बिपी क्यान्सर अस्पतालका १८ चिकित्सक/स्वास्थ्यकर्मी क्वारेन्टाइनमा

मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल बिपीमा एकजना डिस्चार्ज भएका बिरामीका कुरुवामा आरडिटी पोजेटिभ देखिएपछि सम्बन्धित विरामीसँग एक्पोज भएका चिकित्सक, नर्सलाई क्वारेन्टाइनमा राखिएको छ ।

आरडिटी पोजेटिभ देखिएसँगै लामो समय अस्पतालमा विताएर कुरुवामा भाइरस एक्टिभ नभएपछि पुरानो संक्रमण भएको हुनसक्ने आशंकमा अस्पतालका चिकित्सक कर्मचारीमा भाइरसको परीक्षण सुरु भएको छ ।

आइतबार चिकित्सक, नर्स, स्वीपरसहित वार्डमा काम गर्ने २७ जनाको स्वाब संकलन गरिएको र ती मध्ये १८ लाई क्वारेन्टाइनमा पठाइएको हो ।

खाने नलीको क्यान्सरको उपचारमा तेस्रो साइकल केमोका लागि २ गते भर्ना भएर ८ गते डिस्चार्ज भएका कुरुवामा आरडिटी पोजेटिभ देखिएको थियो ।

चिकित्सकहरुले कुन प्रकारको एन्टिवडी पोजेटिभ देखिएको भन्ने खुलाएका छैनन् । आरडिटी पोजेटिभ देखिदै डराइहाल्ने अवस्था नभएपनि सावधानीका लागि सबै विरामीको परीक्षण सुरु गरिएको अस्पतालले जनाएको छ ।

अहिलेपनि अस्पतालमा २ सय हाराहारीमा दैनिक ओपिडी र ४० हाराहारीमा रेडियोथेरापी सेवा लिने बिरामी आइरहेका छन् ।

अन्य रोगमा जस्तो उपचार ढिलाइ गर्दा पनि जोखिम थपिने र कोरोना संक्रमण हुँदा पनि मृत्युदर बढी हुनसक्ने भएकोले क्यान्सर अस्पताल यो समयमा बढी संवेदनशील छ ।

‘क्रस इन्फेक्सनको जोखिम भएको ठाउँमा बेलैमा सबै तयारी गर्नुपर्छ भन्दा पनि व्यवस्थापनले खासै चासो देखाएको छैन’

अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले कुनै पनि अवस्थामा अस्पतालको सेवा नरोकिनेगरी छुट्टै आइसोलेसन÷क्वारेन्टाइनको तयारीमा लागेको बताए । उनले अहिले पनि अस्पतालमा कुरुवालाई समेत भीडभाड नगर्न, सावधानी अपनाउन र अस्पतालभित्रै पिसिआर परीक्षण सेवा सूरु गर्ने तयारीमा लागेको बताए ।

तर अस्पतालका चिकित्सक कर्मचारीले भने, अस्पताल प्रशासन रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पूर्व तयारीमा ध्यान नदिँदा जोखिम र त्रास पनि बढेको बताएका छन् । ‘बिरामीका कुरुवालाई बाहिर खानबस्ने होटलसमेत चलेको छैन, यस्तो अवस्थामा अस्पतालका परिसर, प्यासेज रेलवे स्टेसनजस्तो भीडभाड र अव्यवस्थित छ’ अस्पतालका एक बरिष्ठ चिकित्सकले भने ।

नाम उल्लेख गर्न नचाहने ती चिकित्सकका अनुसार कुरुवाका लागि व्यवस्थित बस्ने ठाउँ, क्वारेन्टाइनमा जाने चिकित्सकका लागि विशेष व्यवस्था नगर्दा भयवह अवस्था निम्तिन सक्छ । ‘क्रस इन्फेक्सनको जोखिम भएको ठाउँमा बेलैमा सबै तयारी गर्नुपर्छ भन्दा पनि व्यवस्थापनले खासै चासो देखाएको छैन’ ती चिकित्सकले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

  • ताजा समाचार
  • जनप्रिय