना पसल सञ्चालक हुन्।

नगरपालिकाले कन्ट्याक्ट ट्रेसिङका लागि चार–चार जनाको दुई टोली खटाएको उपमेयरले बताइन्। संक्रमितको घरपरिवारलाई सुरक्षित तरिकाले घरमै बस्न नगरपालिकाले आग्रह गरेको छ।

त्यस्तै बूढानीलकण्ठ नगरपालिकामा भेटिएका संक्रमित नगरपालिकामा समाजसेवामा खटिएका व्यक्ति रहेका छन्। उनी लकडाउनको समयमा राहत वितरण गर्नेदेखि समस्यामा परेका सर्वसाधारणलाई आफ्नै गाडीमा अस्पतालसम्म ल्याउने पु-याउने काम गर्थे।

‘उहाँ (संक्रमित) नगरपालिकामा समस्यामा परेका नागरिकको सेवामा लागिपर्ने व्यक्ति हो। उहाँले आफ्नै गाडीमा सर्वसाधारणलाई अस्पताल ल्याउने, पु-याउने गर्नुहुन्थ्यो’ बूढानीलकण्ठ नगरपालिकाका मेयर उद्धव खरेलले भने, ‘सेवा गर्दागर्दै आफै‌ संक्रमित हुनुभयो।’

नगरपालिकाले संक्रमितको घरपरिवारलाई बाहिर ननिस्किन आग्रह गरेको बताउँदै उनले स्वास्थ्य टोली पठाएको जानकारी दिए। टोलीले घरपरिवारका साथै छरछिमेकमा पनि सोधपुछ गर्ने काम गरिररहेको उनको भनाइ छ।

कन्ट्याक्ट ट्रेसिङको काम सुरु गरिए पनि स्वास्थ्य उपकरणको अभावले घरपरिवार तथा संक्रमितसँग नजिकको सम्पर्कमा रहेकाहरूको स्वास्थ्य परीक्षण गर्न केही दिन लाग्न सक्ने मेयर खरेलले बताए।

‘नगरपालिकासँग स्वास्थ्य सामग्री नभएकाले स्वास्थ्य परीक्षण गर्न दुई/तीन दिन लाग्न सक्छ। स्वास्थ्य सामग्रीका लागि जनस्वास्थ्य विभागलाई आग्रह गरेका छौ। स्वास्थ्य उपकरण आए पर्सीबाट पिसिआर परीक्षण गर्छौं,’ मेयर खरेलले भने।

संक्रमितसँग नजिक रहेकालाई प्राथमिकतामा राखिएर ट्रेसिङ थालिएको उनले बताए। बूढानीलकण्ठका संक्रमित र टोखाका दुुई जना गरी तीनै जनालाई शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुको आइसाेलेसनमा राखिएको छ। उनीहरूको अवस्था सामान्य रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय